हिमपहिरोमा परी दुई नेपालीको मृत्यु

२०७३ चैत्र १ गते, मंगलवार

काठमाडौं, १ चैत । भारतको पिथौरागढमा हिमपहिरोमा परी दुई नेपालीको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । मृत्यु हुनेमा बैतडी, पुर्चौडी नगरपालिका–२ महादेवस्थानका ५० वर्षीय मोहन चन्द र दार्चुला हुती–८ का २१ वर्षीय शरद कुँवर छन् । सोही ठाउँका २० वर्षीय भूपेन्द्र कुँवर भने हिमपहिरोमा परी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए ।
भारत, पिथौरागढ जिल्लाको विकट बुदीको सुवा भन्ने ठाउँमा उनीहरु फागुन २६ गते राति हिमाली च्याउ खोज्न गएको बताइएको छ । दुबैको शव परीक्षणका लागि भारतको धार्चुलामा रहेको एक अस्पतालमा राखिएको तथा बेपत्ताको खोजी जारी रहेको भारतीय प्रहरीलाई उद्धृत गर्दै दार्चुला प्रहरीले जनाएको छ । – रासस

प्रतिक्रियाहरु