सीता विकको आँसु – बलराम तिमल्सिना

२०७५ आश्विन ८ गते, सोमबार

जव सिर ठाडो गरेर लाल सलाम गर्ने
र हाँस्दै हात मिलाउँने जमाना गयो
अनि सुरु भयो
कमरेडलाई जदौ गर्नु पर्ने जमाना
सीत विक एकाएक भावुक वनिन !

विसाएपछि बन्दुक
फुकालेपछि युनिफर्म
र रोकिएपछि युध्द
कमरेड संझनाबाट उनी
एका एक फेरिइन सीता विकमा !

व्यवस्था वदल्न भनेर
सहर पसेका सुप्रिमोहरू
जव आफै बदलिए सहरसँग
र छाप्न थाले राहदानी पत्र
सीता विकहरूको लागि
सीता विकभित्रको भावनाको ताल फुट्यो
र पोखिइन उनी अनायास !

जव एकाएक टाउकाको मोल गायव भयो
सोध्न थाल्यो गणतन्त्रले
सीता विकको छात्तीको मोल
सीता विकको जाङ्घको मोल
यसरी सोध्नेहरूको पङ्तीमा
जव भेटिए पूर्व कमाण्डरहरू पनि
त्यसपछि –
संझदै सँगै लडेका योध्दा
संझदै काँधैमा चिसिएका साथीहरू
हतार हतार खाडल खनेर
हतार हतार रुँदै पुरेर
हतार हतार शिर झुकाएर
हतार हतार बन्दूक समालेको संझदै
मनै त हो उनको पनि
निकै वेर टोलाएपछि
वर्षे झरीझैं वर्षिइन सीता विक !

सवैभन्दा बढी ठग
जव कमरेडहरू नै जन्मिए
सूर्योदयको सपना जव
सूर्यास्तमा पुगेर सकियो
हिजो वन्दुक बुझाएको
हिजो युनिफर्म फुकालेको
र अलपत्र छोडेर शेष समर
चेक बोकेर घर फर्केको
यी आफ्नै कमजोरी समेत संझदै
एकाएक खसेका हुन
सीता विकका आँसु !

यी आँसु , आँसु मात्र होइनन्
यी त-
पश्चाताप हुन
आत्म-समिक्षा हुन
भविष्य-चिन्तन
र नयाँ अठोट हुन !

यी आँसु, आँसु मात्र होइनन्
वरु –
यी त सोडा-गन्धक हुन्
असल रसायन शास्त्रीले
विजुली बारुद बनाउँन सक्छ यसबाट
यौटा सिङ्गै समर त अलपत्रै छ !

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु