सरकारको दमनबिरुद्ध देशव्यापी ठूला कार्यक्रम हुदै

२०७४ फाल्गुन १३ गते, आईतवार

काठमाडौ , १३ फागुन । सरकारले नेपाल कम्युनिस्ट पार्टीको शान्तिपूर्ण कार्यक्रममा दमन गर्ने र नेता कार्यकर्तालाई गिरफ्तार गरी झुठा मुद्दामा फसाउने कार्यलाई तीब्र बनाउँदै गएको छ । गृह मन्त्रालयले नेकपाका नेता–कार्यकर्तामाथि अनावश्यक निगरानी बढाएको छ । उनीहरूलाई सभा, सम्मेलनलगायत गतिविधि गर्न नदिन र संगठित भएको पाइए तत्कालै पक्राउ गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । गृहले नेकपाका शान्तिपूर्ण कार्यक्रममा उपस्थित भएका नेता–कार्यकर्तालाई समेत गिरप्mतार गरी तत्काल मुद्दा चलाउनसमेत निर्देशन दिएको छ । गृहले मुलुकभरका नेकपाका नेता–कार्यकर्ताको अभिलेख बनाई सोहीबमोजिम निगरानी र आवश्यक कारबाही गर्नसमेत सुरक्षा निकायलाई निर्देशन दिएको छ । सरकारको सोही नीतिअनुरुप प्रहरीले फागुन ६ मा विराटनगरको गुन्द्री बजारबाट नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली र पोलिटब्युरो सदस्य पदमबहादुर राईलगायत कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । विराटनगरमा तय भएको नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा जनस्वयंसेवक सम्मेलनमा प्रहरीले हस्तक्षेप गरी ओली र राईसहित झन्डै २ सय नेता–कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो भने नेता ओली र राइलाई झुठो मुद्दामा फसाउने षड्यन्त्र रचिरहेको छ । यसरी सरकारले आफ्नो शान्तिपूर्ण कार्यक्रममा दमन गर्ने र नेता कार्यकर्तालाई गिरफ्तार गरी झुठा मुद्दामा फसाउन थालेपछि नेपाल कम्युनिस्ट पार्टीले मंगलबार नेपाल बन्द गर्दै शान्तिपूर्ण संघर्षका कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । जसअन्तर्गत उसले देशब्यापी रुपमा फागुन ९ गते कोणसभा, १० अन्तरक्रिया, ११ गते केपी ओलीको पुत्ला जलाउने, १२ गते प्रदर्शन गरिसकेको छ भने आज फागुन १३ गते देश व्यापी ठूलो कार्यक्रम गर्ने तयारी गरेको छ ।
यसैबीच, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले शान्तिपूर्ण कार्यक्रममा सहभागी स्थायी समिति सदस्य सुदर्शन, पीबीएम पदम राईलगायत गिरफ्तार परेका सबैलाई तत्काल रिहा गर्न माग गरेका छन् । अन्यथा अझ सशक्त कार्यक्रमको घोषणासहित प्रतिरोध गरिने र संघर्षबाट पैदा हुने परिस्थितिको जिम्मेवार ओली सरकार नै हुनुपर्ने चेतावनीसमेत दिएका छन् । सरकारले यही गतिमा शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गर्ने, नेकपाका नेता कार्यकर्तामाथि धरपकड गर्ने, गिरफ्तार गरी झुठा मुद्दामा फसाउने कार्य जारी राखे उसले आन्दोलनको आँधी बेहरी सृजना गर्ने तयारी गरेको बुझिएको छ । नेकपाका एक केन्द्रीय नेताले सरकारले गिरफ्तार गरेका आफ्ना नेता कार्यकर्तालाई तत्काल बिनासर्त रिहा नगरे आमजनताको साथ र सहयोगमा देशव्यापी रुपमा सशक्त संघर्षको थालनी गर्ने र यो सरकारलाई धूलो चटाएरै छोड्ने ठोकुवा गरे । – क्षेप्यास्त्र साप्ताहिकवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु