समुद्र किनारमा इतर कविता – मिलनकान्छा किराती

२०७४ श्रावण ३१ गते, मंगलवार

तातो हावा । घुरमैलो आकाश । किनारमा लस्करै मिलाएर सजाइएका रङ्गीचङ्गी टेन्ट र सेतो कुर्सीहरु । विहानैदेखि तन्नेरीहरुको घुइचो । विकिनीमा सजिएर युवतीहरु वालुवालाई रोमाञ्चक बनाउँछन् । यौवनले उन्मत्त हेउन्देको चिसो पानीमा स्पर्श गर्छन् । पौडन्छन् । छालसँगै रबर ट्युवमा चढेर पर–पर पुग्छन् । लाईफगार्डहरु पानी मोटरसाईकलमा गस्ती गरिरहेछन् । दुर्घटना भए उनीहरुले तुरुन्त उद्धार गर्छन् । समुद्री तट्मा भुरा माछाझै तैरिरहेछन्–तन्नेरीहरु । वृद्ध र बच्चाहरु ।
कोरियाको दोस्रो ठूलो औद्योगिक सहर बुसानको सामुद्रिक किनार हेउन्दे पर्यटकीय स्थल हो । चिसो पानीमा गर्मीको उत्सव मनाउन विश्वभरिकै मानिसहरु यहाँ ओईरिन्छन् । कोरियाका प्रायजसो कम्पनीहरुले गर्मी विदा दिन्छन् । यहाँका उद्योग, कल–कारखानामा कार्यरत करिब पचास हजार नेपालीले गर्मी विदालाई विशेष बनाउँछन् । धेरैले साथीभाइ भेटघाट, नयाँ ठाउँ घुमघाम गर्छन् । त्यसबाहेक केहीले विविध सिर्जनात्मक कार्य गरेर पनि विदालाई अझ महत्वपूर्ण र लाभदायक बनाउँछन् । सोलबाट केटिएक्स रेलमा सुलुत्त चिप्लेर साढे दुई घण्टामा बुसान स्टेशन पुगेँ । बसमा जादा पुरै एकदिन लाग्छ । प्लेनको पनि सुविधा छ–खिम्फोदेखि खिम्हेसम्म । यहाँबाट लोकल रेल, बस चढेर एक घण्टामा किनार पुगिन्छ । किनार छेउ नजिकैका अग्ला गगनचुम्बी पन्ध्र, बीस भवन छिचोल्दै गएपछि नमस्ते रेस्टुराँ आउँछ । त्यही रेष्टुराँमा नेपाल पोएट्री ग्रुप, इतर आवाज साहित्य समाजले साहित्य मेला आयोजना गर्दैछ । दक्षिण कोरियामै पहिलो पटक यस्तो मेला आयोजना हुँदैथियो । साहित्यमा सामान्य चाख राख्ने भएकोले मनले धरै दिएन । खुशीले फुरुङ्ग हुदै त्यहाँ पुगेँ ।
दोस्रो तल्लाको लोकेशन आयोजकले दिएको थियो । दोस्रो तल्ला भन्ने बित्तिकै भ¥याङको सिंढी चढेर उकालो उक्लिने बानी । त्यस्तै सम्झिरहेथेँ । तर, रेष्टुराँ फेला पार्न दुई तल्ला जमिनमुनि ओर्लनु प¥यो । दस तल्ला झर्नु पर्नेभए जमिनको कत्ति तलसम्म झर्नु पथ्र्यो ! मनमा खुब कौतुहलता भयो । मुख खोलिनँ । मनको कुरा मनमै रह्यो ! कार्यक्रमको माहौल भव्य हुदैथियो । हामी बुसान रेल स्टेशनबाट कवि पराजित पोमु, आख्यनकार, कवि सेसेफुङ लिम्बु, कवि मातृका नेम्बाङ र गीतकार उत्तम खजुम सँगसँगै आएका थियौँैँ–हिजै बेलुका । समकालीन नेपाली साहित्य र सर्जकबारे गफिनु हामीबीच कुनै नौलो कुरा भएन । रेलको डिब्बामा छिर्नासाथ त्यस्तैखाले गफ गर्दागर्दै गन्तव्यमा आईपुगेका थियौं । अठ्त्तीस डिग्रीको गर्मीमा पसिनासँगै निरन्तर बगिरहे–कविता । यो क्रम विहान पाँचबजेसम्म चलेको थियो । कविताको बाढी उराल्नेहरु सेसेफुङ लिम्बु, गणेश केरुङ, यल्जी विवश र हल्का साथ मेरो पनि रह्यो । पछि थपिए कवि पराजित पोमु, सुरेशसिं सम्बाहाम्फे, मातृका नेम्बाङ । रात रमाइलो विताएका थियौं । हेउन्देको सामुद्रिक किनारमा त्यो रात कवितामय बित्यो ।
विहान सबेरैदेखि कार्यक्रमको चहलपहल देखिन्थ्यो । यसरी भव्य माहौल सिर्जना भयो कि, म कोरियामा होइन, नेपालमा छु । यस्तो भान भयो–साह्रै रमाईलो अनुभूति । निर्धारित समयभन्दा अलिक अबेर शुर भएको इतर साहित्य मेलाको कार्यक्रममा पुस्तक प्रदर्शनी, सिर्जना वाचन, पुस्तक समीक्षा, अनुभूति साहित्यिक आन्दोलनको उद्घोष अन्तरक्रिया कार्यक्रमका विशेष आकर्षणहरु थिए ।
सुष्मा राईको समाजमा विद्यमान नारी विभेदलाई लिएर लेखिएको कविताले निकै मन बहकायो । नजिकै रहेको हेउन्देको चिसो पानीले भन्दा पनि बेस्सरी मन भित्रैसम्म भिजायो । बेलुका नै ठट्टा गर्दै भनेथेँ, ‘कोरियाको मोमिला ! तिम्रो नाम ‘सुष्मारा’ सुहाउँछ । उनले मुस्कुराउँदै भनेकी थिइन, ‘अँ हो त हगि ! मन प¥यो । मेरो नयाँ जन्म भयो ।’ पोडियम समाउने बित्तिकै सेसेफुङ शेर्मा लिम्बुको कवितामा कोरियाको पीडाहरु पोखिए । धेरैको आँखा रसाए । मेरो आँखा दुईटै जब्बर लाग्छन । हत्तपत्त रसाउँदैनन् । कहिलेकाही त लाग्छ फलाम कि ढुङ्गाले बनेका हुन् ! तर, त्यो दिन मज्जाले रसाए । सुरेशसिं सम्बाहाम्फे कविता एनामार्फत जिवनको बाध्यत्मक प्रतिविम्व उतार्दै थिए । यल्जी विवश सङ्घारको क्रमश उद्घाटन गरिरहेका थिए । कायक्रमको अध्यक्षता इतर आवाज साहित्य समाजका शिर्षविन्दु कवि पराजित पोमुले गरेका थिए । कवि मातृका नेम्बाङ, मिलन किराती, नवीन नेपाल, सरोज सर्वहारा, डेनिशा राई, डोलु आलेमगर, खेम कार्की, अन्जान काइला, रोदुङ यायावर, मधु सिञ्जाली मगर, छविशित कुलुङ, रबिन राई, डम्बर सुब्बा, राम कँडेल, उत्तम खजुमलगायत दुई दर्जनभन्दा धेरै स्रष्टाले आफ्नो सिर्जना सुनाए ।
कवि गणेश केरुङ हाङसेङले डायस्पोरा साहित्यको भ्रमबारे बोल्दै अनुभूति साहित्यिक आन्दोलनको उद्घोष गरेका थिए । साँस्कृतिक, राजनैतिक, सैद्धान्तिक उपनिवेश र अतिक्रमणविरुद्ध हरेक चिन्तन र दर्शनको सापेक्षित व्यवहारिक व्यख्य गर्दै परिवर्तनको अनुभूति सिद्धान्तत मात्रै नभएर व्यवहारत हुनुपर्ने उनको धारणा थियो । नेपाली साहित्यमा समानान्तर फरक साहित्य स्थापनाको लागि वैकल्पिक विचारको निर्माण आवश्यक रहेको बताउदै फरक अनुभूति दिने बडो मार्मिक कविता सुनाएका थिए । इतर आवाज साहित्य समाजका अध्यक्ष कवि पराजित पोमुले छिट्टै इतर आवाजको अवधारणा सार्वजनिक गरिने बत्ताए । पुस्तक प्रदर्शनीमा पागल वस्ती, च्यातिएको पर्दा, स्वतन्त्रताका पाइला, आज रमिता छ, गहुँगोरो अफ्रिकादेखि उर्गेनको घोडा, रातोघर, फिरफिरे, बिसे नगर्चीको बयान, घाटमाण्डु, एना, माटोको मुन्धुम, माङ्गेना, रेमिटल्याण्डसम्मको सबैखाले सयौं पुस्तकहरु थिए । पुस्तक समीक्षामा मेरो र सेसेफुङ शेर्मा लिम्बुको पनि भूमिका थियो । मैले कवि पराजित पोमुको लेप्मुहाङको डुङ्गामाथि थोरै अनुभूति राखेँ ।

पुस्तकमाथि मेरो मनको अनुभुति यस्तो थियो, विश्वप्रख्यात कवि विलियम वर्डस्वर्थले त्यसै भनेका रहेनछन्, ‘अनुभूतिका स्वःस्फूर्त अभिव्यक्ति नै कविता हो ।’ त्यसैले, कविताबारे हठात् बोल्नु ठट्टा जस्तै लाग्छ । त्यस्तो ठट्टा सृजना र सर्जक दुवैलाई अप्रिय हुनजान्छ । यदि कवितामाथि बोल्ने रहर भए प्रथमतः यसको सामीप्यता र गहिराईमा पुग्ने कोशिस गर्नु पर्छ । अनुभूतिको अवगत भएपछि मात्रै बोल्नु न्यायोचित हुन सक्छ । तर, कविता लेख्ने र बुझ्ने दुवै क्षमता नभएको प्राणी स्वयं म आफै हुँ । लेप्मुहाङको डुङ्गाबारे केही बोल्न मन हुटहुटिएको निकै अघिदेखि नै हो । यतिखेर बोल्ने संयोग इतर साहित्य मेलाको पुस्तक समीक्षा सन्दर्भले जुराएको छ ।

मेरो हातमा बाडुली र सुदूर सम्झना–स्वप्निल स्मृति, हाँगामा झुण्डिएको आत्मकथा–नदीश, अल्पविराम–समाश्री, युद्धले भुलेको बाँकी युद्ध–सुजन सेलिङ, पालमको राजकुमारी–दिलदुःखी जन्तरेलगायत केही लोभलाग्दा पुस्तकहरु छन । यसभित्र र बाहिरबाट छानेर एक पुस्तकको बारेमा आफुलाई लागेको अनुभूति राख्ने काम दिएको छ–नेपाल पोएट्री ग्रुप, इतर आवाज साहित्य समाजले । दक्षिण कोरियाबाट उठान भएको इतर आवाज फरक आवाजको अभियान हो । माथि भनिएझै कवि र कविता नबुझी बोल्नु बेकार हुन्छ । सर्जकमाथि अन्याय हुन्छ । तसर्थ, कोरियामा रहेर कविताकृति र कविको अन्तरङ्ग हृदयसँग केही नजिकिन पाएकोले बोल्नलाई लेप्मुहाङको डुङ्गा छानेँ ।
साकेलाको मेलामा एकबर्ष अघि लेप्मुहाङको डुङ्गा भेटेको हुँ । एउटा लेखमा यसलाई पढ्ने मौका पाएकोमा खुशी व्यक्त गरेको थिएँ । किरात लिम्बु समुदायको महात्मा लेप्मुहाङको मिथकीय रोचक कथा छ । पृथ्वीमा चालीस दिन चालीस रात जलप्रलय भएको बखत अन्ततः लेप्मुहाङको डुङ्गामा रहेका केही असल धर्मात्माहरु मात्रै जिवित रहन्छन । जसलाई लिम्बु मिथले मानव जीवनको अवतरण हो, भनेको छ । यही सन्देशमूलक मिथकीय नाम लेप्मुहाङको डुङ्गाबाट कवि पराजित पोमुले कविता सङ्ग्रह ल्याएका छन । कविताको भाषाशैली, शीर्षक र दृष्टिविन्दुमा पोमु विशेष चनाखो देखिन्छन । लिम्बु साँस्कृतिक सौन्दर्यचेत र समुदायको सभ्यतालाई प्राङ्गारिक पस्कन सफल उनले कवितामा विश्ववन्धुत्वको विगुल फुकेकाछन ।

कविता लेख्नलाई केही न केहीको प्रभाव चाहिन्छ । कवि पोमुलाई आफ्नै भाषा संस्कृति, मिथकीय लोकोक्ति र केही समसामयिक कालीन सृजनाको प्रभाव देखिन्छ । तसर्थ, सिर्जना सुन्दर र सर्वप्रिय हुँदाहुँदै पनि केही रसायनबाट छुटकारा पाउन सकेको छैन । यति हुँदाहँुदै पनि उनको कवितामा आफ्नैपनको घाम मुसुक्क हाँसेको छ । यसर्थ, उनले फरक परिचय पाउनेछन ।
कवि पोमुको कविता पढिरहदा प्रेम वियोगमा पर्छु । नाक चिन्तन आउँछ । विधवा भएँ । मेरो पहिचान खोसियो । राज्यद्धारा अनागरिक घोषित भएँ । अधिकारको लागि आवाज उठाएँ । देशद्रोही भएँ । लिम्बुवानको एउटा आदिम इतिहासको एतिहासिक राज्यबाट साम्प्रदायिक बनाईएँ । लेप्मुहाङको डुङ्गामा एउटा नियात्रा विशाल जनसागर अनेकानेक सवार, सङ्क्रमणकाल, सन्धिकाल, अन्यौलग्रस्त लक्ष्य, डुङ्गाभित्रै अराजकता, पुरातन, यथास्थिति र परिवर्तनका खिचडी, जलप्रलय, ज्वारभाटा र छालसँगै द्धन्द्ध, अन्तरद्धन्द्ध उठ्छन, बग्छन् । त्यो सँगै बगिरहेँ । बगिरहेँ ।
सिङ्पो बुक्सले बजारमा ल्याएको कृतिभित्र पचास कविता रहेकाछन । तर, सैयौं सन्दर्भ, क्षेत्रका मानव जीवनमा घटित घटनाहरुको सफल चित्रण गरिएको छ । समकालीन लेखनधारलाई पछ्याउदा पछ्याउदै नयाँ प्रयोगको कसरत गर्ने जमर्को गरेर अघि बढ्न खोजेकाछन । यो सामान्य देखिए पनि समसामयिक लेखनमा नयाँ हस्तक्षेपको प्रयास हो । यसलाई साधनामा निरन्तर जोड्नसके नितान्त प्रभावकारी भएर जानसक्छ । किन कि, यसले नौलो अनुभूति दिएको छ । यसलाई विकास, विस्तार गर्न कविको निरन्तर साधनाको आवश्यकता पहिलो शतृ हुन आउँछ । प्रत्येक कवितामा अक्षर थोरै छन । तर, कविता धेरै छन । शब्द–शब्दमा काव्यीय रस–स्वादन दिन उत्कट प्रयास भएको पाइन्छ । यसर्थ, यस सङ्ग्रहलाई कवि पराजित पोमुको काव्यत्मक जग मान्न सकिन्छ ।
यथार्थता, कल्पना, अतिकल्पना र संवेगद्धारा गरिने जीवनको व्यख्यालाई कविता मान्ने आधार चाहिन्छ भने यो कविता सङ्ग्रह प्रमाणको रुपमा पेश गर्न सकिन्छ । कविले आफ्नो आँखालाई गौण राखेर समाजका प्रत्येक पात्र र प्रवृतिको आँखा प्रधान बनाएर कवितामार्फत हेर्ने कोशिस गरेको पाइन्छ । यही नै कविको मूख्य सवल पाटो हो । सृजनामा भावनाले जुन तहमा पु¥याउछ, त्योभन्दा अर्को तह पुग्न कला, प्रतिभा र विशेषगरी मिहीन साधना चाहिन्छ । यो कुरा कविले मनन गरिसकेको हुनसक्छ । पहिलो कविताकृतिबाटै सशक्त उपस्थिति जनाउन सफल कवि पराजित पोमुले समाजका विद्यमान असमानता, विभेद र वेइमानीप्रति तीखो व्यङ्ग्य र दुःख प्रकट गर्दै पृथ्वीको साझा घरभित्र कोरिएका कित्ताकाट असमान रेखाहरु मेट्न नवयुगीन समयलाई कविता मार्फत आव्हान गरेकाछन ।
कित्ताहरु,
मनको अमिनले नाप्न खोज्छ
ममाथि कान्लाहरु उभिन्छन्
कदले भूगोलको क्षितिज जोख्छ
म जहाँको त्यहीं हुनेछु । (हे.पृ.८५,भ्रान्ति, लेप्मुहाङको डुङ्गा)

प्रतिक्रियाहरु