समकालीन राजनीति, पृथक पृथक परिवेश – खेम थपलिया

२०७३ असार १० गते, शुक्रबार

पृथक परिवेश १
के थियो, के भयो, सायद अब के हुनेछ
२०५२ सालअघिका पूर्व माओवादी, २०५२ देखि २०६२ सम्मका माओवादी, २०६२ देखि २०६९ र २०७० सम्मका माओवादी र त्यसपछिका माओवादी । नयाँ र पुराना माओवादीबीचको अन्तरविरोध, जनयुद्ध लडेका र नलडेका अर्थात् लड्न नपाएका माओवादी, जन्मँदै माओवादी भएका माआोवादी, जन्मिएपछि माओवादी भएका माओवादीका बीचको अन्तरविरोध, रेड र एक्स्पर्टबीचको अन्तरविरोध अहिले पनि जब्बर नै रहेको छ ।
आज दशरथ रंगशालामा माओवादीकै एक धार बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्तिको रूपमा जम्मा भइरहेका छन् । उसले आफु नभएको घोषणा नै गरिसकेको छ । माओवादीकै अर्को धार प्रचण्डको नेतृत्वमा माओवादी केन्द्रको रूपमा क्रियाशील रहिरहेकै छ । माओवादीकै अर्को एक धार मोह वैद्यको नेतृत्वमा बुद्धनगरमा ध्यान गरेर बसिरहेको छ भने माओवादीकै अर्को एक धार जनयुद्ध सुरु गर्दाका प्रतिवद्धतामा प्रतिवद्ध हुँदै नेपालमा जनवादी क्रान्ति पुरा गर्न कमरेड विप्लवको नेतृत्वमा सशक्त ढंगबाट क्रियाशील छ । आज नेपालको माओवादी राजनीतिमा एउटा प्रश्न जब्बर रूपमा उठेको छ कि वास्तविक माओवादी को हुन् ? किन हुन् ? सबैका आ–आफ्नै दावी हुन सक्छन् । माओवादी केन्द्र, नेकपा क्रान्तिकारी माओवादी वा नेकपा माओवादी ??? हामीलाई लाग्छ एकीकृत जनक्रान्तिको कार्यदिशा अँगालेको र कमरेड नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादी नै असली अर्थात् वास्तविकता माओवादी हो । असली माओवादी हुनुको हैसियतले यसको भूमिका पनि सोहीअनुरूपमा हुने कुरा बाञ्छनीय मानिनेछ । आशा गरौँ, अबको नेपाल माओवादीमय हुनेछ । क्रान्तिमय हुनेछ । क्रान्तिकारी आदर्शद्वारा ओतप्रोत हुनेछ । रूपान्तरणकारी हुनेछ । नयाँ जनवादीमय हुनेछ । ‘के थियो, के भयो, सायद अब के हुनेछ’ भन्ने जिज्ञासाको एकमुष्ठ जवाफ पनि त्यही हुनेछ ।
पृथक परिवेश २
द्वन्द्वात्मक भौतिकवादको सारतत्व र सकार–नकारको द्वन्द्वात्मक सम्बन्ध
नेपालको समकालीन माओवादी आन्दोलन सकार र नकारको द्वन्द्वात्मक सम्बन्धमा आधारित छ । बहस, छलफल वा विश्लेषणमा सकार र नकार दुवै आउन सक्छन् तर असल राजनीतिकर्मीले त्यसलाई सकारात्मक संश्लेषण गर्नुपर्दछ । नकारात्मक संश्लेषणले क्रान्तिकारी मार्गचित्रलाई अवरुद्ध गर्दै आएको इतिहास छ । त्यसैले सकारात्मक संश्लेषण गर्ने माक्र्सवादी–लेनिनवादी–माओवादी चिन्तनधाराको विकास गरौँ । द्वन्द्वात्मक भौतिकवादको सारतत्त्वका रूपमा एवम् प्रकृति, समाज र मानवीय ज्ञानका सबै क्षेत्रमा द्वन्द्ववादको आधारभूत नियमका रूपमा अन्तरविरोधको नियमको उद्घाटन माओद्वारा भएको छ । अन्तरविरोधको र्सार्वभौमिकता र प्रधान अन्तरविरोधको निक्र्यौलको पद्धति र महत्वको विश्लेषणले द्वन्द्ववादको समझदारीको विकासलाई नयाँ उचाइमा पु¥याएको छ । क्रान्तिको रणनीति र कार्यनीति निर्धारणमा अन्तरविरोधको आधारभूत नियमले खेल्ने महत्वपूर्ण भूमिका स्वतः स्पष्ट छ ।
पृथक परिवेश ३
होचिमिन्ह, कात्रो र फरक परक कार्यदिशा
होचिमिन्हलाई भियतनामको एक महान कम्युनिस्ट संस्थापक नेता तथा स्वतन्त्रता र राष्ट्रियताका लागि लड्ने वीर पुरुषका रूपमा आज पनि भियतनामीहरूले सम्झन्छन् । उनको सरलता, इमानदरिता र एक निष्ठावान प्रतिमुर्तिका रूपमा भियतनाममा मात्र होइन, पुरै संसारभरि नै व्यापक प्रशंसा भएको पाइन्छ । उनको नाम एक कम्युनिस्ट आर्दश व्यक्तित्वका रूपमा संसारभरका कम्युनिस्टहरूले लिने गर्दछन् । त्यसैले ख्याल गर्नुस्, कात्रोमा गोजी हुँदैन । खाली आएको हो, खाली नै जाने हो । सकेसम्म असल बन्नुस् र असल काम गर्नुस् । आफन्तीको जड्यौरी बर्को ओढेर दलाल कुटनीतिको जगमा राजनीति नगर्नुस् । ऊ हेर त, तिम्रो ताल देखेर यथार्थ मरी मरी हाँसिरहेछ । नेपालका कम्युनिस्टहरूका आ–आफ्नै कार्यदिशा छन् । अहिले नेकपा माओवादीको एकीकृत जनक्रान्ति, नेकपा माओवादी केन्द्रको समाजवादी क्रान्ति, नेकपा क्रान्तिकारी माओवादीको जनयुद्धको जगमा जनविद्रोह र नेकपा एमालेको जनताको बहुदलीय जनवाद रहेका छन् । नेपालका क्रान्तिकारीहरूले यी सबैको अध्ययन गर्न आवश्यक छ अनि एकीकृत जनक्रान्तिको सेवा गर्न अनिवार्य पनि छ ।
पृथक परिवेश ४
राजनीतिक सोमत र सत्रुको टेन्डर
राजनीतिमा राजनीतिक सोमत हुनु आवश्यक छ । नेपालको राजनीतिमा प्रगतिशील राजनीतिक क्षेत्रमा भन्दा बुर्जुवा राजनीतिक क्षेत्रमा केही मात्रामा भए पनि ‘राजनीतिक सोमत’ रहेको देखिन्छ । कम्युनिस्ट आवरणका राजनीतिक पार्टी र तिनसित आबद्ध भनिएका मानिसहरूमा ‘राजनीतिक सोमत’ को खडेरी नै देखापर्छ । क्रान्तिकारी पार्टी पनि यो रोगबाट अछुतो रहेन । चेतना भया ! साथै, आजकल मानिसका बेजोडका चुनौती र बेजोडका रहर अनि बेजोडका बाध्यता देखिन्छन् । मिल्दा चाट्ने, टाढिँदा खुइल्याउने नेपाली सभ्यता बनेको छ । बेजोडका पार्टी, बेजोडका नेता, बेजोडका सहयात्री बनेका उनीहरू आफ्नो खुट्टामा आफैँ बन्चरो हान्ने बेजोडका अभियन्ता पनि बनेका छन् । त्यसैले जीवन, सपना र सम्भावनाका बीचमा एकत्व खोज्नु आजको आवश्यकता हो । विद्वान् चाणक्यले भनेका छन्, “सफलता प्राप्त गर्नका लागि असल साथीको आवश्यकता पर्दछ र धेरै नै ठुलो सफलता प्राप्त गर्नका लागि राम्रो सत्रुको आवश्यकता पर्दछ ।” त्यसैले अब राम्रो सत्रुको लागि टेन्डर खोल्नु पर्ने भएको हो कि !
पृथक परिवेश ५
कमरेड पुष्पलाल र आजका कम्युनिस्ट
भनिन्छ– कमरेड पुष्पलालले नेपाली कम्युनिस्ट आन्दोलनलाई एउटा विचार प्रणालीमा सङ्गठित गरे । यसकै लागि उनी जीवनभर लडिरहे । उनले नेताको जादुगरीमा होइन, सामाजिक विकासको वास्तविकता सुहाउँदो नीतिको जीवनभर वकालत गरिरहे । उनी भन्थे, “नेता होइन नीति प्रधान हुन्छ ।” सङ्गठन तुष्टीकरणले होइन, सामाजिक मिसनप्रतिको निष्ठाले बन्ने हो अनि मात्र त्यो दिगो र प्रभावकारी हुन्छ । उनको काल्पनिकी बेजोड थियो । उनी दुर क्षितिज निहाल्थे । उनी आफ्नो क्यानभासमा भएभरका सामाजिक रंग पोतेर सुन्दर चित्र प्रस्तुत गर्न चाहन्थे, जहाँ दुर्बलहरू शिर ठाडो पारून, सबै रंगहरू हासून् र संगतिमा हातेमालो गरून् । उनी समाजलाई कसैको रैती मान्दैनथे, न त समाजलाई कागती निचोरे झैं निचोरेर खडा गरेको वैभवलाई न्यायिक करार गर्थे । उनी भन्थे, ’हाम्रो घरको भद्रगोल हामीले मिलाउने हो, त्यो क्षमता हामी राख्छौँ पनि । तिमी आफ्नै घर हेर । हामीलाई तिमी साथी भए पुग्छ, बाबु साहेब पल्टिनुपर्दैन ।’ स्वाभिमानको मूल्य उनलाई थाहा थियो । मित्रताको हैसियत पनि राख्दथे । भोग र विलासमा उनको रुचि छँदै थिएन । उनी अभावको पासविकतालाई बुझ्दथे र सामाजिक तहमा त्यसको उन्मुलनका निम्ति मरिहत्ते गरेर लागेका थिए । आफैँलाई भने त्यसले कुनै दाल गलाउन सकेन । जसले चना खाएर भोक टा¥यो तर आफ्नो विश्वास डगमगाउन दिएन । जसले प्रतिपक्ष समेत पनि आदर भावले हेर्दथे, उनको निष्ठा र समर्पण देखेर पानी पानी हुन्थे । आफ्नै शिष्यले भने उनलाई अभरमा घचेटे, तैपनि उनी अटल रहे । उनी वास्तवमा जमानाका नायक थिए । तर आजका कम्युनिस्ट हति पानीमा छन् ? खोज्ने बेला भएन र !
पृथक परिवेश ६
नेपालको पत्रकारिता र समृद्धीकरण द्वन्द्ववाद
नेपालको पत्रकारिताको क्षेत्रमा यतिबेला, ‘व्याख्यात्मक ज्ञान’ को बुर्जुवा सिद्धान्तको वकालत तिनका प्रतिनिधिहरूले गरिरहेका छन् । तिनीहरूले पत्रकारितामा माक्र्सवाद, लेनिनवाद र माओवादको सच्चा प्रतिनिधि र नेतृत्वको गला रेट्ने व्यर्थैको प्रयास पनि गरिरहेका छन् । सबैभन्दा प्रतिक्रियावादी र दुराग्रही तत्व, हानीकारक धार माओवादी पार्टी विरोधी रहेको छ । तिनका लामा पाखुराहरू राजनीतिक, सामाजिक, वैचारिक तथा सांस्कृतिक क्षेत्रका सबै कुना–कुनाहरूमा पुगेका छन् । तिनीहरूको नाक र नङ्ग्रा एकदमै तिखो रहेको छ । पुँजीवाद उन्नयनको र सर्वहारा वर्गको खिलाफमा उभिएका त्यस्ता पत्रिका र पत्रकारहरूको विरुद्ध कडा सङ्घर्ष गर्न ढिलाइ नगरौँ । अनि, मुर्दाहरूको समृद्धीकरण हुन सक्दैन तर मुर्दाघरको जिर्णोद्धार हुन सक्छ । फुटेको हाँडी, सुकेको रूख, चकनाचुर भएको सिसाको समृद्धीकरणको के नै अर्थ छ र ! समृद्धीकरणको वैज्ञानिक आाधार हुन्छ । समृद्धीकरण द्वन्द्वात्मक भौतिकवादमा आधारित छ ।
पृथक परिवेश ७
सरल, सरस कम्युनिस्ट र सङ्गतगुनाको फल
भनिन्छ, कम्युनिस्टहरू निरस हुन्छन् । यो सोरै आना गलत कुरा हो । भीआई लेनिन राम्रा पौडीबाज हुनुहुन्थ्यो । उहाँ हिउँमा चिप्लेटी खेल्नुहुन्थ्यो । उहाँ सिकार खेल्न औधी मन पराउनुहुन्थ्यो । जङ्गलमा सफर गर्नु उहाँको खुब रुचि थियो । आँखाबाट आँसु आउन्जेल हाँस्नु र मुस्कुराउनु उहाँको कला थियो । उहाँ गीत गाउनुहुन्थ्यो । उहाँ अथाह प्रकृतिप्रेमी हुनुहुन्थ्यो । पर्वत जङ्गल सुर्यास्त निकै मन पराउनुहुन्थ्यो । रङ सङ्योजनका उच्च पारखी हुनुहुन्थ्यो । सबैभन्दा बढी भ्वायोलिनप्रेमी हुनुहुन्थ्यो । पियानो उहाँको मन पर्ने बाजा हुन्थ्यो । गीति नाटकमा बढी रुचि दिने लेनिनले स्वीटजरलैन्डमा ‘जिउँदो लास’ नामक नाटक हेर्नुभएको थियो । जङली फुलका गुच्छा र रुखका स–साना हाँगाहरू खुब मन पराउनुहुन्थ्यो । वसन्त ऋतु, बगैँचाका फुलहरूमा उहाँको विचित्रको शोख थियो । वास्तवमा कम्युनिस्टहरू सरल हुन्छन्, सरस हुन्छन्, सहृदयी हुन्छन् अनि सबैभन्दा बढी इमानदार हुन्छन् । साथै, दुर्योधनको सङ्गतमा लागेर भीष्म पितामह पनि विराट राजाको गाई चोर्न हिंडेका थिए। त्यसैले ठूलो कुरो सङ्गत नै हो । विचार पु¥याएर मात्रै सङ्गत गर्दा राम्रो । दुर्योधनको दुःखान्त हुनु नै थियो, भयो पनि त्यस्तै तर विचरा भीष्म पितामहले वाणैवाणको पीडा सहनुप¥यो । उनले दुःखान्तक मृत्युवरण गर्नुप¥यो । त्यसैले सङ्गत गर्दा ख्याल गरौँ है ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु