सत्तामा ५० प्रतिशत भाग चाहिन्छ : विप्लव

२०७१ पुष २७ गते, आईतवार

काठमाडौ । नेकपा माओवादीले गाउँ तहदेखि केन्द्रसम्म सत्ताको आधा हिस्सा माग गरेको छ । सेना, प्रहरी र अदालतमा समेत माओवादीलाई ५० प्रतिशत भाग चाहिने विप्लवको माग छ ।दाङमा सम्पन्न नेकपा माओवादीको पहिलो राष्ट्रिय सम्मेलनले सरकारसँगको सत्ता साझेदारीको कार्यनीति अघि सारेको हो । सत्ता साझेदारीमा प्रशासनतिर गाउँ तहदेखि केन्द्र, सुरक्षाको तल्लो तहबाट माथिल्लो तह र न्याय क्षेत्रमा पनि जिल्लादेखि सर्वोच्च तहसम्म नै ५० प्रतिशतको हिस्सा माग्ने कार्यनीति अघि सारेको बताइएको छ ।सेनापतिदेखि सिपाहीसम्म र जिल्ला न्यायाधीशदेखि सर्वोच्च अदालतका न्यायाधीशसम्म सत्ता साझेदारी हुनुपर्ने राष्ट्रिय सम्मेलनको निश्कर्ष छ ।
बुधवारदेखि सुरु भई शनिबार राति सकिएको नवगठित नेकपा माओवादीको राष्ट्रिय सम्मेलनले एकीकृत क्रान्तिको सिद्धान्तलाई अवलम्बन गर्दै ‘जनवादी क्रान्ति’ पूरा गर्ने गरी कार्यदिशा अघि सारेको छ ।
तत्काल क्रान्तिको अपरिहार्यता रहेको निचोड निकाल्दै वैद्यबाट अलग भई गरिएको सम्मेलनमा पेश गरिएको राजनीतिक दस्तावेजमा फौजी रणनीतिबाट स्पष्ट कार्यदिशा उल्लेख नभएको भए पनि नेताहरुले युद्धका लागि तयार रहन कार्यकर्ताहरुलाई उर्दी जारी गरेका छन् । ‘फौजी रणनीतिबारे अहिले नै सवै कुरा सार्वजनिक गरिनु उचित हुँदैन,’ सम्मेलनमा विप्लवले कार्यकर्ताहरुलाई भने, ‘तपाईँहरु युद्धका लागि सेना बन्न तयार भएर बस्नुस्, छिट्टै सेना कार्यक्रम आउँछ ।’
फौजी कार्यक्रमबारे गोप्य राखिनुपर्ने भएकाले अहिले नै फौजी कार्यक्रम सार्वजनिक नगरिने भन्दै नेताहरुलाई आश्वस्त पारेका छन् ।’नेताहरुले तत्कालै सेना निर्माण गरिन्छ भनेका छन्,’ एक कार्यकर्ताले भने, ‘मुलुकमा फेरि एकपटक धक्का दिने गरी कार्यक्रम आउँने विश्वास छ ।’
एकीकृत क्रान्तिको सिद्धान्तअघि सारेका विप्लवले विश्व क्रान्तिको पाठ सिकेर भूगोल सापेक्ष संघर्ष गर्नुपर्ने बताएका छन् । पुरानो तरिकाले नभई नयाँ तरिकाले क्रान्ति सम्पन्न गर्ने भन्दै कार्यकर्ताहरुलाई आश्वस्त पारे पनि नयाँ तरिकाको क्रान्तिको गोरेटो भने कार्यकर्ताहरुलाई बताएका छ्रैनन् ।

यसैगरी ,मुलुकमा संक्रमणकालसँगै भ्रष्ट्राचार मौलाउँदै गएको भन्दै माओवादीले भ्रष्टाचारीलाई कारवाही गर्ने जनाएका छन् । तत्काल भ्रष्ट्रहरुको सूची तयार गर्ने र कारवाहीको योजना अघि सार्ने उनीहरुले जनाएका छन् । भ्रष्टाचारीलाई कस्तो कारवाही गर्ने भन्ने खुलाइएको छैन । भ्रष्टाचारीको सूची भने जिल्लादेखि केन्द्रसम्मको निकाल्ने जनाइएको छ ।
सम्मेलनले महासचिव पद्दति बनाउने निर्णय गर्दै नवगठित पार्टीको संयोजन गर्दै आएका नेत्रविक्रम चन्द विप्लव महासचिव चयन भएका छन् । तत्काल स्थायी समिति र पोलिटब्युरो समिति बनाउने सम्मेलनको निर्णय छ । स्थायी समिति र पोलिटब्युरो सदस्य तय गर्ने जिम्मा सम्मेलनले केन्द्रीय समितिलाई दिएको छ ।
एक सातापछि बस्ने केन्द्रीय समिति बैठकले स्थायी समिति र पोलिटब्युरो गठन गर्ने माओवादीले जनाएको छ । यसअघि ७९ सदस्यीय सम्मेलन आयोजक समितिबाट घटाएर ६५ सदस्य केन्द्रीय समिति बनाइएको छ । जसमध्ये सात सदस्य रिक्त छन्

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु