शासकको आदेश: ढुक्कले मर – बलराम तिमल्सिना

२०७७ बैशाख ८ गते, सोमबार

भोकले जत्ति मर्छौ मर
खासै फिकर छैन
मर्न जन्मेकाहरू मर्नु पर्छ !

अरु रोगले जत्ति मर्छौ मर
हाम्लाई खास सुर्ता छैन
रोग लागेकै मर्नलाई हो
ढुक्कले मर !

झाडा पखालाले मर
उँधै-उँभैले मर
निमुनियाँले मर
क्षययोगले मर
संसारका कत्रा कत्रा त मरेका छन्
मर्नु कुन अचम्म भयो र ? मर !

ओछ्यानमै मर
या बाटो हिड्दा हिड्दै मर
झ्यालखानामा मर
या पाइखानामा मर
मर्ने चोला हो देशबासी हो
हाँसीहाँसी मर !

कुकुर जसरी मर
या बिरालो जसरी मर
सोत्तर लागेर मर
या खोत्तर नपाएर मर
औकातले नपाएको आश नगर
हैंसियत हेरेर मर
अरु मरेको हेरेर मर
बाँच्नभन्दा मर्न सजिलो छ
गुनासो नगरी मर !

गाउँमा मर
या सहरमा मर
सीमानामा मर
या महाकाली नदीको बेगमा मर
क्वारेन्टाइनमा मर
या आइसोलेशनमा मर
अमेरिकामा मर
या अरवको खाडीमा मर
मृत्यु सामान्य घटना हो
खुरुखुरु मर !

कोरोनाले मर
या कुपोषणले मर
कहरले मर
रहरले मर
या जहरले मर
तर रिपोर्ट नेगेटिभ देखाएर मर
कोरोनाले हैन भनी लेखाएर मर !

जैले नि गुनासो मात्रै सुनाउँथ्यौ
जैले नि रुन्चे अनुहार मात्रै पार्थ्यौ
जैले नि माग मात्रै राख्थ्यौ
जैले नि आश मात्रै गर्थ्यौ
वाँच्दा पो कुन दिन सुख छ भनेथ्यौ र ?
वाँच्दा पो कुन दिन खुसी देखिन्थ्यौ र ?
दुखै लुक्छ निस्फिक्री मर
को अजम्मरी छ र ?
अल्छि नगरी मर
अबेर नगरी मर !

शासनको श्रेय जोगाएर मर
व्यवस्थाको वैभव उठाएर मर
सरकारको शान चम्काएर मर
जत्ति मर्नु छ नडराई मर
चुपचाप मर, नकराई मर !

प्रतिक्रियाहरु