व्यासीका फूलहरू – वैरागी जेठा

२०७३ चैत्र ११ गते, शुक्रबार

बगीरहेछ ,व्यासीका पसिनाहरू
कष्टमय बाटो अँगाल्दै
बाध्य भएर झरिरहेछ
दक्षिणतिर
अनेकौँ पहाडहरू छिचोल्दै
थुप्रै भञ्ज्याङहरू ठुङ्दै
बगीरहेछ व्यासीका पसिनाहरू
विस्तारै सैँपाल उक्लेर हेर्छ
काव्यिक ढाँकर
पर परबाट देखिएका
सेतादाँतहरूका गिजाबाट
तपतप चुइएका ¥यालहरू
हेरेर
एउटा बूढो कवि
कविता लेखिरहेको छ
दर्शन लेखिरहेछ
हिमाल टेकेर
गुराँसका पातहरू
आफ्नै तालमा हाँसिरहेका छन्
अजिंगर पत्थरहरूमा फुलेका
तिनका सपनाहरू
ठोकिएला ,ठोकिएला च्यापू
सुदुर लेकहरूमा
कलम धर्मराउँछ
व्यासीका किसानहरू
लडाईँ अझै लडिरहेछन्
युद्ध जिते जितेझैँ लाग्छ
हाता लागेको छैन
व्यासीका चौतारीहरूमा
म सोध्छु
फुलिरहेका ती गुराँसहरूलाई
उनीहरूले बोकेका भरुवा बन्दुकहरू
अझै पड्किन बाँकीरहेछ
व्यासीका आवाजहरू
आकाशदीपझैँ चम्किरहेथे
लक्ष्मीका स्वरहरूमा
त्यहाँका फूलहरू
असल पनि असल मानिसहरू
खोजी गरिरहेका थिए
व्यासीका कान्लाहरूमा
मारिएका मान्छेका रगतहरू
आँधी भएर उठिरहेछन्
मैले सुनिरहेछु
मलाई कवि होइन भन्नेहरू
यी पहाड उक्लेका छैनन्
व्यासीलाई टोकिरहेछन्
उनीहरू उत्सुक छन्
मेरो घुर्ची सुन्न
शत्रुहरू हिनहिनाइरहेछन्
लक्ष्मीका धुनसँग
यताउता टाउका घुमाउने
राक्षसहरू
हाम्रो युद्ध रोक्न
आतुर छन्
यो समय ।

प्रतिक्रियाहरु