विगतमा दुई लाइनको सङ्घर्ष र कार्यदिशाका कुरा – डा. भगवानचन्द्र ज्ञवाली

२०७४ आश्विन ३ गते, मंगलवार

हामीलाई एउटा सही माक्र्सवादी सैन्य कार्यदिशा र एउटा सही माक्र्सवादी राजनीतिक कार्यदिशाको आवश्यकता छ । — माओ (सं. रचना, भाग–१ पृ. १४९)
क्रान्तिलाई कसरी सफल पार्ने ? राजनीतिक सङ्क्रमणलाई कसरी अघि बढाउने ? प्रतिक्रान्ति र वैचारिक विचलनलाई कसरी रोक्ने ? पार्टीभित्र विकसित हुने आपसी अविश्वास र उकुसमुकुसको अन्त्य कसरी गर्ने ? क्रान्तिकारी पार्टीलाई सुदृढ गर्ने र एकीकृृत बनाएर सङ्घर्षमा कसरी होम्ने भन्ने कुराको निर्धारण व्यवहार शोधित वैज्ञानिक कार्यदिशाले गर्छ । नेपालमा सञ्चालित जनयुद्धले छोटो समयमै असफलताको धुलो चाट्न पुग्नाको कारण चाँहिं कार्यदिशाको सामयिक परिमार्जन र विकास, आन्तरिक सामथ्र्य र शत्रुशक्तिको समुचित मूल्याङ्कन हुन नसक्नु हो भन्ने जनयुद्ध हितैषी वाम बुद्धिजीवीहरूको ठहर छ । विविध पक्षबाट त्यसको अध्ययन, अनुसन्धान र मूल्याङ्कन हुन भने बाँकी नै छ ।
कार्यदिशाको विकास क्रान्तिका गतिसँगै हुँदै जाने गर्छ । कार्यदिशाले क्रान्तिका लागि दूरवीक्षण यन्त्र जस्तै काम गर्छ जसले केही अगाडिको अर्थात् निकटतम लक्ष्यसम्मको मार्गदर्शन गर्छ र तात्क्षणिक लक्ष्यप्राप्तिमा सहजता प्रदान गर्छ । अतः क्रान्तिकारीहरूका लागि कार्यदिशा अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।
विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनाले सबै कुराको निर्धारण गर्छ भनेर माओले त्यसै भनेका थिएनन् । विचारधारामा अस्पष्टताले क्रान्तिकारी राजनीति गतिविधिमा विचलन पैदा गर्छ त्यसैले क्रान्तिकारी पार्टीले सङ्घर्षका प्रक्रियासँगै कार्यदिशाका प्रत्येक निकटस्थ वस्तुस्थिति र परिवेशमाथि गम्भीर छलफल, बहस तथा चिन्तनमा लागिरहनु आवश्यक हुन्छ किनभने बाह्य तथा आन्तरिक परिस्थितिले पनि कार्यदिशालाई निरन्तर प्रभाव पारिरहेको हुन्छ । कार्यदिशालाई त्यसबाट निरन्तर संरक्षण गर्दै अघि बढ्नु पर्छ । लक्ष्यचिन्तन गरेपछि कार्यदिशाले देखाएका बाटामा सावधानीपूर्वक अघि बढ्दै जाँदा बाटामा आइपर्ने व्यवधानहरूलाई निरन्तर पन्छाउँदै जानु पनि आवश्यक हुन्छ ।
नेपाली जनयुद्धकालमा साम्राज्यवाद, विस्तारवाद, प्रतिक्रियावाद र आपसी अविश्वासले माथिल्लो नेतृत्व पङ्क्तिमा आत्मबल कमजोर बनाएको र कुइरोको कागझैं नेतृत्वले बाटो बिर्सेको वा हराएको जस्तो अवस्था भयो । नेतृत्वको धैर्य गुम्यो परिणामतः २०५७ पछि जनयुद्धको मूल लक्ष्य छायामा प¥यो । बाह्य प्रभाव र आन्तरिक किचलोको गति यति तीव्र भयो कि नेताहरू विश्व साम्राज्यवादी, प्रभुत्ववादी शक्तिका धाकधम्की र प्रलोभनमा परेर तिनका सामु घुँडा टेक्न पुगे । कार्यदिशामा लागेका बादलले क्रान्तिका पूर्णताको बाटो छेक्यो । अर्कातिर दुई लाइनको शत्रुतापूर्ण सञ्चालन, क्रान्तिका विजयप्रति आत्म विश्वासको कमी र आपसी अविश्वासले गर्दा एकले अर्कालाई सिद्ध्याउने खेल पार्टी नेतृत्वभित्र सुरु भयो । त्यस अवस्थामा क्रान्तिको हित चाहनेले निषेधको बाटो लिनु भन्दा पार्टी वा बाटो परित्याग गरेर सहजै पन्छिनु उचित हुन्थ्यो तर नेतृत्व तहमा पार्टी वा क्रान्तिको हितभन्दा क्षणिक व्यक्तिस्वार्थ प्रधान हुनगयो । त्यसले पार्टीका समग्र स्वरूपलाई तहसनहस बनायो । अन्त्यतः विजयोन्मुख क्रान्तिको विघटन गर्ने निर्णय नेताहरूले गरे ।
मित्रतापूर्ण दुईलाइनका सङ्घर्षले मात्र राजनीतिक र सैन्य कार्यदिशाका विकासमा सहयोग पु-याउँछ । क्रान्तिका हितमा दुई लाइनको सङ्घर्ष कस्तो हुनुपर्छ भन्ने कुराप्रति वास्ता गरिएन । मित्रतापूर्ण तथा शत्रुतापूर्ण दुई लाइनको सङ्घर्षका परिणामहरूको आँकलन ठिकसँग हुनसकेन वा चासो दिइएन र त्यसलाई मित्रतापूर्णमा परिणत गर्ने चिन्तन नै भएन । परिणामतः बाबुराम कार्यबाहीमा पर्ने, बदलामा विदेशी शक्तिका सहयोगमा प्रवासमा बैद्यहरूलाई पक्राउने जस्ता घृणित गतिविधि भएका हुन् भनिन्छ । वैचारिक द्वन्द्वले बाबुराम र प्रचण्डमा नेतृत्व हात पार्ने र उपलब्धिको उपभोग गर्ने कुरामा पनि मानसिक द्वन्द्व सिर्जना गरेको हुनुपर्छ । अतः क्रान्ति, जनताको बलिदान, विजयको सम्भावित अवस्था, दुई लाइनको सङ्घर्ष, तात्क्षणिक कार्य योजना र कार्यदिशाको विकास जस्ता कुराको उपेक्षा नेताहरूले गरे । युद्धरत नेता कार्यकताबाट जनमत र भाइचारा शक्तिहरूको अभिमतसमेत बुझ््ने चेष्टा भएन । परिणामतः जनक्रान्तिमा उठेको हतियार विवेकहीनद्वारा निर्देशित जस्तो हुनगयो र जनक्रान्ति विसर्जनमा टुङ्गिन पुग्यो । अतः पार्टीभित्र दुई लाइनको मित्रवत् सङ्घर्ष वा समान विचारको सङ्घर्ष र कार्यदिशाबारे निरन्तरको सजगता, चिन्तन र मनन, छलफल र बहस भइरहनु जीवन्त र सफल क्रान्तिकारी पार्टीका लागि अनिवार्य हुन्छ । अमैत्रीपूर्ण वा भिन्न विचार भएका दुई लाइनबीच सङ्घर्ष जारी राख्ने होइन कि त्यसको अन्त्य गरिनुपर्छ र मित्रवत् सङ्घर्ष चलाइनु पर्छ जसले मात्र विचारको विकास हुन सम्भव तुल्याउँछ ।
गतकाल सत्ताबाट बाहिरिनासाथ डा. बाबुराम भट्टराईले पार्टी मात्र असान्दर्भिक भएको भन्दै माक्र्सवादी दर्शन नै त्याग्नु भनेको जनयुद्धकालमै उनको नियत सफा थिएन, निहित स्वार्थ प्रेरित थियो भन्ने कुरा बुझिन्छ । जस्को अर्थ हो सुरुदेखि नै पार्टीभित्र दुई लाइनको सङ्घर्ष मित्रवत् थिएन वा ठिकसँग परिचालन हुनसकेको थिएन र नेतागणमा देखावटी मात्र मित्रता थियो भन्ने प्रस्ट हुन्छ । अतः बाबुराम नेपालमा क्रान्ति होस् भनेर इमान्दारीपूर्वक तत्कालीन ने.क.पा. एकताकेन्द्रमा प्रवेश गरेका थिएनन् । उनी जनताको बलिदानका बलमा संसदवादी सत्ताको यथाशीघ्र मह चाट्न नेपाली राजनीतिका माथिल्लो तहमा पुग्न चाहन्थे । अतः दुई लाइनको सङ्घर्षलाई मित्रतापूर्ण रूपले चलाउँदै कार्यदिशाको समुचित विकास गर्दे क्रान्तिलाई सफलतापूर्वक अवतरण गराउने पक्षमा उनी थिएनन् बरु आन्तरिक रूपमा जसरी पनि नेतृत्व मात्र हात पार्ने दाउपेंचमा थिए भन्ने स्वभावतः आशङ्का जन्मिन्छ । २०५७ पछि प्रचण्ड पनि उनकै प्रतिस्पर्धामा लागेर नयाँ नयाँ कार्यदिशा विकास गर्ने र क्रान्तिलाई सफल टुङ्गोमा पु¥याउने पक्षतिर लागेनन् बरु जनयुद्धको पहिलो फाइदा बाबुरामले लिने हुन् कि भन्ने त्रासमा आपूm पहिलो हुने दाउपेंचमा लागेका हुन् कि भन्ने देखियो । अनि अमूर्त पृष्ठपोषक शक्तिका रूपमा रहेका साम्राज्यवादी, विस्तारवादी, प्रतिक्रियावादीहरूका प्रलोभनमा परेर हातमा लिएको काँसको भाँडो एकैचोटि हातबाट खसाल्दा फुटेजस्तै नेपाली जनताको अपूर्व त्याग र बलिदानबाट सम्पन्नताका निकट पुग्नलागेको, जनवादी क्रान्ति सफल हुनलागेका अवस्थामा पृष्ठपोषक शक्तिहरूका अगाडि फ्यात्त फालेर आत्मसमर्पण गर्न पुगे । जनयुद्धको त्यत्रो सिर्जना भताभुङ्ग भयो । वैचारिक रूपमा त्यसलाई प्राणसञ्चार गरिरहेका बैद्य भारतका जेलमा बसिरहँदा उनका अनुपस्थितिमा जनयुद्धलाई मसानघाटमा पु¥याइएको देखेर रनभुल्लमा परे । युद्धरत दोस्रो तहका नेता कार्यकर्ताहरू (विप्लव आदि) लाई नजिकै पर्न नदिएर फुटेको काँसको भाँडो जस्तो भद्रगोलमा पुगेको जनयुद्धलाई जेलमुक्त भएर आएका बैद्यले पनि पुनः संयोजन गर्ने आँट गर्न सकेनन् । अन्त्यतः समाजको आमूल परिवर्तनका लागि करीब १७ हजार नेपाली जनताले बगाएको रगत तत्कालका लागि खेर गएको देखियो । दुई लाइनको सङ्घर्षका वास्तविक स्वरूपलाई बुझ््न नसकेर वा परिचालन गर्न नसकेर र प्रचण्डमा प्रचण्ड सम्भावना देख्ने बानीले गर्दा क. किरण पनि अज्ञात रूपमै जनयुद्धको विसर्जनका पक्षमा मौन समर्थक बन्न पुगे । परिणामतः नेपालको जनवादी क्रान्तिले केही दशकका लागि पछि हट्नु पर्ने अवस्था भयो । क्लेशः फलेन हि पुनर्नवतां विधत्ते भनेझैं योद्धाहरूले फल प्राप् गरेर भौतिक मानसिक शान्ति र खुसी प्राप्त गर्नसकेनन् ।
अहिले हेर्दा दोस्रो पटक सत्ता समाल्न पुगेका प्रचण्डले विश्व साम्राज्यवादी, क्षेत्रीय साम्राज्यवादी, प्रतिक्रियावादी विश्व शक्तिलाई रिझाउन बाबुरामलाई पनि उछिन्न सफल भएका छन् भन्ने लोकमत देखिन्छ । उनी आफै संसदवादी विकृतिका दलदलमा चुर्लुम्म डुबेका छन् र आफ्नो डेढ दशक अघिको क्रान्तिकारी राष्ट्रवादी छवि गुमाउन पुगेका छन् । आफ्ना बलबुताले भ्याएसम्म उनी नेपालमा जनवादी क्रान्ति पनर्जीवित हुनदिने पक्षमा देखिंनन् तर पुँजीवादी साम्राज्यवादी विदेशी शक्ति सफलताका धुरीतिर अघि बढिरहेको नेपाली जनवादी क्रान्तिको अन्त्य गराएर चुप लागेको हैन कि प्रचण्ड बाबुरामहरूलाई महको झिङ्गा जस्तै फ्याँक्न पनि सफल भएको देखिन्छ । बाबुरामको अवस्थाले त त्यो साबित भइसकेको छ भने सत्ताबाट उत्रिनासाथ बाबुरामको जस्तै प्रचण्डको पनि अवस्था हुने वामखेमाबाट सर्वत्र आशङ्का व्यक्त भइरहेका छन् । नकारात्मक रूपमा भने उनीहरूले नेपालमा विकसित भएको माओवादी क्रान्तिलाई पतन गराउन सफल भयौं भन्ने गर्व गरेका पनि हुनसक्छ तर विश्व कम्युनिष्ट अन्दोलनका दृष्टिले त्यो अत्यन्तै त्रूरतम कर्म उनीहरूले गरेको भन्न सकिन्छ ।
के कुरा सुनिश्चित छ भने झिङ्गाले मरोस् भन्दैमा डिङ्गो मर्ने होइन । इतिहासले के देखाउँछ भने एकपटक रोपिएको विचारको बिउ अवश्य एक दिन फुल्छफल्छ नै । नेपालबाट क्रान्तिको सम्भावना समाप्त भएको हैन बरु विगतका ती कमी कमजोरीहरूलाई आत्मसात गर्दै आठौं महाधिवेशन पछि कार्यदिशामा परिमार्जनसहित नेपाल कम्युनिष्ट पार्टी मालेमावादी वैज्ञानिक समाजवादी क्रान्तिलाई सफलतापूर्वक सम्पन्न गर्न नयाँ शक्तिका रूपमा जनताका भरोसाको केन्द्र बनेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु