मोदीको राजनीतिक किल्ला हल्लाउने युवाको जीवनकथा

२०७२ भाद्र १० गते, बिहीबार

काठमाडौ, १० भदौ । अहमदावादको चन्द्रनगर गाउँका २२ वर्षीय हार्दिक पटेलले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक किल्ला गुजरात हल्लाई दिएका छन । पटेलले कै कारण भारतको गुजरात राज्यले यतिबेला विशाल जनप्रदर्शन झेलिरहेको छ । गुजरातका पाँच सहरमा स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ भने एसएमएस सेवामा समेत रोक लगाइएको छ । केही दिनदेखि जारी प्रदर्शनका क्रममा आठजनाको मृत्यु भइसकेको छ भने कयौं घाइते भएका छन् । दर्जनौं सवारी साधनमा तोडफोड र आगजनी भएको छ । गुजरात भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक आधार थलो हो । त्यसैले पनि गुजरातमा हाल भइरहेको विरोध प्रदर्शनले राष्ट्रियस्तरमा बहस चलाइरहेको छ ।
दुई महिना अघिसम्म २२ वर्षीय हार्दिक पटेललाई उनकै टोलछिमेक र सहपाठीबाहेक धेरैले चिन्दैनथे । तर ती युवक अहिले गुजरात आन्दोलनको नाइके बनेका छन् भने उनको आह्वानमा लाखौं युवा सडकमा होमिएका छन् । एक मध्यम परिवारमा जन्म लिएका उनी अहमदावादको चन्द्रनगर गाउँमा बस्दै आएका छन् । कमर्समा स्नातक गरेका उनले ‘आरक्षण’ सम्बन्धी प्रावधानका कारण आफू अवसरबाट वञ्चित भएपछि आफ्नो समुदाय (पटेल) का लागि पनि आरक्षणको माग गर्दै आन्दोलन थालेका हुन् ।
सरकारी जागिरका लागि आवेदन गरेका उनले आफूभन्दा कम अंक ल्याएका छिमेकी युवा उक्त पदमा छनोट भएपछि आफू ‘आरक्षणको शिकार’ भएको महसुस गरे । त्यसो त गुजरातमा पटेल समुदाय सम्पन्न वर्ग मै गनिन्छ र संयोगवस् गुजरातको मूख्यमन्त्री पनि सोही समुदायकै हुन् । गुजरातको कुल जनसंख्याको २० प्रतिशत पटेल छन् । हिरा व्यवसायमा पनि यही समुदायको बर्चश्च छ । तर अधिकांश पटेल गरिब र किसान वर्गमा छन् ।
हार्दिक पटेलको शब्दमा ‘केवल ५/१० प्रतिशत पटेलमात्र धनाढ्य छन् ।’
पटेल समुदायलाई अल्पसंख्यक सूचीमा राख्दै आरक्षणको व्यवस्था गर्न हार्दिक पटेलले विगत दुई महिना यता ८० भन्दा बढी र्‍याली गरिसकेका छन् । उनले सुरतबाट आन्दोलनको सुरुवात गरेका थिए । उनको मागलाई पटेल समुदायका युवा र सोही समुदायका अवकाश प्राप्त कर्मचारीहरुको साथ रह्यो ।
६ जुलाईमा पहिलो आमसभा गरेका उनले त्यतिबेला करिब १० हजार सर्वसाधारणको साथ पाएका थिए । दोस्रो सभामा त्यो संख्या ५० हजारको हाराहारीमा पुुगेको थियो । तर मंगलबार भएको आमसभामा झण्डै १० लाख सर्वसाधारणको उपस्थिती रहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।
उनको मागलाई सम्बोधन गर्न राज्य सरकारले एउटा वार्ता कमिटी गठन गरेको छ । तर हार्दिक पटेलले उक्त कमिटीमाथि विश्वास नभएको बताउँदै आन्दोलन जारी राखेका छन् । उनले प्रदर्शनकारीको मृत्युका लागि जिम्मेवार प्रहरीलाई ४८ घण्टाभित्र कारवाही गर्न तथा मृतकका परिवारलाई ३०–३० लाख रुपैयाँ क्षतिपूर्ति दिन माग गरेका छन् । उनले किसानलाई शहरमा दुध तथा तरकारी आपूर्ति नगर्नसमेत आह्वान गरेका छन् । आफ्नो माग पुरा नभएसम्म आन्दोलन नरोकिने उनको भनाई छ । -एजेन्सी

प्रतिक्रियाहरु