मिस्टर क्लाउडलाई प्रश्न – बलराम तिमल्सिना

२०७६ जेष्ठ १४ गते, मंगलवार

किन
थाति रहेको उज्वल भविष्यको लागि
उज्वलहरू वलीवेदीमा चढ्छन ?
किन
प्रज्वलहरू हिड्छन फेरि
प्रज्वलनशील पदार्थ बोकेर ?
किन निरन्तरहरू
निरन्तर डिटोनेटर जोड्दै छन
फ्युजको टुप्पोमा
र डाइनामाइटमा घुसार्दै छन ?
र किन
मैयुमका लेकहरू
अनकन्टार धोद्रेहरू
नयाँ तिर्थ-स्थल वन्दैछन ?

चेतनामा लागेको
कपटी वादल उप्काएर
एक पटक विगतको आँखाले हेर त
ओ मिस्टर क्लाउड
के तिनीहरू अनागरिक हुन ?

किन,
प्रतिवन्धित हावा नै
मैत्रीपूर्ण मान्छन अचेल
हरेक नौजवानका फोक्साहरूले ?
किन,
तिमीद्वारा प्रतिवन्धित बाटो हिड्न
उचालिरहन्छन मेरा खुट्टा ?
किन,
तिमीद्वारा प्रतिवन्धित गीत नै
गुनगुनाइरहन्छन मेरा ओठहरू ?
मिस्टर क्लाउड ,
सत्ताको मधुमासबाट
एक छिन बाहिर निस्क
र सोच तिम्रो सिज अभियान
के त्यो अनागरिकहरूले चलाएको थियो ?
या तिमी थियौ
अनागरिकहरूका अगुवा ?

तिमीलाई काँधमा बोक्नेहरूलाई
गेट बाहिरै छोडेर अलपत्र
छिरेपछि तिमी
सिंहदरवारको वेश्यालयमा
र आउँन थालेपछि गेट बाहिर
वासी विर्यको नमिठो गन्ध
तिमीले वन्द गरेको गेटमा
जिलेटिन भरिएको कुकर जोड्दै गरेकाहरू
ती तिम्रा पूर्व-अङ्गरक्षकहरू नै थिए !

सत्ता रुपी वेश्याको वाहुपाशबाटै
तिमीले ऐलान गर्नासाथ
ती कसरी अनागरिक भए ?

मिस्टर क्लाउड ,
यो पनि सोच
समय सँधै तिम्रो पक्षमा रहदैन
र यस्तो एक दिन आउँने छ
कठघरामा उभिएर एक दिन
तिमीले दिनु पर्ने छ यी प्रश्नको उत्तर
यी प्रश्नहरू
तिमीलाई गृहकार्य भए
गृह कार्य राम्ररी गर्नु है मिस्टर क्लाउड !

प्रतिक्रियाहरु