‘मानार्थ दर्जा दिएकामा खुसी छु ‘

२०७४ माघ २७ गते, शनिबार

काठमाडौं, २७ माघ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाल सरकारले आफूलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्जा दिएकामा खुसी व्यक्त गरेका छन् ।
मन्त्रिपरिषदको शुक्रबारको बैठकले राष्ट्रकवि घिमिरेलाई उक्त दर्जा दिने निर्णय गरेको थियो । लैनचौरस्थित निवासमा रासससँग कुरा गर्दै उनले देशमा अनुशासन रहेको एकमात्र संस्था नेपाली सेना रहेको जनाउँदै देशको माटो र गरिमाको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताए । उनले भने–‘मुलुकमा शान्ति र स्थिरताका लागि सेनाले महत्वपूर्ण भूमिका खेलेको छ । मलाई दिन लागिएको दर्जाप्रति मलाई सन्तोष लागेको छ ।’ सेनाले एक समारोह गरी सो दर्जा प्रदान गर्नेछ ।
यसैबीच, राष्ट्रकवि घिमिरेको बहुप्रतिक्षित ‘ऋतम्भरा’ महाकाव्य साझा प्रकाशनले प्रकाशन गर्ने भएको छ । सो प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले सो कृति प्रकाशनका लागि सम्झौता भएको बताउँदै पुल्चोकस्थित साझा प्रकाशनमा पुनःनिर्माण हुन लागेको भवनमा एक ‘राष्ट्रकवि हल’ बनाउने जानकारी दिए । – रासस

प्रतिक्रियाहरु