भूकम्पबाट मर्नेको संख्या ४३१० पुग्यो, राहत र उद्धारको क्रम जारी

२०७२ बैशाख १५ गते, मंगलवार

काठमाडौ, १५ बैशाख । गृहमन्त्रालयका अनुसर भूकम्पबाट मर्नेको संख्या ४३ सयभन्दा बढी रहेको छ । । आज बिहान ८ बजेसम्मको तथ्याङक अनुसार ४ हजार ३ सय १० जनाको मृत्यु भएको छ । गोरखाको बारपाकलाई केन्द्र बनाएर आएको ७.९ रेक्टरको विनासकारी भूकम्प र पछिको अर्को भूकम्पले मध्यमाञ्चलका जिल्लामा बढी प्रभाव परेको छ । पुरिएका संरचनाबाट मान्छेहरुको खेजी भइरहेकाले मृत्यु हुनेहरुको संख्या बढ्ने देखिएको छ ।
अहिलेसम्म सिन्धुपाल्चोक र काठमाडौंमा सबैभन्दा बढीको ज्यान गएको छ । हजारौ मान्छे विनासकारी भूकम्पमा परेका छन् भने लाखौ विस्थापित भएका छन् ।
सरकारले आजदेखि राहत वितरणलाई प्रभावकारी बनाउने तयारी गरेको छ । हिजोसम्म सबैशक्ति उद्धारमा लगाएकाले आज उद्धार र राहत एकैपटक अगाडी बढाउने गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार सरकार र सबै निजी क्षेत्रका हेलिकोप्टरलाई उद्धार र राहात वितरणमा परिचालन गरिएको छ । तर पीडितहरुले भने राहत पाउन नसकेको बताएका छन् । आजबाट सरकारले विजुली र खानेपानीको व्यवस्थापन पनि चुस्त राख्ने बताएको छ ।
नेपालमा शनिवार आएको ७ दशमलब ६ रेक्टर स्केलको भूकम्प वि.स. १९९० साल पछिको सबैभन्दा ठूलो हो । ९० सालमा आएको भूकम्प ८ दशमलब ४ दशमलब रेक्टर स्केल मापन गरिएको थियो ।
नेपाल विश्वमा सबैभन्दा बढी भूकम्प आउने सम्भावना रहेको क्षेत्र मध्ये एक मानिन्छ । आखिर नेपाल किन भूकम्पबाट यसरी प्रभावित भैरहेको छ त ? पृथ्वीको भारतीय प्लेट यूरेशियन प्लेटबाट तल दब्दै गइरहेको छ भने यसबाट हिमाल भने माथि उठिरहेको मानिन्छ ।
यो वर्ष करिब पाँच सेन्टिमिटर यो प्लेट यूरेशियन प्लेटबाट तल गइरहेको छ र यसबाट प्रत्येक वर्ष हिमाल पाँच सेन्टिमिटरमाथि उठिरहेको छ । यसका कारण त्यहाँको चट्टानको संरचनामा एक किसिमको तनाव पैदा हुन जान्छ ।
जब यो तनाब चट्टानबाट अलग हुन खोज्छ तब भूकम्प आउछ । तर संसारमा अहिलेसम्म कुनै पनि वैज्ञानिकले यो अनुमान लगाउन सकिरहेका छैनन् कि संसारमा अब कहाँ र कत्रो तिब्रताको भूकम्प आउनसक्छ ।
तर वैज्ञानिकहरुले हिमाली क्षेत्रमा ठूलो भूकम्प आउने आशंका भने गरिरहेका छन् । वैज्ञानिकहरुले भूकम्प आउने सम्भावना थाहा पाउने तरिकाको खोजी पनि जारी राखेका छन् । यद्यपि, अहिलेसम्म यो प्रयास सम्भव हुन सकेको छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु