भारतीय सुरक्षाकर्मीले घिसार्दै लगेका नेपाली अहिलेसम्म बेपत्ता !

२०७७ जेष्ठ १४ गते, बुधबार

काठमाडौँ, १४ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले भारतीय सुरक्षाकर्मीबाट पक्राउ गरी बेपत्ता पारिएका सीमा क्षेत्रका दुई नेपाली नागरिकको अवस्था वर्षौंदेखि अज्ञात रहेको पाइएको जनाएको छ । आयोगले स्थलगत अध्ययन गरेर दुवै नेपालीको तत्काल खोजी गरी स्थिति सार्वजनिक गर्न सरकारलाई निर्देशनसमेत दिएको छ ।
आयोगका सदस्यद्वय मोहना अन्सारी र गोविन्द शर्मा पौड्यालले २०७२ देखि ०७६ सम्म चीन र भारतसित सीमा जोडिएका २८ जिल्लाका नागरिकको अवस्था अध्ययन गरी प्रतिवेदन तयार गरेका हुन् । आयोगले प्रतिवेदन सोमबार अनुमोदन गरिसकेको छ ।
प्रतिवेदनका अनुसार भारतीय सुरक्षाकर्मीले बर्दियाका हर्कबहादुर शाहीलाई २०६७ फागुन र राममिलन लोधलाई २०६९ फागुनमा नियन्त्रणमा लिएका थिए । दुवैको अवस्था अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । आयोगले भारतसित राजनीतिक तथा कूटनीतिक तहमा सार्थक वार्ता गरी दुवै जनाको स्थिति तत्काल सार्वजनिक गर्न लगाउन र पीडित परिवारलाई भारतीय सरकारबाट उचित राहत दिलाउन सरकारलाई निर्देशन दिएको छ ।
प्रतिवेदनमा सीमा क्षेत्रमा नेपाली सेना र सशस्त्र प्रहरीको उपस्थिति बढाई भारतीय सुरक्षाकर्मीबाट नेपाली नागरिक पक्राउ पर्ने, मारिने र बेपत्ता पारिने अवस्था अन्त्य गरी सुरक्षाको पूर्ण प्रत्याभूति दिनसमेत सरकारलाई सिफारिस गरिएको छ । आयोगले सरकारलाई सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको मर्यादित जीवन जिउन पाउने अधिकार सुनिश्चित गर्न भारतसित सार्थक र प्रभावकारी कूटनीतिक पहल अघि बढाउन पनि भनेको छ । -कान्तिपुर दैनिकवाट

प्रतिक्रियाहरु