‘भारतका कारण तरार्इमा बाढी र डुवान ‘

२०७३ श्रावण १४ गते, शुक्रबार

काठमाडौ, १४ साउन । नेकपा माओवादीले भारतले बाँधेको बाँधका कारण तराइ डुबानमा परेको बताएको छ । माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विहीबार विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् । उनले भारतले अन्तर्राष्ट्रिय मान्यता विपरित नेपालको सीमा नजिकबाट बाँधको काम गर्ने गरी बनाएको ८ मिटर अग्लो पक्कि बाटोको कारण तराईका भूभागहरु डुबानमा परेको भन्दै उनले त्यसका विरुद्ध संघर्ष गर्ने चेतावनीसमेत दिएका छन् ।
महासचिव विप्लवले केही दिनयता परेको अविरल वर्षापछि तराईमा भएको डुबानको मुख्य कारण नै भारतले भारतले बाँधेको बाँध भएको भन्दै तत्काल कुटनीतिक पहल गरी खोल्न सरकारसँग माग समेत गरेका छन् । ‘तराईमा भारतले निर्माण गरेको बाटो र बाँधका कारणले भएको डुवानको समस्यालाई समाधान गर्न कुटनैतिक पहल गरी पानी खोल्ने व्यवस्था गरियोस् । अन्यथा जनताले संघर्षको बाटो अपनाउनु पर्नेछ,’– विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ । भारतले एकलौटी रुपमा १४ वटा बाँध र तटबन्धहरु निमार्ण गरेको देखिएको माओवादीले जनाएको छ ।
महासचिव विप्लवले बाढीपहिरो र डुवानबाट क्षति बेहोरेका जनतालाई यथाशिघ्र खाना, कपडालत्ता, बासको व्यवस्था गर्न र घाइते नागरिकहरुको छिटोभन्दाछिटो निशुल्क उपचारको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् । साथै उनले देशभरका आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुलाई बाढीपीडितको राहतमा जुट्न पनि निर्देशन पनि दिएका छन् । केही दिनदेखिको अविरल वर्षाका कारण अहिलेसम्म ८३ जनाको मृत्यु भइसकेको छ । प्युठानमा गएको पहिरोमा परि माओवादी नेता हरिबहादुर केसीको पनि मृत्यु भएको भन्दै विप्लवले समवेदना ब्यक्त गरेका छन् ।
माओवादीका महासचिव विप्लवले विहीबार जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – ” केही दिनयता लगातार भइरहेको भारी वर्षाको कारण देशव्यापी बाढीपहिरो जाँदा र डुवान हुँदा देशमा ठूलो जनधनको क्षति हुन पुगेको छ ।
हालसम्म ८३ जना नागरिकहरुको ज्यान गैसकेको छ । दर्जनौं बेपत्ता र सयौंं घाइते भएको अवस्था छ । बाढीले सयौं बिघा जमिन कटान गरेर करोडौंको क्षति गरेको छ । त्यसैगरी तराईका सीमावर्ती गाउँहरु पूर्वदेखि पश्चिमसम्म डुवानमा परेका छन् ।
बाढीबाट सवैभन्दा बढि क्षति प्युठान र राप्ती क्षेत्रमा भएको छ । ज्यान गुमाउने प्युठानका पाका कम्युनिष्ट नेता हरिबहादुर केसी सहित हुनुहुन्छ । स्मरण रहोस्, तराइमा भएको डुवानको मुख्यकारण भारतले अन्तर्राष्ट्रिय मान्यता विपरित नेपालको सीमा नजिकबाट बनाएको ८ मिटर अग्लो पक्कि बाटो–जसले सीमानामा एक प्रकारको बाँधको काम गरेको छ) र भारतले एकलौटी निमार्ण गरेको १४ वटा बाँध र तटबन्धहरु देखिएका छन् ।
बाढीपहिरो र डुवानबाट क्षति बेहोरेका जनतालाई यथाशिघ्र खाना, कपडालत्ता, बासको व्यवस्था गरियोस् भने, घाइते नागरिकहरुको छिटोभन्दाछिटो निशुल्क उपचारको व्यवस्था गरियोस् । तराईमा भारतले निर्माण गरेको बाटो र बाँधका कारणले भएको डुवानको समस्यालाई समाधान गर्न कुटनैतिक पहल गरी पानी खोल्ने व्यवस्था गरियोस् । अन्यथा जनताले संघर्षको बाटो अपनाउनु पर्नेछ ।
जनताको दुःखमा सेवामा डटने माओवादीको संस्कार हो । जनतालाई बाढीपहिरो र डुवानले दुःख दिइरहेकोले देशभरका हाम्रो पार्टी, जवस, मोर्चाका नेता र कार्यकर्ताहरु आ–आफ्नो क्षेत्रबाट अविलम्व राहत संकलन र जनसेवामा परिचालित हुन पनि निर्देशन गरिन्छ ।
अन्तमा बाढीपहिरो र डुवानमा परी ज्यान गुमाउनु हुने कमरेड हरीवहादुर केसी(बादल) सहित सम्पूर्ण नागरिकहरुप्रति पार्टी हार्दिक श्रद्धाञ्जली अर्पन गर्दछ । परिवारका सदस्य गुमाउनु भई मर्माहत हुनु भएका सवै नागरिकहरुप्रति गहिरो संवेदना व्यक्त गर्दछ । साथै घाइते जनहरुप्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
पार्टी जनताको दुःखमा हरतरहले सहयोगमा सहभागी हुने प्रतिवद्धता पनि व्यक्त गर्दछ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु