बौलाहा ट्राफिक – उमेश राई

२०७३ असार ५ गते, आईतवार

प्रदुषित सहरको धुवाँ र धुलोले जब बेस्मारी सताउँछ
मध्यान्नको तातो घामले बेस्मारी बेस्मारी तताउँछ
अनि
बेलाबेलामा चोकको त्यो ट्राफिक पुलिस बौलाउँछ
यहि बाटोमा बुलेट बाईक चढेर
जमिनै भत्किलाझैँ आवाज गर्दै
दोस्रो लटको जवानी सम्हाल्दै
सोर्ह बर्षे नवयौवना चिप्काएर हुईकिन्छ्न्
दोस्रो लटको जवानी सङ्गाल्दै गरेको
बज्जिया चालिसे बुढा तन्नेरी हरु
र मन जल्छ
छाती पोल्छ
अनि बेलाबेलामा उ होस गुमाउँछ
त्यसैले त्यो चोकको ट्राफिक बौलाउँछ ।
छि यो हात!
छि यो खुट्टा !!
छि यो आँखा !!!
छि यो अनुहार !
छि मेरो ब्याबहर !!
छि मैले खाको जगिर !!!
छि छि छि छि गर्दै आफै सङ्ग रिसाउछ
अनि त्यो चोकको ट्राफिक बेलाबेला बौलाउँछ ।
यहि बाटो बएर
देशको झण्डा हल्लाउँदै
महङ्गो गाडिमा सयर गर्छन् देश बेच्ने रानैतिक दलालहरु
मनले गोलि हान्नु चाहे पनि सलाम हान्नु पर्ने
घुस र कमिसनको भेटीले
पुटुक्क परेको किर्ने भुँडी फुलाएर
बेला बखत आउँछ्न् जान्छन्
सिनियर साँप जस्तै साहपहरु
खुट्टा बजार्नै पर्ने सलाम हान्नै पर्ने ।
फेरि जति गरे पनि पदोन्नति आफ्नो नहुने
यसैले उ सधै सधै आफुलाई धिक्कार्छ
र त्यो चोकको ट्राफिक पुलिस बौलाउँछ ।
स्टप….गो! / स्टप , गो !
लेफ्ट…… राइट ! लेफ्ट, राइट !!
गर्दै उभिनु पर्ने चोक सङ्गै
एउटा ठूलो खाल्डो हुन्थ्यो भने
कतिलाई झार्थ्यो होला त्यो खाल्डोमा
किनकि यहि बाटो भएर आँखै सामु हुईकिन्छ्न्
चोर हरु…
डन हरु….
भ्रष्टाचारीहरु
ब्याभिचारीहरु
दुई नम्बरीहरु
र उसैले मिलाईदिनु पर्ने
सबै सबैलाई हिड्ने तालिकाहरु
र त उस्को दिमाग खल्बलिन्छ
अनि त्यो चोकको ट्राफिल बौलाउँछ ।
वातानुकुलित कार चढेर
अघि मात्र सरसराउदै गयिन्
औधी माया दिएकी
उस्को भुतपुर्व प्रेमिका
जो नामुद प्लटिङ वाला सङ्ग घरजम गरेकी छिन्
उ भने
रोक र जाउ को सङ्केत दिदै जीवन गुजारी रहेछ
खाएको जागिर टोक्नु न बोक्नु भा छ ।
बिहानै हिड्ने बेलामा जैलेनी बुढिया गनगन गर्छ
कैले चामल,दाल सकेको छ
कैले नुन तेल सकेको छ
कैले बच्चाको फिस भर्ने बिल आको छ
कैले लुगा फाटो फाटेको छ ।
हुँदा हुँदा अब त
ए बुढा तिम्रो जागिरले जीवन नचल्ने रहेछ
अब यस्तै हो भने म पनि कुवेत वा दुबाई तिर जन्छु भन्ने धम्की आको छ ।
यसैले मित्र चोकको ट्राफिक बेलाबेलामा बौलाउँछ ।
तर बिडम्बना !
उ हिसाब किताब सङ्ग बौलाउँछ
महङ्गो बाईकवालालाई छुन सक्दैन
चिल्ला गाडीवाला सङ्ग बोल्न सक्दैन
मनकै शान्ती र एक थ्याङ्क्यु भरी मुस्कानको लागि पनि
लाईसेन्स बिहिन सुन्दरी स्कुटीवालालाई समात्न सक्दैन
उस्को सिकार रिक्सा तान्ने
लाले राई हुन सक्छ
साने दमै हुन सक्छ
ठेलामा आईसकृम बेच्ने
रामजनम वा माझिलाल हुन सक्छ
वा उस्को सिकार
अरु कोहि तलतलकै मान्छे हुने गर्छ ।
यस्तै यस्तै कारण भित्रको थुप्रै कारणमा जेलिएर
त्यो ट्राफिक चोकको ट्राफिक बेला बेला बहुलाउने गर्छ।
ए साना मान्छे हो जोगिनु है
त्यो चोकको ट्राफिक बौलाउने गर्छ ।

प्रतिक्रियाहरु