बीउ भण्डार बैंक !

२०७४ जेष्ठ ९ गते, मंगलवार

काठमाडौं, ९ जेठ । विश्वमा वित्तीय कारोबारका लागि अनेक प्रकारका बैंक छन् तर एउटा यस्तो बैंक छ, जहाँ अनौठो कारोबार हुन्छ । उत्तरी ध्रुव नजिकै एउटा यस्तो बैंक खोलिएको छ, जहाँ हरेक राष्ट्रले आफ्नो खाता खोल्न सक्छन् । तर सो बैंकमा नगद वा जिन्सीको कारोबार भने हुँदैन । उक्त बैंकमा अन्नका बीउमात्र जम्मा गरिन्छ । जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, युद्धजस्ता कारणले बाली नष्ट भएमा उत्पन्न हुन सक्ने भोकमरी र खाद्य संकटलाई मध्यनजर गर्दै सन् २००८ मा नयाँ उपाय अपनाइएको हो । त्यस्तो विपतको अवस्थामा अन्नका बीउ सुरक्षित राख्न सकियोस् भन्ने हेतुले निकै सुरक्षित तरिकाले बैंक निर्माण गरिएको छ । ‘डुम्सडे’ नाम दिइएको यो बैंकमा विश्वकै प्रमुख खाद्यान्नको बीउ भण्डार गरिन्छ ।
जमिनबाट एक सय २० मिटर तल बैंकको भण्डार कक्ष बनाइएको छ । बुलेटप्रुफ ढोका भएको यो भण्डारलाई कुनै पनि क्षेप्यास्त्रले नष्ट गर्न सक्दैन ।परमाणु युद्ध, महाहारी, प्रलयजस्ता स्थितिमा पनि पुनः अन्नबालीको खेती गर्न सकियोस् भन्ने उद्देश्यले प्रमुख बालीको बीउ भण्डारण गर्न लागिएको हो । विश्वका करिब सबै देशले यो बैंकमा प्रमुख बालीको बीउ भण्डारण गरेका छन् ।यो बैंक निर्माणमा गेट्स फाउन्डेसन र अन्य देशहरुका अतिरिक्त नर्वे सरकारले आर्थिक सहयोग गरेको छ । पडाड मुनी करिब ४ सय फिट लामो टनेल बनाइएको छ, जसलाई हिउँले ढाकेको छ । विद्युत आपूर्ति नभएको अवस्थामा समेत भण्डार गरिएको बीउ नबिग्रियोस् भन्नेमा विशेष सतर्कता अपनाइएको छ ।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार यो बैंकमा ८ लाख ६० हजारभन्दा बढी प्रकारका बीउ भण्डारण गरिएको छ । आफ्नो मुलुकमा हुने अन्नको बीउ भण्डार गर्न सम्बन्धित मुलुकले एउटा सम्झौतामा हस्ताक्षर गर्नुपर्ने हुन्छ ।
यसरी भण्डार गरिएको बीउमा नर्वेको कुनै प्रकारको हक नरहने पनि सम्झौतामा प्रष्ट उल्लेख हुन्छ । सोही बैंकका कर्मचारीबाहेक अमेरिकी सांसदका अतिरिक्त संयुक्त राष्ट्र संघका महासचिवमात्र यो बैंकमा जान पाउँछन् ।

प्रतिक्रियाहरु