बन्चरे काका – बलराम तिमल्सिना

२०७६ माघ १४ गते, मंगलवार

तिमीलाई अनौठो लाग्दै होला
यो समयको रमिता देखेर
अनौठो नमान काका
यो अलि बेग्लै खाले समय हो !

यो समय
चोरहरूको सभाले साधुहरूलाई
समाज वहिस्कार गरेको समय हो !

यो समय
भ्रष्टहरूको अदालतले स्वच्छहरूलाई
प्रवेश निषेध घोषणा गरेको समय हो !

यो समय
हत्याराहरूले
सुरक्षाको ठेक्का लिएको समय हो ।

यो समय
दलालहरूले देश चलाएको
र देशभक्तहरूले देश हेरेको समय हो !

बन्चरे काका !
भोलि बिहान राजधानीको फोहोरले
ट्रकमा चढ्न अस्विकार गर्न सक्छ
र भन्न सक्छ-
‘राजधानीलाई नै लैजाऊ उठाएर
डम्पिङ साइटमा मिल्काइदेऊ
तर फोहोर डेग चल्ने छैन !’

पर्सि बिहान
कुइरे अनुहारको मान्छे आएर
भन्न सक्छ हामीलाई –
‘ देश अव हामीले लिजमा लिएका छौं
तिमीहरूलाई देश छोड्ने आदेश छ !’

बन्चरे काका
समियाँ साल निको छैन
यो अलि बेग्लै खाले समय हो !

बन्चरे काका !
माथ्ला घरेको छोरो भन्दै थियो रे –
‘बा, कोक दिने गाई किनेर ल्याउँनू न
दूध त कस्तो खल्लो लाग्छ ! ‘

पल्ला घरेकी छोरी भन्दै थिइन रे-
आमा , चाउचाऊ फल्ने विरुवा रोप्नु न
मकै भटमास त कस्तो नमिठो हुन्छ ! ‘

घर घरमै उल्टो हावा चल्दै छ अचेल
हरेक निजी स्कुलहरू
नानी- बाबुहरूलाई घोकाइरहेछन-
‘ अमेरिका इज ड्रिम कन्ट्री !
नेपाल इज फेक कन्ट्री !’

बन्चरे काका !
हामीले फेर्ने सास , पिउँने पानी
हामीले खाने खाना , बच्चाले पढ्ने पढाई
मोवाइलमा देखिने रमझम
ती केही पनि निखना छैनन् !

रुखमा स्याऊ फलेन भनेर नरिसाऊ काका
हामीले रोपेको बिरुवा नै स्याऊको थिएन !

बन्चरे काका !
यो समय
चिहानबाट व्युतिएर मुर्दाहरूले
हामीलाई मुर्दा घोषणा गरेको समय हो !

आफूलाई
मुर्दा प्रमाणित गरिनबाट बचाउँन
मुर्दाहरूका विरुध्द
एउटा जुलुस गर्नु छ भोलि
तपाई बन्चरोसहित आउँनू है काका !

प्रतिक्रियाहरु