फोहरबाट ग्यास निकालिने

२०७५ मंसिर ४ गते, मंगलवार

काठमाडौं, ४ मङ्सिर । घोराही उपमहानगरपालिकाले फोहरबाट ग्यास उत्पादन गर्न निजी कम्पनीलाई जिम्मा दिएको छ । एक वर्षपछि ग्यास उत्पादन गर्नेगरी उक्त उपमहानगरपालिकाले नेपाल ऊर्जा विकास कम्पनी प्रालिलाई २० वर्षसम्मका लागि जिम्मा दिएको हो । दुई वर्ष लामो गृहकार्यपछि उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र उक्त कम्पनीबीच सोमबार त्रिपक्षीय सम्झौता भएको हो ।
उपमहानगरका प्रमुख नरुलाल चौधरी, कम्पनीका निर्देशक श्रीराम अधिकारी र केन्द्रका कार्यक्रम व्यवस्थापक प्रकाश आर्यालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । रु २० करोडको लागतमा स्थापना हुने उक्त ग्यास उद्योगका लागि ६० प्रतिशत निजी कम्पनी र ४० प्रतिशत विश्व बैंकले व्यहोर्ने भएको छ ।
घोराही उपमहानगरपालिका–१६, करौटीडाँडामा रहेको ‘ल्यान्डफिल साइट’मै उक्त ग्यास उद्योग स्थापना गरिने भएको छ । अबलगत्तै निर्माण प्रक्रिया थालिने र १४ महिनापछि ग्यास उत्पादन गरिने उक्त कम्पनीले जनाएको छ । उपमहानगरपालिका क्षेत्रबाट संकलित कुहिने फोहरबाट दैनिक एक हजार ३०० किलो ग्यास र ६ टन जैविक मल उत्पादन गरिने भएको छ । उत्पादन थालेको पाँच वर्षसम्म उपमहानगरपालिकाले फोहर संकलन तथा ढुवानीमा सहयोग गर्नुपर्ने र २० वर्षपछि उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । उत्पादनपछि कुल उत्पादनको एक प्रतिशत रकम उपमहानगरलाई बुझाउनुपर्ने र थप रकमका लागि पाँच वर्षपछि छलफलका आधारमा निर्धारण गरिने भएको छ । तत्कालीन घोराही नगरपालिकाले करिब तीन वर्षपहिलेदेखि निजी कम्पनीसँगको समन्वयमा उक्त प्रक्रिया अघि बढाएको थियो । -रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु