फागुन १४ गते आम शैक्षिक हड्ताल

२०७६ फाल्गुन १३ गते, मंगलवार

काठमाडौं, १३ फागुन । अखिल (क्रान्तिकारी) फागुन १४ गते आम शैक्षिक हड्ताल आह्वान गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) माथि प्रहरी चर्को दमन गर्दै उसका नेताहरु गिरफ्तार गर्दै झुठा मुद्दामा फसाउने षड्यन्त्र भएपछि सो संगठनले फागुन १४ गते आम शैक्षिक हड्तालसहितका संघर्षको घोषणा गरेको हो । संघर्षका कार्यक्रमहरुअन्तर्गत आज फागुन १३ गते मशाल जुलुश र फागुन १४ गते आम शैक्षिक हड्ताल गर्ने रहेको छ ।
यस बिषयमा अखिल (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष रुद्र भट्टराईद्वारा बिज्ञप्ती यस प्रकार रहेको छ– ‘देशमा वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको स्थापना र जनताको वास्तविक अर्थको राज्य व्यवस्था, वैज्ञानिक समाजवाद स्थापनाको आन्दोलनमा अनवरत रहेको हाम्रो संगठनका केन्द्रीय अध्यक्ष क. चिरन्जीवि ढकाललाई केपी ओलीको सामाजिक दलाल सरकारले २५ औँ जनयुद्ध दिवसको काठमाडौँ कार्यक्रमबाट गैरन्यायिक रुपमा गिरप्तार गरी अभद्र व्यवहार जस्तो झुट्टा मुद्दा लगाई राजनैतिक आस्थाको आधारमा बन्दी बनाइरहेको छ । केपी मण्डलीको यो हर्कतले उनीहरुको जनविरोधी एवं फासीवादी मुकुण्डो उत्रिएको छ र आफ्नो सन्निकट अवसान रोक्न उसले हत्या, हिंसा, राज्य आतंक, धरपकड, गिरप्तारी, यातना एवं झुट्टा मुद्दाहरुको प्रयोग गरिरहेको स्पष्ट भएको छ । केपी सरकारले वाक् स्वतन्त्रता र युवा विद्यार्थीहरुको शान्तिपूर्ण रुपमा शैक्षिक संस्थाहरुमा गएर पढ्न पाउने अधिकारलाई समेत कुण्ठित गरी विद्यार्थीहरुलाई शैक्षिक संस्थाहरुमा अध्ययन गरिरहेको अवस्थामा समेत गिरप्तार गरिरहेको छ । उसलाई अवगत हुनुपर्दछ कि विद्यार्थी र युवाहरुहको अग्रगामी विचार, आन्दोलन र मागहरु एवं फासीवादको अन्त्यलाई संसारको कुनै पनि तानाशाहको सत्ताको बन्दुक, बुट र हिरासतले रोक्न र थुन्न सकेको छैन ।
१० वर्षे महान् जनयुद्धको वार्षिकोत्सवको कार्यक्रमबाट गिरप्तार गरिनु एवं हाम्रो संगठन त्रिविको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा देशव्यापी अग्रसर रहेको अवस्थामा भएको अध्यक्ष कमरेडको गिरप्तारीबाट केपी सरकार र रामबहादुर गृह प्रशासन आततायी, अराजनैतिक, असहिष्णु एवं घोर फासीवादी रहेको विषय सर्वाङ्ग भएको छ । तसर्थ, संगठनका अध्यक्षलगायत देशैभरि दलाल फासीवादी सरकारद्वारा गैरन्यायिक रुपमा गिरप्तार गरिएका सबै विद्यार्थी नेता कार्यकर्ताहरुको विना सर्त तत्काल रिहाईको माग गर्दै निम्न संघर्षका कार्यक्रमहरु घोषणा गर्दछौँ ।
संघर्षका कार्यक्रमहरु
१) ०७६ फागुन ४, ५ र ६ गते प्रचार–प्रचार (सामाजिक संजाल, व्यानर, फोटोसहितको पोष्टर, वालिङ्ग लगायत)
२) ०७६ फागुन ७ गते ज्ञापन पत्र पेश (त्रिवि, त्रिविका आंगिक क्याम्पसहरु, प्रजिअ र अन्य शैक्षिक संस्थाहरुमा)
३) ०७६ फागुन ८ गते कोणसभा (सबै शैक्षिक संस्थाहरुमा)
४) ०७६ फागुन ११ गते अन्तरक्रिया (विषयः– अखिल (क्रान्तिकारी¬¬) माथिको प्रतिवन्द र स्ववियू)
५) ०७६ फागुन १२ गते विरोध प्रदर्शन (सवै क्याम्पसहरुमा) र त्रिवि प्रशासनमा तालावन्दी
६) ०७६ फागुन १३ गते मशाल जुलुस
७) ०७६ फागुन १४ गते आम शैक्षिक हड्ताल”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु