प्रहरीविरुद्ध ‘पक्राउ पुर्जी’ जारी !

२०७६ श्रावण १८ गते, शनिबार

काठमाडौं, १८ साउन । नेपाल कम्युनिस्ट पार्टीले प्रहरीविरुद्ध ‘पक्राउ पुर्जी’ जारी गरेको छ । सो पार्टीको कैलाली जनअदालतले राष्ट्रिय अनुसन्धान विभागका एक असईलाई ‘पक्राउ पुर्जी’ जारी गरेको हो। जनअदालत प्रमुख विकासको नामबाट शुक्रबार जारी भएको पक्राउ पुर्जीमा राष्ट्रिय अनुसनधान विभागका असई भैरव कुँवरलाई ‘२५ दिनभित्र उपस्थित हुन’ भनिएको छ। कुँवरको घर आसपास सार्वजनिक स्थानहरू टाँसिएको उक्त पुर्जीमा लेखिएको छ– ‘कैलालीको वर्दगोरीया गाउँपालिका–१ साझा भन्ने ठाउँमा बस्ने नवराज कुँवरका छोरा भैरव कुँवरलाई २५ दिनभित्र जनअदालतमा उपस्थित हुन पक्राउ पुर्जी जारी गरिएको हो।’
अनुसन्धान विभागमा असई पदमा कार्यरत कुँवरमाथि नेकपाका नेता कार्यकर्ताको सुराकी, अपहरण र ज्यान मार्ने उद्योग गरेको आरोप लगाइएको छ। ‘बाटोका म्यादबाहेक २५ दिनभित्र आफैं वा पक्राउ पुर्जी बमोजिम पक्राउ परी यस अदालतमा हाजिर हुन आउनु होला’, उक्त पुर्जीमा उल्लेख छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु