प्रदेश प्रमुख संविधानभन्दा माथि !

२०७४ माघ ६ गते, शनिबार

काठमाडौँ, ६ माघ । गतबुधबारको मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेका प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश नम्बर १ का प्रमुख गोविन्द सुब्बा, प्रदेश नम्बर २ का रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर ३ का अनुराधा कोइराला, प्रदेश नम्बर ४ का बाबुराम कुँवर तथा प्रदेश नम्बर ५ का उमाकान्त झा, प्रदेश नम्बर ६ का दुर्गा खनाल र ७ का मोहनराज मल्लले शुक्रबार अपरान्ह राष्ट्रपतिबाट शपथ लिएका हुन् । संविधानमा प्रदेश प्रमुखलाई संविधानभन्दा माथि राखिएको छ । प्रदेश प्रमुखलाई कुनै पनि कानुनले छुने छैन । उनीहरुले पदमा रहँदासम्म जस्तो कार्य गरेपनि कुनै अदालतमा प्रश्न गर्न पाइने छैन । राष्ट्रपतिलाई झैं प्रदेश प्रमुखलाई पदमा रहँदा गरेका कुनैपनि कामहरुलाई लिएर अदालतमा जाने नपाइने कानुन बनाएको छ । संविधानको धारा १६५ मा प्रदेश प्रमुखको पद रिक्त रहने व्यवस्था गरेको छ । निजले राजिनामा दिएमा, मृत्यु भएमा, पदावधि समाप्त भएमा र राष्ट्रपतिले पदमुक्त गरेमा प्रदेश प्रमुख हट्न सक्ने व्यवस्था छ । नयाँ बन्ने एमाले र माकेको सरकारमा राष्ट्रपति पनि उनीहरुकै हुने देखाएको छ । त्यसैले अहिलेका प्रदेश प्रमुखलाई राष्ट्रपतिले पदमुक्त गर्न सक्ने सम्भावना रहेको छ । त्यस्तै संविधानको धारा १६६ मा प्रदेश प्रमुखका काम र अधिकारबारे व्यवस्था गरिएको छ । प्रदेश प्रमुखले गर्न जुनसुकै कार्य प्रदेश मन्त्रिपरिषद्को सिफारिसबाट हुने छन् । त्यस्तो रिफारिस मुख्यमन्त्रीबाट हुनेछ ।
प्रदेश प्रमुखले मासिक १ लाख ४ हजार रुपैयाँ तलब पाउँनेछन् । जसमध्ये ४० हजार रुपैयाँ अतिथि सत्कार र भैपरी खर्च हुनेछ । अतिथि सत्कार र भैपरी खर्चका रुपमा उपलब्ध गराइने ४० हजार रुपैयाँको बिल भरपाइ पेश गर्नु नपर्ने व्यवस्था छ । पारिश्रमिकको रुपमा छुट्टै प्राप्त हुने भने ६४ हजार रुपैयाँ हो । यसबाहेक वर्षमा १८ हजार रुपैयाँ पोशाक सुविधा पनि उपलब्ध हुनेछ । प्रदेश प्रमुखले स्वदेशमा भ्रमण गर्दा दैनिक ३ हजार भत्ता पाउने छन् भने विदेशमा भ्रमण गर्दा दैनिक २५० अमेरिकी डलर पाउने छन् । युरोपियन मुलुकहरु, अस्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका, क्यानडा, कुवेत, कोरिया, जापान, हङकङ, रुस, कतार, जाम्बिया, युएई, सिंगापुर, लेबनान, बहराइनको भ्रमण गर्दा ३३ प्रतिशत थप रकम दिने व्यवस्था ऐनमा छ । प्रदेश प्रमुखले आफ्नो पदीय हैसियतले सम्पादन गरेका कामकारबाहीको विषयमा निज पदमा रहँदा वा सेवानिवृत्त भएपछि निज उपर कुनै अदालतमा मुद्दा नचलाउने व्यवस्था पनि ऐनमा गरिएको छ । त्यसैगरी प्रदेश प्रमुखले विदेशमा उपचार गराउँदा लाग्ने खर्च नेपाल सरकारले व्यहोर्नेछ ।
लामो समयको घम्साघम्सी, धक्काधक्की र घोचपेचपछि नियुक्त भएका प्रदेश प्रमुख काँग्रेसका निकटका छन् । सरकारले सबै प्रदेश प्रमुखमा नेपाली काँग्रेसको राजनीतिमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लागेकालाई नै नियुक्त गरेको छ । प्रदेश १ को प्रमुख डा.गोविन्द तुम्बाहाङ (सुब्बा) पूर्वमा कम्युनिस्ट राजनीतिको प्रभावबाट राजनीतिमा आएका हुन् । उनले नेकपा मालेको विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका हुन् । तर, बहुदल आएपछि सुब्बा नेपाली काँग्रेसमा प्रवेश गरे । प्राध्यापन पेश छोडेर सुब्बा २०४९ सालको स्थानीय चुनावमा धरानको मेयरमा चुनाव लडे । नेपाली काँग्रेसबाट उम्मेदवार बनेका सुब्बाले २२५ भोटले पराजित भएका थिए । चुनाव हारेपछि पुनः प्राध्यापनमै फर्किएका थिए । प्राध्यापनसँगै नेपाली काँग्रेसमा सक्रिय थिए उनी । शिक्षाको हिसाबले विद्यावारिधी र पेशको हिसाबले प्राध्यापन तर सुब्बा राजनीतिक चेतनाको हिसाबले रुढीवादी नै भएको नेपाली काँग्रेसको युवा पुस्ताले आरोप लगाउँदै आएको छ ।
प्रदेश २ को प्रमुख रत्नेश्वर लाल कायस्थ मधेसी दलमा आवद्ध छन् । पूर्वप्रशासक कायस्थ फोरमका सचिव पनि हुन् । उनी पनि नेपाली काँग्रेसका समर्थक हुन् । कर्मचारी सेवामा हुँदा काँग्रेसकै नेताहरुले भनेअनुसार नै काम गर्ने गरेको प्रशासन क्षेत्रबाट आरोप लाग्दै आएको छ । मधेसी दलको आधार नै काँग्रेस र माओवादी हो । माओवादी राजनीति छोडेर मधेसपछि पसेपछि काँग्रेसको ठूलो टीम त्यसैको पछिपछि लागेको घटना त हिजै हो । मधेसमा प्रभाव जमाएका नेताहरु काँग्रेसकै राजनीतिबाट आएका हुन् । सुरुदेखि मधेसको मुद्दा उठाउँदै आएका गजेन्द्रनारायण्का सिंहले उत्पादन गरेको पुस्ताको अस्तित्व नै सकिएको छ । कायस्थ फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको सिफरिसमा नियुक्त भएपनि उनको राजनीतिक धरातल काँग्रेस नै हो ।
३ नम्बर प्रदेश प्रमुखमा माइती नेपालको स्थापना गरेर महिलाको क्षेत्रमा काम गरेर नाम कमाएकी अनुराधा कोइराला नियुक्त भएकी छन् । उनी पनि विवादरहित हुन सकिनन् । उनको जन्म र नागरिकताबारे केही सामाजिक संजाल र मिडियाहरुमा विभिन्न प्रश्न उठाइएका छन् । अनुराधा भारतमा जन्मिएको र विवादपछि नेपाली नागरिकता लिएको भन्दै समाचारहरु आएसँगै नागरिकता सार्वजनिक भयो । नागरिकतामा जन्मस्थान ओखलढुंगा भनिएको छ तर माइती नेपालको आधिकारिक साइटमा भारत उल्लेख छ । वायोग्राफीमा अनुराधा भारत जन्मेको भन्नेछ । नेतृ सरिता गिरीले अनुराधा भारतको दाजिर्लिङकी भएको र विवाह गरेपछि नेपाली भएको दाबी गरेकी छन् । गिरीले अनुराधाले अंगिकृत नागरिक भएको समेत बताएकी छन् । तर नागरिकता वंशजको आधारमा लिएको देखिन्छ । गुरुङकी छोरी अनुराधा कोइरालासँग विवाह गरेकी हुन् । सन् २०१० मा सीएनएन हिरो समेत भएकी उनले भारत सरकारबाट पद्मश्री सम्मानसमेत पाएकी अनुराधा चुनावको काँग्रेसमा प्रवेश गरेकी हुन् । अनुराधाले जति पुरस्कार पाएपनि राजनीतिबारे ज्ञान पटक्कै छैन । राज्य व्यवस्था संचालनबारे ज्ञान नहुँदा आरुले उपयोग गर्ने र कहिले मुडेबलको प्रयोग गर्ने सम्भावना हुन्छ ।
४ नम्बर प्रदेश प्रमुख पूर्वमहान्यायाधिवक्ता बाबुराम कुँवर कट्टर काँग्रेसी हुन् । काँग्रेस निकट कानुन व्यवसायीहरुको छाता संगठन डेमोक्रेटिल लयर्स एशोसिएसनको अध्यक्ष भइसकेका काँग्रेसको राजनीतिमा सक्रिय छन् । उनी सुशील कोइराला नेतृत्वको सरकारको पालामा महान्यायाधिवक्ता बनेका थिए । कानुनीका जानकार भएपनि राजनीतिक रुपमा कुँवर पनि रुढीवादी नै भएको आरोप काँग्रेस निकट कानुन व्यवसायीहरु नै बताउँछन् ।
५ नम्बर प्रदेश प्रमुख उमाकान्त झा पूर्वसचिव हुन् । उनी पनि नेपाली काँग्रेसका पुराना समर्थक हुन् । सिंहदरबारको कुर्सीमा हुँदा काँग्रेस सरकारलाई सहयोग गर्दै आएका झा ५ नम्बर प्रदेशका प्रमुखमा नियुक्त भएका छन् । झा राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका सम्धी हुन् । खिलराज रेग्मी नेतृत्वको सरकारमा झा मन्त्री भएका थिए । त्यतिबेला पनि काँग्रेसको सिफारिस र ठाकुरको साथ पाएका थिए । झालाई पूर्वाग्राही प्रशासकको रुपमा हेरिन्छ । शक्तिमा खेल्न रुचाउने झाले नेता र मन्त्रीहरुसँग मिलेर धेरै कर्मचारीलाई दुःख दिएको आरोप पनि छ ।
त्यसैगरी प्रदेश ६ को प्रमुखमा दुर्गाकेशर खनाल नियुक्त भएका छन् । खनाल सुर्खेत काँग्रेसका पुराना नेता हुन् । उनीसँगैका नेताहरुले केन्द्रीय राजनीतिमा पहुँच बनाएपनि पुरानै सोँच र शैलीका कारण खनाल हराएका थिए । नेपाली काँग्रेसको लागि धेरै पसिना बगाएपनि रुढीवादी चिन्तनका कारण पछि परेको काँग्रेस वृतमा चर्चा चल्ने गर्छ ।
र, प्रदेश नम्बर ७ को प्रमुखमा पूर्व पञ्च नियुक्त भएका छन् । पूर्व राष्ट्रिय पञ्चायत सदस्य मोहनराज मल्ल समयअघि मात्र काँग्रेसमा प्रवेश गरेका थिए । देश गणतन्त्रमा पुगेपनि मल्लको सोच्नेशैली पनि पञ्चायतकालिन नै छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु