पौडेलको हत्या: सरकारको नियतमाथि सत्तापक्षकै शंका

२०७६ असार ६ गते, शुक्रबार

काठमाडौँ , ६ असार । नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेपछि सत्ताघटक दलका नेता एवं सांसदले दोहोरो भिडन्त नभई प्रहरीले ‘नियतवश हत्या गरेको’ भन्दै आपत्ति जनाएका छन् । प्रहरीले दोहोरो भिडन्त भएको विश्वासिलो प्रमाण पेस गर्न नसकेको र घटनाको प्रकृतिले पनि ‘भिडन्त नभई हत्या’ भएको भन्दै चौतर्फी रुपमा बिरोध भइरहेको छ । स्थानीयसँगै आमनागरिकले पनि पौडेलको मृत्यु दोहोरो भिडन्तमा भएको कुरा पत्याएका छैनन् ।
उक्त घटनामा प्रहरीको नियतमाथि शंका गर्दै सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य मणि थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही समययता सुरक्षा निकाय आक्रामक देखिएको छ । जुन राम्रो होइन ।’
त्यस्तै, सत्तारुढ दल नेकपाकी सांसद अञ्जना विसंखेले प्रश्न गरेकी छन्, ‘राजनीतिक नेतालाई भिडन्तको नाममा हत्या गर्नुको पछाडि कसको स्वार्थले काम गर्याे ?’
सत्तारुढ दलका सांसद शिवकुमार मण्डलले सर्लाहीको लालबन्दीमा सरकारले नेकपा (विप्लव)का कार्यकर्तालाई भिडन्तको बहानामा हत्या गरेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा सांसद मण्डलले भने, ‘निःशस्त्र व्यक्तिलाई मार्ने कुराले राज्यमाथि गम्भीर प्रश्न उठेको छ ।’
अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले घटनालगत्तै फेसबुकमा स्टाटस लेखे– ‘सर्लाहीमा भिडन्त भएको हो कि होइन सरकार ?’ उनले स्टाटसमा सर्लाही घटनाको न्यायिक छानविन गर्न माग गर्दै अझ कडा शब्दमा लेखे– यो संघीय गणतन्त्र नेपालको नेकपा सरकार हो । यो बेला कही–कोही भिडन्तका नाममा हत्या गरिनु हुदैन ।’ उनले फेसबुकमा लेखेको स्टाटस यस्तो छ– ‘सर्लाहीमा भिडन्त भएको होकि होईन ? सरकार †† यो संघीय गणतन्त्र नेपालको नेकपा सरकार हो, यो बेला कहि कोही भिडन्तका नाममा हत्या गरिनु हुँदैन । कानुन हातमा लिएका,गलत बाटो हिडेका सबैलाई सरकारले सहि बाटोमा ल्याउने प्रयास गर्नु पर्छ । सर्लाही घटनाको न्यायिक छानबिन गरिनु पर्छ ।’’
अनेरास्ववियुकै अर्का नेता आरती लामाले दोहोरो भिडन्तको नाममा कुमार पौडेलको हत्या भएको बताएको छ । सर्लाही नै घर भएका नेता लामाले फेसबुक स्टाटस लेखेका छन्– अपराधी होइन, दोहोरो भिडन्तको नाममा एकजना राजनैतिक ब्यक्तिको हत्या भएको छ । राजनैतिक समस्यालाई राजनितीक ढंगबाट समाधान गर सरकार । हार्दिक श्रद्धाञ्जली कुमारअन्कल ।
सामाजिक सञ्जाल फेसबुकमै पूर्वमाओवादी कमान्डर सरल सहयात्रीले लेखेका छन्, ‘सरकार ! कुण्ठा नपाल । रगतले शान्ति होइन, रक्तबिजकै काम गर्छ । हिजोकै भाषामा सुनिन थाल्यो । आज ‘फलानाे ठाउँको दोहोरो भिडन्तमा फलानाको मृत्यु, मृतकको साथबाट एक थान कुटुवा पेस्तोल र गोलीलगायतका सामग्री बरामद् ।’
त्यस्तै अनेरास्ववियुका अर्का नेता दीपेश पुनले दोहोरो भिडन्तको नाममा एकजना राजनीतिक व्यक्तिको हत्या भएको बताएका छन् । उनले स्टाटसमा लेखेका छन्– ‘दोहोरो भिडन्तको नाममा एकजना राजनैतिक ब्यक्तिको हत्या भएको छ । राजनैतिक समस्यालाई राजनितीक ढंगबाट समाधान गर सरकार ।’
त्यसैगरी, अनुरास्ववियुका अर्का नेता सुरेन्द्र बस्नेतले सरकार र विप्लव दुर्वलाई सुझावसहित राजनीतिक समाधान खोज्न आग्रह गरेका छन् । संघीय गणतन्त्र नेपालको संविधानका कुनै पनि धारा अपरिवर्तनीय नरहेको भन्दै नेता बस्नेतले भनेका छन्, ‘आउनुस् परिवर्तन यहीवाट खोजौं।’ सरकारलाई सुझाव दिँदै उनले ‘राजनीतिक समस्याको समाधान दमनबाट हैन, राजनीतिक रुपमै खोजौं’ भनेका छन् ।
त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद मीना पाण्डेले पौडेललाई प्रहरीले हत्या गरेको बताएकी छन् । ‘कुमार पौडेललाई प्रहरीले समाएर हत्या गरेको छ,’ उनले भनिन्, ‘जुन गम्भीर मानवअधिकार उल्लंघन हो ।’
यसरी ‘सर्लाही इन्काउन्टर’मा प्रहरीसँगै सरकारको नियतमाथि गम्भीर प्रश्न उठेको छ । कतै मुलुक फेरि द्वन्द्वको चपेटामा फस्ने त होइन भन्नेमा नागरिक चिन्तित छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु