पेट्रोलका लागि लाइनमा नबस : आयल निगम

२०७२ कार्तिक २३ गते, सोमबार

काठमाडौं, २३ कार्तिक । नेपाल आयल निगमले भोली दखि पेट्रोलका लागि लाइनमा नबस्न आग्रह गरेको छ । निगमका कार्यकारि निर्देशक गोपाल खड्काले आज पत्रकार सम्मेलन मार्फत तेलको स्टक अभाव भएकाले निजि सवारी साधनलाई तेल दिन नसकिने बताए । भारतीय नाकाहरुबाट अत्यन्त कम तेल आएका कारण तेल तथा ग्याँस वितरण गर्न नसकिने निर्देशक खड्काले बताए ।
चीनबाट तेल ल्याउनका लागि प्रक्रिया चलिरहेको भन्दै कम्तिमा ३३ प्रतिशत इन्धन चीनबाट ल्याइने उनको भनाई छ । पेट्रोलीयम पदार्थ ल्याउनका लागि राजनीतिक तहमै पहल हुनुपर्नेमा पनि उनको जोड छ । अत्यवश्यकिय सेवा क्षेत्र, सुरक्षा निकाय तथा अस्पताल लगाएतलाई भने केहि दिन पेट्रोल उपलब्ध गराउन सकिने आयल निगमले जनाएको छ ।
यसैबीच, नेपाल आयल निगमले आन्तरिक उडानतर्फ हवाइ इन्धनको मूल्य झण्डै दोब्बरले बढाएको छ । निगमले सोमबारदेखि लागु हुनेगरी आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर २३२ रुपैयाँ ७८ पैसा कायम गरेको हो । यसअघि आन्तरिक उडानतर्फ हवाइ इन्धनको मूल्य प्रतिलिटर ११८ रूपैयाँ थियो ।
भारतको नाकाबन्दीका कारण नेपाल आयल निगमले भारतको कलकत्ताबाट नेपाल वायुसेवा निगमको जहाजमार्फत् हवाइ इन्धन नेपाल ल्याएर सिनामंगलस्थित डिपोमा भण्डारण गर्दै आएको छ । सरकारले यही कात्तिक १९ गते निगमलार्इ पत्र लेखेर चार्टर गरी ल्याइएको इन्धनको मूल्य समायोजन गर्न भनेको थियो ।
नेपाल आयल निगम सिनामंगल डिपो प्रमुख प्रदीपकुमार यादवले एक रुपैयाँ पनि नाफा नराखिकन इन्धनको मूल्य बढाइएको जानकारी दिए । ‘१८० रुपैयाँ प्रतिलिटर ढुवानी खर्च, प्रतिलिटर २६ रुपैयाँ भन्सार जोड्दा २०६ रुपैयाँ हुन आउँछ । त्यसमा भ्याटसमेत थप्दा एक लिटरको २३२ रुपैयाँ ७८ पैसा हुन आउँछ । हामीले त्यत्ति नै मूल्यमा बेच्ने निर्णय गरेका छौं । नाफा खाएका छैनौं ।’ यो मूल्य काठमाडौंको एयरपोर्टमा मात्रै लागु हुने यादवले स्पष्ट पारे ।
भारतको नाकाबन्दीका कारण इन्धन आयात हुन नसक्दा आन्तरिक हवाइ उडान प्रभावित भएपछि नेपाल वायु सेवा निगमले एयर लिफ्टिङ मार्फत् हवाइ इन्धन नेपाल ल्याउने गरेको छ । हाल निगमको डिपोमा १ लाख लिटर हवाइ इन्धन मौजदात रहेको र सोमबार ६६ हजार लिटर थपिने यादवले जानकारी दिए । उनले इन्धन अभावका कारण प्रभावित भएका आन्तरिक हवाइ उडान दुई दिन भित्र सहज हुने दाबी समेत गरे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु