पानी वितरण नियमित गर्न माग गर्दै केयूकेएल घेराउ

२०७३ बैशाख २१ गते, मंगलवार

काठमाडौं , २१ वैशाख । नेकपा माअाेवादी अन्तरगतको जनगणतान्त्रिक संपर्क मञ्च केन्द्रीय समन्वय समिति नेपालले काठमाडौं उपत्यका साथै देशभर स्वच्छ खानेपानीको हाहाकार हुदै गइरहेको अवस्थामा आम जनतालाई नियमित वितरण गर्न र त्यहाँ भएका भ्रष्टाचारलाई रोक्न अनुरोध गर्दै केयुकेएललाई ज्ञापन पत्र बुझाएको छ । जनगणतान्त्रिक संपर्क मञ्चले काठमाडौँ उपत्याका लगायत देशभर खानेपानीको हाहाकार बढ्दै गएपछि तत्काल खानेपानी उपलब्ध गराउन माग गर्दै नेपाल खानेपानी संस्थान घेराउ गरेको हो । ‘सबै नागरिकलाई पर्याप्त स्वच्छ खानेपानी उपलब्ध गर’ भन्दै नारासहित जनगणतान्त्रिक संपर्क मञ्च केन्द्रीय समन्वय समितिले सुन्धारा देखि जुलुससहित केयुकेएलको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको हो । पहुँचवाला र तारे होटलमा पानी फालाफाल भएपनि जनतालाई खानेपानी नपुर्याएको भन्दै मञ्च संस्थानविरुद्ध आन्दोलनमा उत्रेको हो । पानी वितरण नियमीत गर्न, धारा मर्मत गर्नुको साथै तत्काल खानेपानीको वैकल्पिक व्यवस्था गर्न मञ्चले माग गरेको छ ।
विगत तीन दशकदेखि काठमाडौंमा मेलम्चीको पानी ल्याउने भन्दै नेता र प्रशासकहरु पोस्ने मात्र काम गरेको भन्दै मञ्चले केयूकेएलमा भएको भ्रष्टाचार सार्वजनिक गर्ने समेत बताएको छ । उपत्यकामा जारी खानेपानीको हाहाकार न्यूनिकरण गर्न मेलम्ची आयोजना समयमा नै सम्पन्न गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु