पहाडका आँखा बाट हेर्दा – बलराम तिमल्सिना

२०७५ असार ८ गते, शुक्रबार

पहाडका आँखाबाट हेर्दा
नेपाल पहाड मात्र देखिन्छ
मानिसहरू गहुँ गोरा मात्र देखिन्छन् !

पहाडको आँखाबाट हेर्दा
फूलहरूको संसारमा
लाली गुराँस मात्र देखिन्छ
हिमाल देखिन्छ
झरना देखिन्छ
डाँफे मुनाल देखिन्छ
पहाडको आँखाबाट हेर्दा
नेपाल पहाड मात्र देखिन्छ !

पहाडको आँखाबाट हेर्दा
मधेशको उर्वर फाँट देखिन्न
मयुर देखिन्न
चम्पा चमेली देखिन्न
एक सिङ्गे गैंडा देखिन्न
ताल तलैया
र चारकोसे झाडी केही देखिन्न
पहाडको आँखाबाट हेर्दा
जे देखिन्छ पहाड मात्र देखिन्छ
पहाड नै नेपाल देखिन्छ
नेपाल नै पहाड देखिन्छ !

पहाडको आँखाबाट हेर्दा
तुलसी घिमिरे देखिन्छ
प्रसान्त तामाङ देखिन्छ
सुधपाहरू देखिन्छन्
अमर गुरुङ गोपाल योन्जन देखिन्छन
यी सव झर्रा नेपाली देखिन्छन्
नेपाली नागरिकता मिल्काएर
युरोप अमेरिका भासिएर
सम्पत्ती कमाएपछि
नाम कमाउँने रहरमा
दयालु बनेर नेपाल फर्केका
असंख्य एनआरएनहरू देखिन्छन् !

पहाडको आँखाबाट हेर्दा
टिस्टा देखिन्छ
काङ्गडा देखिन्छ
तर ठोरी देखिन्न
पहाडको आँखाबाट हेर्दा
तल तल मधेशमा
सहलेसका सन्तानहरू देखिन्नन्
गार्गीका खनातिनीहरू देखिन्नन
यौटा लमतन्न फाँट
आफ्नो वाजेको विर्ताजस्तो देखिन्छ
र त्यहाँका बासिन्दा
आधुनिक रैति देखिन्छन्
एति सम्म कि
सजिलैसँग
वुध्द समेत देखिन्नन् मधेशमा !

पहाडका आँखाबाट हेर्दा
कालो रङ्गका हरेक मानिस
अनागरिक देखिन्छन्
अङ्गिकृत देखिन्छन्
अराष्ट्रिय देखिन्छन् !
सवै काला अनुहारहरू
राजेन्द्र महत्तो मात्र देखिन्छन् !

पहाडको आँखाबाट हेर्दा
कोशी बेचे पनि
गण्डकी बेचे पनि
अरुण अन्माए पनि
पहाडेहरू पवित्र देखिन्छन्
वंशज देशभक्त देखिन्छन् !

मेरो देश आजसम्म
पहाडका आँखाले हेरेर हिडेको छ
पहाडी भाकामा मात्रै गुन्गुनाएको छ
यौटै पहाडी भाकामा
हाँसेको छ रोएको छ
यो देशलाई हेर्ने
यही देशभित्र
अरु आँखाहरू पनि छन
र ती पनि नेपाली हुन
यस्तो कुरा
आज सम्म पहाडे आँखाले देखेको छैन !

पहाडे आँखाले हेर्दा
पहाड मात्र, नेपाल देखिन्छ
नेपाल, मात्र पहाड देखिन्छ !

प्रतिक्रियाहरु