पत्रकार चन्दको बन्दी प्रत्यक्षीकरण रिट दायर , पेशी मंसिर २६ गते

२०७५ मंसिर २४ गते, सोमबार

काठमाडौं, २४ मंसिर । विगत १३ दिनदेखि प्रहरी हिरासतमा राखिएका अनलाइन पत्रिका पोष्टपाटी डटकममा प्रधानसम्पादक गोपाल चन्दको अर्को पेशी आउँदो बुधबारको लागि तोकिएको छ । पोष्टपाटीमा मंसिर ६ गते प्रकाशित समाचारको विषयलाई लिएर पत्रकार चन्दलाई गिरफ्तार गरी महानगरीय प्रहरी परिसर टेकुमा राखिएकोमा रमेश डाँगीले चन्दलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै रिहाईको मागसहित मंसिर १६ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए । गिरफ्तारको भोलिपल्ट १२ गते चन्दलाई जिल्ला अदालत काठमाडौंबाट पहिलोपटक ७ दिन र दोस्रोपटक १८ गते १० दिन म्याद थप गरी अनुसन्धान गरिरहेको बखत् सर्वोच्चमा दायर रिट निवदेनमाथि आज आइतबार बहस भयो । काठमाडौं जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान गरिरहेको अवस्थामा काठमाडौं जिल्ला अदालतको लिखित जवाफ आवश्यक अनिवार्य देखिएपछि बहसपछि न्यायाधीशद्वय चोलेन्द्र शमशेर जबरा र डम्बरबहादुर शाहीको संयुक्त इजलासबाट जारी आदेशले अर्को पेशी बुधबारका लागि तोकिएको हो ।
आदेशपछि लिखित जवाफ पेश गर्न सर्वोच्चले आजै काठमाडौं जिल्ला अदालतलाई पत्र काटिसकेको छ । रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु कपिलचन्द्र पोखरेल, कान्तीराम ढुंगानालगायतले बहस गरेका थिए । बहस इजलास नम्बर २ मा भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु