पतनान्जली – बलराम तिमल्सिना

२०७४ चैत्र २६ गते, सोमबार

म जे भन्छु , तिमीले स्वाहा भन्नू
यस्तै यस्तै भन्दै जानू
यस्तै यस्तै गर्दै जानू
तिमी रुपान्तरणको क्रममा छौ शिष्य !

जनयुध्द -स्वाहा !
माओवाद- स्वाहा !
वर्ग संघर्ष – स्वाहा !
सहिदको वलिदान- स्वाहा !
साम्यवादी सपना- स्वाहा !
सर्वहारा अधिनायकत्व- स्वाहा !
विगतका वाचावन्धन- स्वाहा !

अव जनै झिक
ए जनै छैन ?
यि यो लगाऊ
पानी समात
र अघिजस्तै गर्नू
स्वाहाको ठाममा नम: भन्नू !

संसदवाद- नम:
पूँजीवाद- नम:
विस्तारवाद- नम:
सामाज्यवाद- नम:
उत्तरआधुनिकतावाद- नम:
भ्रष्टचार – नम:
कमिशनखोरी- नम:
संसोधनवाद- नम: !

अव प्रायश्चित गर्ने समय भयो
यहाँ पैसा राख र नमस्कार गर !
जनतालाई ढाँटेको संझ
लडाकुलाई ठगेको सम्झ
कार्यकर्ता खाडी पसेको संझ
सहिद परिवार रुदै बसेको संझ
घाइतेहरूले हर घिसारेको संझ
घर किनेको संझ
शेयर किनेको संझ
अँध्यारा कुनामा बसेर
आत्मसमर्पणको सही गरेको संझ
चप्पल लगाएको जीवनले
पजेरो हुइँक्याएको संझ
आजसम्मको अँधेरो धन हिसाव गर
र पन्ध्र प्रतिशत कवुल गर !
माथिका सवै संझ र मम: भन
मम भनेको होटलको मम हैन के
कस्तो मुख मिठ्याएको !
यी सवै मैले गरेको हुँ भन !

अव अन्तमा जय भन
जबस- जय !
यो भनेको पनि अर्थोकै हो
जनताको बहुदलीय समाजवाद
भारत चीन- जय
रुस अम्रिका- जय
युरोपियन युनियन – जय
एनजिओ आइएनजिओ- जय
विश्व वैंक – जय
उदारीकरण- जय
निजीकरण- जय
ती दिन कस्ता थिए यी दिन यस्ता भए
हिजोका गफ खोलाखर्क गए !

अव चै साँच्चै अन्तमा
म जे भन्छु मन्जुर छ भन्नू
जनता ढाँट्न- मन्जुर छ
थुक चाट्न- मन्जुर छ
भ्रष्ट हुन – मन्जुर छ
गद्दार हुन- मन्जुर छ
मार्क्सवाद छोड्न- मन्जुर छ
नोकर हुन- मन्जुर छ
जोकर हुन – मन्जुर छ !

ल अव रुद्री सकियो
तिमीलाई स्वागत छ –
हाम्रो पूजीवादी संसारमा !
पुनर्मुसिको भव:

प्रतिक्रियाहरु