नेपाल कम्युनिस्ट पार्टी जनसत्ताको चुनाव गराउने तयारीमा

२०७३ फाल्गुन १४ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशन सम्पन्न भएको छ । फागुन १ गते काठमाडौँमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र फागुन ५ गतेदेखि रोल्पाको थबाङमा चलेको थियो । फागुन १० गतेसम्म चलेको महाधिवेशनले पार्टीको अगामी कार्यदिशा र नेतृत्व चयन गरेको छ । महाधिवेशनले महासचिवमा नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा ८१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । जसमा ६१ जना पूर्ण र २० जना वैकल्पिक केन्द्रीय सदस्य छन् । महासचिव विप्लवले राखेका राष्ट्रियता, जनजीबिका, विश्वमा चलेको क्रान्तिकारी आन्दोलनप्रतिको धारणासहितको ११ बुँदालाई महाधिवेशनले पारित गरेको छ । महाधिवेशनले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनको कुनै अर्थ र औचित्य नभएको भन्दै सशक्त प्रतिरोध गरेर असफल बनाउने प्रस्ताव पारित गरेको छ । महाधिवेशनले स्थानीय जनसत्ताको चुनाव गर्ने प्रस्ताव समेत पारित गरेको छ । ‘प्रचण्ड नेतृत्वको संसद्वादी सरकारले देशका जल्दाबल्दा समस्याहरुलाई पन्छाउँदै नेपाली जनताको परिवर्तनको आकांक्षाहरुलाई कुल्चदै पुरानो संसदीय चुनावको घोषणा गरेको छ । यो कथित चुनावको कुनै औचित्य नरहेको तथ्य हाम्रो पार्टी स्पष्ट गर्दछ । जनताका जनसत्ताहरु देशब्यापी रुपमा स्थापित भइसकेको अवस्थामा त्यसको प्रभावकारी कार्यान्वयनका लागि यो प्रस्ताव पारित गरिन्छ’ प्रस्ताव नम्बर दुईमा उल्लेख गरिएको छ ।
महाधिवेशनले देशका जटिल मुद्दालाई सम्बोधन गर्न सम्पूर्ण क्रान्तिकारी, देशभक्त, परिवर्तनकारीहरु एक हुनु पर्ने प्रस्ताव पनि पारित गरेको छ । त्यस्तै देशमा विद्यमान भ्रष्टाचार, तस्करी, कमिशनखोरीलगायत राष्ट्रियता, जनतन्त्र र जनजीविकाका बिषयहरुमा संघर्ष गर्ने क्रममा गिरफ्तार नेता, कार्यकर्ताको रिहाईको माग पनि महाधिवेशन गरेको छ । महाधिवेशनले विश्वभर चलेका माओवादी आन्दोलनबारे पनि पार्टीको धारणा स्पष्ट पारेको छ । भारतमा जारी माओवादी जनयुद्धको क्रममा भारतीय कम्युनिस्ट पार्टी माओवादीका नेता, कार्यकर्ता र जनताको भारतीय सरकारले गरेको हत्या, गिरफ्तारीको विरोध पनि गर्दै महाधिवेशनले बन्दी बनाइएका निर्दोष नागरिकको रिहाईको माग समेत गरेको छ ।
त्यस्तै महाधिवेशनले पेरु कम्युनिस्ट पार्टीका अध्यक्ष गोञ्जालोलगायतका नेताहरुलाई रिहाईको माग गरेको छ । महाधिवेशनले लामो समयदेखि विवादमा रहेको सन् १९५० लगायत सम्पूर्ण असमान सन्धि सम्झौताहरु खारेज गर्न पनि प्रस्ताव पारित गरेको छ । त्यसको लागि पार्टी लडिरहेन नेतृत्वले प्रतिबद्धतासमेत जाहेर गरेको छ । नेपालको राजनीतिक, आर्थिक क्षेत्रमा भारतको हस्तक्षेप रहेको भन्दै महाधिवेशनले त्यसविरुद्ध संघर्ष गर्ने प्रस्ताव गरेको छ । ‘नेपालको राजनीतिक, आर्थिक क्षेत्रमा भारतीय हस्तक्षेप रहँदै आएको छ । त्यसप्रकारको हस्तक्षेप बन्द गर्न र त्यसप्रकारका हस्तक्षेपबिरुद्ध संघर्ष गर्न र नेपाली जनताको स्वाधीनता र सार्मभौमिकताको रक्षाका लागि खडा रहन यो प्रस्ताव पारित गरिन्छ’ उक्त प्रस्तावमा भनिएको छ ।
त्यसैगरी सरकारले नेपाली युवायुुवतीलाई बेचबिखन गर्दै आएको भन्दै त्यसविरुद्ध पार्टीले संघर्ष गर्ने प्रस्तावलाई महाधिवेनले एकमत पारित गरेको छ । अमेरिकी साम्राज्यवादको नेतृत्वमा सिरियालगायतमध्ये पूर्वका देशहरुमा युद्ध थोपर्दै लाखौं जनताको हत्या गरिएको निष्कर्ष निकाल्दै महाधिवेशनले त्यसप्रकारको युद्ध बन्द गर्न र जनताको शान्ति र समुन्नतिको समर्थनमा र साम्राज्यवादी नीतिको विरुद्ध विशेष प्रस्ताव पारित गरेको छ । त्यस्तै विश्वमा चलेका साम्राज्यवादविरोधी आन्दोलनप्रति नेपाल कम्युनिस्ट पार्टीले एक्बयद्धता जाहेर गरेको छ । भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएको नेपाल कम्युनिस्ट पार्टीले महाधिवेशनबाट दलालीकरण, भ्रष्टाचार, कमिशनखोर महँगीविरुद्ध पनि विशेष प्रस्ताव पारित गर्दै हदैसम्मको कारवाहीको माग गरेको छ ।
मालेमावादलाई आफ्नो मार्ग निर्देशक सिद्धान्त मानेको नेपाल कम्युनिस्ट पार्टीले देशमा विद्यमान संसदीय व्यवस्थाको अन्त्य गरी जनताको जनवादी तथा वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको लागि सम्पूर्ण क्रान्तिकारी देशभक्त शक्ति र जनवादी शक्तिहरु ध्रवीकृत र एकताबद्ध हुन महाधिवेशनबाटै विशेष अपिल गरेको छ । उसले महाधिवेशन सफलताको शुभकामना दिने भाइचारा पार्टी, थबाङबासीका साथै सम्पूर्ण पार्टी पंक्ति र जनसमुदायलाई विशेष धन्यवाद दिएको छ । महाधिवेशनले नयाँ विचार र नेतृत्व तयार गरेको छ । आगामी आन्दोलन वा क्रान्तिको लागि नेतृत्वलाई अधिकार महाधिवेशनले दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु