नेकपाका नेता पौडेलको गैरन्यायिक हत्या : असार १० गते नेपाल बन्द

२०७६ असार ७ गते, शनिबार

काठमाडौँ , ७ असार । नेपाल कम्युनिष्ट पार्टीका सलार्ही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि हात र टाउकोमा गोली प्रहार गरी हत्या गरेको तथ्य सार्वजनिक भएको छ । प्रहरीले भिडन्त भएको बताएपनि उनको गैरन्यायिक हत्या भएको पाइएको छ । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं १ लखन्तीमा उनलाई नियन्त्रणमा लिएर सुरुमा दुइटै हात भाँचेको, त्यसपछि टाउकोमा गोली प्रहार गरी हत्या गरिएको र पछि प्रहरी आफैले उनको हातमा पेस्तोल राखिदिएको दाबी बुझिएको छ । घटनास्थलबाट प्राप्त तस्विरमा समेत उक्त कुराको पुस्टि हुन्छ । हत्या गरिएपछि प्रहरी आफैले केहि समयपछि उक्त स्थानबाट पौडेलको शव उठाएको थियो । त्यसपछि उनको शवलाई गाउँलेले थाहा नपाउँने गरि जिल्ला अस्पताल मलंगवातर्फ लगिएको थियो । उक्त स्थानमा पछि पत्रकारहरु पुग्दा रगत बगेको मात्र देखिएको थियो । बिहिबार दिउसो नेकपाका कार्यकर्तासँग भिडन्त भएको समाचार प्रहरी आफैले सार्वजनिक गरेको थियो । प्रहरीको दाबी अनुसार उनको साथबाट पेस्तोल बरामद भएको छ । तर, प्रहरीले उनको हत्या गरिसकेपछि आफ्नै पेस्तोल उनको हातमा राखेको बुझिएको छ ।
स्थानीयका अनुसार त्यहाँ कुनै भिडन्त भएको थिएन र गोली चलेको आवाज पनि सुनिएको थिएन् । उनलाई गिरफ्तार गरिसकेपछि एकान्तमा लगेर हत्या गरिएको स्थानीय बताउँछन्। तर प्रहरी भने दोहोरो भिडन्तमानै मारिएको दाबी गरिरहको छ ।
प्रहरीको एउटै जवाफ यो छ कि ’सुरक्षा जाँच गर्न खोज्दा नेकपाका जिल्ला इन्चार्जले प्रहरीमाथि गोली चलाए, त्यसपछि प्रतिकार गर्दा उनी मारिएका हुन् ।’ सर्लाहीबाट एउटा राजनीतिक हत्याको घटना सार्वजनिक भएपछि राजनीतिक बृत्तमा तरंग फैलिएको छ ।
यसैबीच, नेपाल कम्युनिस्ट पार्टीले सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेपछि असार १० गते नेपाल बन्दको आव्हान गरेको छ । सो पार्टीका महासचिव विप्लवले शुक्रबार बिज्ञाप्ती जारी गर्दै सरकारले देशभर बर्बरतापूर्वक हत्या अभियान सञ्चालन गरेकोले त्यसका विरुद्ध यही असार १० गते मङ्गलबार नेपाल बन्दलगायत सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । महासचिव विप्लवद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘केपी वली नेतृत्वको सामाजिक दलाल सरकारले देशलाई भयानक भिडन्ततिर धकेल्ने र लूटको राज्य लम्ब्याउने बदनियतले मुठभेडका नाममा दैनिक निःशस्त्र कार्यकर्तालाई नियन्त्रणमा लिँदै हत्या गर्दै गरेको छ । त्यसै क्रममा असार ५ गते राजनीतिक कार्यक्रम सकेर फर्कंदै गर्दा सर्लाही लालबन्दी १ लखन्ती खोलामा हाम्रो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई सरकारले नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको छ र जनता तथा आफ्नो गैरन्यायिक हत्या र अपराधमाथि पर्दा हाल्न कथित भिडन्तको कथा सार्वजनिक गरेको छ । पार्टी फासिवादी सरकारको त्यो दाबी खारेज गर्दछ र सबै न्यायप्रेमी नागरिक, मानव अधिकारकर्मी, सञ्चारजगत् र बौद्धिक तथा नागरिक समाजसँग निष्पक्ष छानबिनकालागि अपिल गर्दछ । वार्ताको प्रचार गर्दै राजनीतिक कार्यकर्ताहरूको हत्या गर्ने फासिवादी वली सरकारको षड्यन्त्रविरुद्ध दृढ भएर लाग्न सबै पक्षमा आह्वान पनि गर्दछ । साथै पार्टी कार्यकर्तालाई सक्रिय रक्षामा रहन पनि निर्देशन गर्दछ ।’
महासचिव विप्लवको वक्तव्यको अन्त्यमा भनिएको छ, ‘पार्टी फासिवादी सरकारद्वारा हत्या गरिएका कमरेड कुमार पौडेललाई महान् सहिद घोषणा गर्दछ र क्रान्तिको प्रक्रियामा बदला लिने प्रतिबद्धता व्यक्त गर्दछ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु