नाकाबन्दीविरुद्ध बेलायतमा प्रदर्शन

२०७२ कार्तिक २७ गते, शुक्रबार

काठमाडौं,२७ कात्तिक । बेलायतमा बस्ने नेपालीले भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेलायत भ्रमणका क्रममा रहेको समयमा सो प्रदर्शन गरेका हुन् । बेलायती संसद भवन अगाडि भएको प्रदर्शनमा सयौं नेपाली सहभागी भए । अत्यन्तै कडा सुरक्षा व्यवस्थाबीच पनि भारतीय नाकाबन्दीको विरोधमा नेपालीहरु सडकमा उत्रिएर प्रदर्शन गरेको गैर आवासीय नेपाली संघ युरोपका संयोजक कुल आचार्यले बताए ।
प्रदर्शनले भारतीय नाकाबन्दी अन्तर्राष्ट्रियकरण गर्न सघाएको प्रदर्शनका सहभागीहरुले जनाएका छन् । भारतीय प्रधानमन्त्री मोदी तीन दिने बेलायत भ्रमण क्रममा हाल लण्डनमा छन् ।
यसअघि भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले पनि भारतले नेपालमाथि लगाईरहेको नाकाबन्दी खुलाउन पहल गरिदिन आग्रह गर्दै बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई पत्र लेखेका थिए । ब्रिटिश गोरखा भूतपूर्व सैनिक संगठन (बिगेसो)ले भारतको नाकाबन्दी गैरकानूनी र बदनियतपूर्ण रहेको उल्लेख गर्दै भारतले नेपालको तराईलाई देशको बाँकी भू–भागबाट अलग गराउन खोजिरहेको उल्लेख गरेको छ ।
भारतले हाम्रो मातृभूमिलाई आफू अधीनस्थ राख्ने तथा अथाह जलस्रोत सधैंका लागि कब्जा गर्ने रणनीति लिएको भन्दै उनीहरुले यस्ता कदमले नेपालमा सिक्किमीकरण, फिजीकरण तथा क्रिमियाको अवस्था सिर्जना हुन सक्ने खतरा बढेको उल्लेख गरेका छन् ।
दुई देशबीचको मानवरहित अन्तर्राष्ट्रिय दशगजा सीमा र पारिपट्टि आफ्नै भूमिसमेत भारतले नेपाली सुरक्षाकर्मीमाथि ढुंगा र पेट्रोल बम हान्न छुट दिएको ब्रिटिस गोर्खा सैनिकको ज्ञापनपत्रमा उल्लेख छ ।
महाभूकम्पबाट तंग्रिँदै गरेको नेपालमा नाकाबन्दीले गम्भीर मानवीय संकटहरु उत्पन्न भइरहेको जानकारी गराउँदै पूर्व गोर्खा सैनिकले बेलायत सरकारले सुगौली सन्धीदेखि नेपालले भोगिरहेको कथित भूपरिवेष्ठित हुनुको पीडा ब्रिटिश भारतले अबलम्बन गरेको औपनिवेशिक राजनीतिकै निरन्तरता भएकोमा बेलायतले ध्यान दिनुपर्ने उल्लेख छ । साथै तत्कालिन बेलायती शासन हुँदै बर्तमान अवस्थामा नेपाली युवाहरुले पाकिस्तानविरुद्ध कश्मिरमा बगाएको रगतको समेत भारतले अपमान गरेकोमा पनि ब्रिटिस गोर्खाहरुले बेलायती प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
भारतको कदमले संयुक्त राष्ट्रसंघको बडापत्र, समुद्रसम्वन्धी संयुक्त राष्ट्रसंघीय महासन्धी, विश्व व्यापार संगठनका प्रावधानलगायत विभिन्न अन्तर्राष्ट्रिय तथा बहुपक्षीय सन्धी सम्झौताको उल्लंघन गरेको भन्दै नाकाबन्दी खुलाउने पहल गर्न उक्त संगठनले आग्रह गरेको हो । – एजेन्सी

प्रतिक्रियाहरु