नयाँ वर्षको जालझेल – बलराम तिमल्सिना

२०७६ पुष १६ गते, बुधबार

के बदलियो खै हिजोभन्दा आज ?
खै के नयाँ बोकेर आयो आजको घामले ?
बच्चा बच्चीहरू खुसीले उफ्रदै छन्
उनीहरूलाई थाहा छैन
अभिभावकहरूको टाट पल्टेको गोजी !

शासकहरू चुटकिला सुनाउँन व्यस्त छन्
आज थप एउटा नयाँ चुडकिला सुनिएला !

पैरोमुनिको बस्तीजस्तै
भविष्य आतङ्कले त्राहिमाम छन जनता ।

डुव्दै उत्रदै र बग्दै गरेको अवस्थामाझैं
त्यान्द्रो भेट्ने आशामा मरेको छैन मान्छे
त्यो त्यान्द्रो अझै कतै देखिएको छैन
त्यो भूँमरी नजिक पुगेको मान्छेलाई
कुन मुखले दिऊँ नयाँ वर्षको शुभकामना ?

एउटा वलात्कारी फेला पार्न समेत नसकी
लाजले मुख छोपेर भाग्यो उन्नाइस
ठीक एक वर्षपछि
यो बीसको हालत पनि त्यस्तै हुने छ !

बच्चाहरूका ओठबाट वेपत्ता खुसी
शासकका दराजमा बन्दी छ अझै
हरेक साँझ बस्तीहरूबाट खुसी हराउँछ
र शासकका आँगनमा पुग्छ
यो जघन्य परंपरा हराएको छैन ।

झन् झन ख्याउटे बन्दै छ हाम्रो गौरव
विदेशीका जुत्ताहरू
बुरुशको सट्टा जिब्राले पुछ्दै छन शासक
र त्यही सुतीखेती गरेर
सत्ताको आयु बढाउँन व्यस्त छन् ती ।

ऐलेसम्म एउटा पनि यस्तो समाचार पढिएन
जसले अनुहारको घना वादल फाटोस
अझ उल्टै देशले शोक वारेको खवर लिएर
विहानै आइपुग्छन् अखवारहरू ।

यो नवजात शिशुको असमायिक निधनको पीडामय समयमा
कसरी मङ्गल धुन बजाउँनु र खै ?

नयाँ वर्षको आगमनको नाममा
पक्कै कोही खेलिरहेको छ हाम्रो भावनासँग
कसैले झेल गरिरहेछ महाजनसँग मिलेर
हाम्रो गोजी टक्टक्याउँन आएको यो दिनलाई
खै कसरी प्रेमले संबोधन गरौं ?

यो एक थान पात्रो बदल्ने मात्र घटना
कदापि नयाँ वर्ष हुन सक्दैन
अहँ सक्दै सक्दैन !

मलाई माफ गर नानी बाबुहरू
यो जालझेल हो हामी माथि
यो कुनै नयाँ वर्ष होइन ।

प्रतिक्रियाहरु