देशमा”वामपन्थी”को सरकार छ – बलराम तिमल्सिना

२०७७ बैशाख १३ गते, शनिबार

अलि बिस्तारै बोल्नुस
नरम कुरा मात्रै लेख्नुस
नत्र खतरामा पर्न सक्नु हुन्छ
समियाँ साल खराव छ
देशमा वामपन्थीको सरकार छ !

हिड्दा पनि ख्याल गर्नू
हतार हतार पनि नहिड्नू
टोलाएर पनि नबस्नू
तपाईमाथि निगरानी हुन सक्छ
समियाँ साल खराव छ
देशमा वामपन्थीको सरकार छ !

महङ्गी बढे बढ्न दिनोस
बस्तीमा डोजर आए स्वागत गर्नुस
पटक्कै बाटो नछेक्नुस डोजरको
बरु झिटिगुन्टा टिप्नुस
यहाँ जे पनि हुन सक्छ
समियाँ साल खराव छ
देशमा वामपन्थीको सरकार छ !

मख्ख परेर पासपोर्ट बनाउँन नरोक्नू
ग्याँस सकिएपछि भान्सामा
खुरुक्क पसलमा जानू
ग्याँसको पाइप पर्खेर बस्यौ भने
तिमी भोकै हुने खतरा छ
समियाँ साल खराव छ
कुराले ठिक्क कामले दिक्क
देशमा वामपन्थीको सरकार छ ।

नाङ्ले पसलेहरू होसियार
फुटपाथ पसलेहरू होसियार
समृध्दिको हावा चलेको छ
समृध्दिको देशमा
नाङ्ले र फुटपाथे हुन वर्जित छ
कि जोडदार धनी हुनोस
कि तन्नम सर्वहारा हुनोस
बीचको हुन प्रतिवन्ध छ
समियाँ साल खराव छ
देशमा वामपन्थीको सरकार छ !

फेसवुक चलाउँनेहरू होसियार
ट्विटरेहरू पनि होसियार
फोटो हाल लाइक गन
विचार लेख्न मनाही छ
विरोध लेख्न अझ सख्त मनाही छ
सरकार समृध्दिको तपस्यामा छ
सरकारलाई रिस उठ्न सक्छ
रिसले तपस्या विग्रन सक्छ
तपस्या भङ्गले समृध्दि विग्रन सक्छ
विरोध लेखेर तपस्या भाँडे वापत
तिमीलाई सोधपुछ गरिन सक्छ
समियाँ साल खराव छ
वाम नभए पनि वामजस्तै
देशमा वामपन्थीको सरकार छ ।

कविहरू होसियार
पत्रकारहरू होसियार
कविताको धार मठुर्नुस
समाचारको सार बटार्नुस
एका विहानै तिम्रो आगो कविता
गिरफ्तार हुन सक्छ
एका विहानै प्रकाशन गृहमा
पुलिस पस्न सक्छ
नमिठो गन्ध आएको छ माथिको
समियाँ साल खराव छ
ठगहरू साहुहरू वेइमानहरूले चलाएको
देशमा वामपन्थीको सरकार छ !

प्रतिक्रियाहरु