देशको कथा– बलराम तिमल्सिना

२०७५ आश्विन ३१ गते, बुधबार

राजै चै हैनन्
तर राजाभन्दा कम छैनन्
श्रीपेच विहीन राजाहरू !
श्री पाँच नै त होइनन्
श्री पाँचभन्दा कम छैनन्
पाँच हराएका श्रीहरू !

देशमा राजाको शासन छैन
तर खास फरक छैन
श्रीपेच सार्वजनिक गर्न व्यस्त छ
हाम्रो बबुरो गणतन्त्र !

नपत्याए राष्ट्रपतिको सवारी हेर्नुस
कुन राजाकोभन्दा कम छ जाम ?
कुन राजाभन्दा कम डुल्छिन ती
हिन्दू मन्दिर र धाम ?

देश अहिले हिन्दू अधिराज्य होइन
तर यो एक मिठो भ्रम मात्र हो
‘तर’ र ‘पनि’ जोडेर
अकण्टक चलेकै छ सत्ता !

विचरो गणतन्त्रले
एउटा झण्डा समेत बनाउँन सकेन
उही पुरानो टालो पैंचो मागेर
झण्डा विहीन हुनबाट बचेको छ !

एक थान गीत-
‘सयौं थुङ्गा फूलका हामी’
बस एत्ति गीतले
कसरी धान्छ यसले व्यवहार ?

झड्केला सन्तानलेजस्तै
खपेर विभेदको यातना
हाम्रो विचरो गणतन्त्र
खै कैले तङ्ग्रिएला
खै कैले तन्नेरी होला ?

पूर्व राजा एता उता डुल्दा
दोबाटामा बसेर
सलामी दिन विवस
संसारकै सवैभन्दा दुखी कोही छ भने
हाम्रो दुखी गणतन्त्र छ !

देशमा राजाको शासन छैन
तर
जे छ अहिले देशमा
त्यो हुवहु हिजोजस्तै छ
संयोगले भनौं
जो छन शासन सत्तामा
ती एक पटक राजाको खुट्टा ढोग्नेहरू नै छन !

प्रतिक्रियाहरु