दुबईमा गौरा पर्व मनाइने

२०७२ भाद्र १ गते, मंगलवार

काठमाडौं, १ भदौं । सुदूरपश्चिम सेवा समाज युएईले एक कार्यक्रमको आयोजना गरी विविध सांगीतिक माहौलमा “गौरा पर्व” मनाउने भएको छ । आगामी ४ सेप्टेम्बर २०१५ का दिन दुबईको एभरेष्ट होटलमा सुदूरपश्चिममा प्रचलित उक्त पर्व सुदूरपश्चिमेलीवासीहरुले दुबईमा पहिलो पटक मनाउने भएका हुन् ।
सुदूरपश्चिम, मध्यपश्चिम र गढवालतिरका महिलाहरुले गौरी, शिव र गणेशको पूजाआजा गरी मनाइने पर्वलाई “गौरा पर्व” भनिन्छ । ३ देखि ५ दिनसम्म मनाइने यो पर्वमा अष्टमीको दिनमा महिलाहरुले उपवास बसी विधिवत पूजाद्वारा पवित्र पारिएको साउँलाई मानव आकारको मूर्तिमा पूजा गरी पर्सादका रुपमा बिरुडालाई बाड्ने प्रचलन रहेको छ । यसै पर्वमा पूराना राजा रजौटाका चैत धमारी फाग भोलाउंदो माँगल भगवानका अठवाली भजन किर्तन तुलछाका गीत गाउने र देउडा खेलिने गरिन्छ ।
सो अवसरमा स्थानीय कलाकारहरुको प्रस्तुतिमा सुदूरपश्चिमका प्रसिद्ध देउडा नाचका साथ विविध सांस्कृतिक कार्यक्रम पनि गरिने भएको छ । नेपालमा मनाइने प्रचलित पर्वलाई दुबईमा पनि धुधांमका साथ मनाउने भएका हुन् । अन्य विभिन्न समाजहरुले महिलाहरुको महान चाड हरितालिका तीज मनाई रहेको बेलामा गौरा पर्वको पनि एउटा आफ्नै अलगै महत्व मानिन्छ । यस कार्यक्रमले युवावर्गमा नयां आयाम थपिने आशा रहेको छ ।
सन् २००२ मा स्थापना गरिएको समाजले स्थापनाकालदेखि नै विभिन्न उद्धार कार्यक्रममा सहभागिता जनाउंदै आएका छन् । गत महिनामा आएको महाभूकम्पबाट प्रभावित भएका पीडितहरुका लागि ५ लाख रुपैयां आर्थिक सहयोग गरेको अध्यक्ष शिवराज जैसीले जानकारी दिनु भएको छ । यस कार्यक्रममा उपस्थित हुनका लागि यसै समाचारको आधारमा आग्रह समेत गरेको छ । – लक्ष्मी शर्मा, दुबई, युएई

प्रतिक्रियाहरु