ट्रम्पको चीनमाथि नाकाबन्दी लगाउने योजना

२०७४ चैत्र ८ गते, बिहीबार

काठमाडौं, ८ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीनमाथि नाकाबन्दी लगाउने योजना बनाएको छ । चीनले अमेरिकाको व्यापार क्षेत्रबाट बौद्धिक चोरी गरेको भन्दै ट्रम्प प्रशासनले नाकाबन्दी लगाउने योजना बनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । धेरै वर्षदेखि छलफल हुँदै आएको बौद्धिक चोरीको विषयमा चीनले कुनै परिवर्तन नल्याएकाले नाकाबन्दी गर्ने ‘ह्वाइट हाउस’ले जनाएको हो । त्यसका लागि चीनलाई कर तिराउन कदम चाल्ने अमेरिकाले जनाएको छ । तर, त्यसले दुई देशबीच व्यापार युद्ध हुनसक्ने चिन्ता पनि प्रकट गरिएको छ । चीनविरुद्ध अमेरिकाले ३० देखि ६० बिलियन अमेरिकी डलरको कर लगाउनसक्ने तथा चीनसँग गरेको लगानीमा कटौती गर्ने जनाएको अमेरिकी सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
अमेरिकाले चीनको बौद्धिक चोरीविरुद्ध विश्व व्यापार संगठनमा पनि आवाज उठाउने जनाएको छ । अमेरिकामा साना उद्योग खोलेर चीनले प्रविधि चोरेको आरोप अमेरिकाको छ । रणनीतिकरुपमा केही उद्योग अमेरिकामा स्थापना गरेर साइबर आक्रमण गरिरहेको आरोप पनि चीनमाथि लगाइएको छ । चीनले भने व्यापार युद्धबाट कसैलाई फाइदा नहुने भन्दै अमेरिकाले उच्च प्रविधिको आयातमा लगाएको नाकाबन्दी हटाउनुपर्ने बताउँदै आएको छ । -एजेन्सी

प्रतिक्रियाहरु