टिकापुर घटनाका कारक तिन दल : प्रकाण्ड

२०७२ भाद्र ७ गते, सोमबार

काठमाडौँ, ७ भदौ । नेकपा माओवादीले सरकार र तिन दलको जनविरोधी रबैयाका कारण टिकापुरको घटना भएको बताएको छ । माओवादीका पार्टी प्रबक्ता प्रकाण्डले सोमबार साझ एक प्रेस विज्ञप्ति जारी गरि सो कुरा बताएका हुन । “कैलाली जिल्लाको टिकापुरमा सोमबार दिउँसो सरकार र कथित ३ दलको जनविरोधी संविधान एवं राष्ट्रघाती रबैयाका कारण संघर्षमा उत्रेका जनता र प्रहरीहरुको अकल्पनीय क्षति हुन पुगेको छ । उक्त घटना अशान्ति मच्चाउने सरकार र ३ दलको कारण भएको हो । हाम्रो पार्टी घोर भत्र्सना र निन्दा गर्दछ” विज्ञप्तिमा भनिएको छ । माओवादीले विज्ञप्तिमा मृत्युवरण गर्ने प्रहरी र जनताप्रति शोक व्यक्त गरेको छ । विज्ञप्तिमा अगाडि भनिएको छ, “शोकमग्न आफन्तजनहरुप्रति पार्टी गहिरो संवेदना व्यक्त गर्दछ । घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामनासहित निःशुल्क उपचारको माग गर्दछ ।” माओवादीले जनतामाथिको दमन अविलम्ब रोकी जनताका न्यायपूर्ण आवाजको सम्बोधन गर्न र घटनाको तदारुकताका साथ छानबिन गरी दोषीमाथि कडा कारवाही गर्न माग समेत गरेको छ । प्रबक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा जनताका आवाजलाई सम्बोधन गर्नुको सट्टा सरकारले घुसपैठको आरोप लगाएको भन्दै आपत्ति जनाउँदै आरोपको पार्टी खारेज गर्दछ भनिएको छ ।
माओवादीका प्रवक्ता प्रकाण्डले जारी गरेको प्रेस विज्ञप्तीको पूर्ण पाठ यस प्रकार रहेको छ – ‘ कैलाली जिल्लाको टिकापुर बजारमा आज दिउँसो सरकार र कथित ३ दलको जनविरोधी संविधान एवं राष्ट्रघाती रबैयाका कारण संघर्षमा उत्रेका जनता र प्रहरीहरुको अकल्पनीय क्षति हुन पुगेको छ । उक्त घटनाको जिम्मेवार तथा अशान्ति मच्चाउने सरकार र ३ दलको हाम्रो पार्टी घोर भत्र्सना र निन्दा गर्दछ । मृत्युवरण गर्ने निर्दोश जनता र प्रहरीप्रति पार्टी शोक व्यक्त गर्दछ ।
उहाँहरुका शोकमग्न आफन्तजनहरुप्रति गहिरो संवेदना व्यक्त गर्दछ । घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामनासहित निःशुल्क उपचारको माग गर्दछ । हाम्रो पार्टी सरकार र ३ दललाई जनतामाथिको दमन अविलम्ब रोकी न्यायपूर्ण आवाजको सम्बोधन गर्न र घटनाको तदारुकताका साथ छानबिन गरी दोषीमाथि कडा कारवाही गर्न जोडदार माग गर्दछ ।
सरकार र ३ दलले जनविरोधी रबैया सच्चाउनुको सट्टा जनताको आन्दोलनलाई घुसपैठको आरोप लगाएर दमनमा उत्रनु प्रतिक्रान्तिकारी षड्यन्त्र भएको पुष्टी हुन्छ । यसखाले आरोपको हाम्रो पार्टी पुरा खारेज गर्दछ । ‘

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु