जुर्मुराए जनयुद्धका सहिद परिवार

२०७४ फाल्गुन ९ गते, बुधबार

काठमाडौं, ९ फागुन । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुने भएपछि जनयुद्धका सहिद परिवारले पनि आफ्नो भूमिका र अस्तित्वबारे छलफल सुरु गरेका छन् । पार्टी एकतापछि सहिदको बलिदानीलाई अवमूल्यान हुने डर सहिद परिवारलाई छ ।
जनक्रान्तिका महान् सहिद परिवार समाज नेपालले बुधबार काठमाडौँको संवाद डबलीमा पहिलो चरणको छलफल तथा अन्तरक्रिया गरेको छ । माओवादी केन्द्र निकट समाजको ६ नम्बर प्रदेशले आयोजना गरेको छलफलमा सहिद परिवारहरुले एकतापछि सहिद राष्ट्रिय सहिद घोषणा गरिनुपर्ने, बलिदानीको मूल्यांकन र अस्तित्वबारे धारणा राखेका थिए ।
सहिद परिवार समाजका ६ नम्बर प्रदेशका संयोजक कर्णजीत बुढाथोकी ‘सुशील’ले नेकपा एमालेले नेतृत्वले कस्तो व्यवहार गर्छ भन्ने सहिद परिवारलाई चिन्ता लागेको बताए । “हिजो त हाम्रो सरोकार माओवादीसँग मात्रै थियो, अब पार्टी एकता हुँदैछ । एमाले नेतृत्वले कस्तो व्यवहार गर्छ त्यसले एकीकृत पार्टीको नीति बन्ने भएकोले छलफल सुरु गरेका हौँ” शुसिलले भने । उनले एकता हुनुपूर्व जनयुद्धका सहिद परिवारप्रति पार्टी नीति प्रष्ट हुनुपर्ने धारणा राखेका थिए ।
“हाम्रो बलिदानीलाई कसैले खोस्न सक्दैन, पार्टी एकता हुनपूर्व सहिद परिवारबारे प्रष्ट नीति चाहिन्छ” छलफलमा बोल्दै सुशिलले भने । माओवादीहरुबीच एकता नभएर एमालेसँग पार्टी एकता हुन लागेको कारण जनयुद्धका सहिदहरुलाई हेर्ने एमालेको दृष्टिकोण प्रष्ट हुनुपर्ने बताए ।
जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिनुपर्ने, परिवारको अभिभावक राज्य हुनुपर्ने भेलामा सहभागी सहिद परिवारले धारणा राखेका थिए ।
आजको भेला तथा छलफलले आउँदो साता ६ नम्बर प्रदेशको भेला बोलाउने र देशभरीका सहिद परिवारको राष्ट्रिय कार्यक्रमको पहल गर्ने निर्णय गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु