गुफाभित्र फसेका बालकको उद्धारमा खटिएका गोताखोरको मृत्यु

२०७५ असार २२ गते, शुक्रबार

काठमाडौँ, २२ असार । थाइल्याण्डको एउटा गुफामा फसेका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकको उद्धारमा खटेका एक गोताखोरको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार ती बालक र उनका प्रशिक्षकलाई गुफाभित्र अत्यावश्यक सामान पु¥याएर फर्कदैगर्दा बेहोस भएका ३८ वर्षीय समन कुननको मृत्यु भएको हो । थाइल्याण्डको नौसेनामा काम गरिहँदा जागिर छोडेका उनी गुफाभित्र फसेका बालकको उद्धारका लागि खटिएका थिए । सरकारी अधिकारीहरुका अनुसार उनी स्वेच्छाले उद्धार अभियानमा सामेल भएका थिए । ‘उनको काम गुफाभित्र अक्सिजन पु¥याउनु थियो, तर फर्कने बेलामा उनीसँग नै पर्याप्त अक्सिजन रहेन ।’
उत्तरी थाइल्याण्डमा रहेको एक गुफाभित्र १२ दिनदेखि १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक थुनिएका छन् । गुफाभित्र बाढीको पानी पसेपछि उनीहरु निस्कन सकेका छैनन् । उनीहरुलाई बाहिर निकाल्नका लागि उद्धार टोली खटिरहेको छ । गुफाभित्र थुनिएको नवौं दिन उनीहरुलाई उद्धारकर्मीको एक टोलीले फेला पारेको थियो । -एजेन्सी

प्रतिक्रियाहरु