खुसीको अनिकाल – बलराम तिमल्सिना

२०७६ श्रावण २८ गते, मंगलवार

कुन बाबु आमा खुसी हुदैनन्
आफ्ना सन्तानको
खुसीमा
प्रगतिमा
प्रतिभामा
सुखमा र सम्पन्नतामा
यहाँ खाँचो त ती बाबु आमाको छ
जो अरु सन्तानको दुखमा पनि दखी हुन्छन्
अरुका सन्ताको शोकमा पनि रुन्छन् !

आफ्नो घर अग्लिदै जाँदा
दुखको पहाड पग्लदै जाँदा
कुन घरका मान्छे खुसी हुदैनन् ?
यहाँ खाँचो त ती घरबेटीको छ
जो घर विहीनहरूको लागि रुन्छन् !

आफ्नो कलेजले
नेपाल फर्स्ट गर्दा
कुन प्रिन्सिपल गदगद हुदैन ?
यो कुन नयाँ कुरा हो र
यो गदगद हुन
न कुनै वल गर्नु पर्छ
न कुनै कर तिर्नु पर्छ
यहाँ खाँचो त ती प्रिन्सिपलको छ
जो अर्को साल
सरकारी कलेज प्रथम भएको सपना देख्छ !

आफ्नी प्रेमिकासँग
या आफ्नो प्रेमीसँग
अन्तरङ्ग प्रेमालापको समय
कुन जोडी अल्हादित हुदैन ?
यहाँ अनिकाल त ती प्रेमीहरूको छ
जो अरुको प्रेमालापको डाहा गर्दैनन्
या अरुको प्रेम विघटनमा दुखी हुन्छन्

देश धनी भयो
देश शक्तिसाली भयो
भात भान्साको दुख हरायो
यस्तो परिवेशमा
कुन नागरिक खुसी हुदैन र ?
तर खाँचो त ती नागरिकको छ
जो अरु देशका नागरिकलाई
भाँडा मझाउँदा दुखी हुन्छन्
अरु देश पनि आफ्नोजस्तै
सुखी सम्पन्न होस भनेर सोच्छन् !

आफू र आफ्ना वारे चिन्ता गर्न
कसैले सोचिरहनै पर्दैन
भित्रैबाट जन्मन्छ चिन्ता
खाँचो त अरुको चिन्ता गर्नुमा छ
जुन चिन्ता
अनेक प्रयत्नपछि पनि नक्कली जन्मन्छ

प्रतिक्रियाहरु