खास दुखहरू – बलराम तिमल्सिना

२०७६ भाद्र १३ गते, शुक्रबार

हुन त आमाकाभन्दा बढी थिएनन्
तै पनि बाका पनि थिए खास दुखहरू
धेरै वेग्लै दुखहरू थिए आमाका
खास वेग्लै दुखहरू थिए बाका !

प्रकृतिले लगाएका वाहेक
समाजले अह्राएका
बाका वेग्लै वेथा थिए
आमाका वेग्लै वेथा थिए

आमाले गर्ने दुखमा
बाले मिसिन हुदैनथ्यो
आमा दुख गरिरहन्थिन
बा हेरिरहन्थे नजिकै बसेर
बाले गर्ने दुखमा
आमाले मिसिनु हुदैनथ्यो
आमा हेरिरहन्थिन उसै गरी
सँगसँगै थिए बा र आमा
कैयन दुख यस्ता थिए
बा एक्लै थिए
आमा एक्लै थिईन

आमा दुखले रुँदा
बालाई रुन प्रतिवन्ध थियो
बाले दुखले खुइय गर्दा
आमाले मिसिन छेकवार थियो
यसरी दुखका दिनहरूमा
सँगै वाँचेर पनि
बा एक्लै थिए
आमा एक्लै थिइन ।

केही भारीहरू एति गह्रुङ्गा थिए
बा ढाड कुप्रिने गरी बोक्नुहुन्थ्यो
आमाले सघाउँन मिल्दैनथ्यो
एककाँधे लगाएको गोरुजस्तै थियो
मेरा बाको दुखी जीवन
केही यस्ता कामहरू थिए
हेर्दा झिना मसिना
तिनै झिना मसिना काम गरेर
आमाको इज्जत पनि झिनो हुन्थ्यो
तर पनि गर्नै पर्थ्यो आमाले
ती हिसावमा नआउने कामहरू

हुन त आमाकाभन्दा बढी थिएन
तर बाका पनि थिए खास दुखहरू
धेरै वेग्लै दुखहरू थिए आमाका
खास वेग्लै दुखहरू थिए बाका ।

जव म पनि बा बने कसैको
फेरि पनि दुखको चलन उस्तै छ
हुन त उनकाभन्दा बढी दुखहरू हैनन मेरा
तर केही खास दुखहरू मेरा पनि छन
जसरी खास दुखहरू बाका थिए हिजो

म सोचमग्न छु
यी दुखहरू मिसाउँने कसरी होला ?
किन कि
जवसम्म दुखहरू साझा हुदैनन
सुख साझा हुने कुरा गफ मात्र हो
बेग्ला बेग्लै दुखको भारी बोकेर
हामी कस्तो “सह-जीवन” वाँचिरहेका हौला ?

प्रतिक्रियाहरु