कोरोना संक्रमण नियन्त्रणमा हेलचेक्र्याई गरे भयावह अवस्था हुने !

२०७६ चैत्र १५ गते, शनिबार

काठमाडौं, १५ चैत । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण इटालीमा एकैदिन ९ सय १९ जनाको मृत्यु भएको छ ।
इटालीमा कोरोना महामारी फैलिएपछि एकैदिन यति ठूलो संख्यामा मानिसको मृत्यु भएको यो पहिलो पटक हो । योसँगै त्यहाँ मृत्यु हुनेको संख्या ९ हजार १ सय ३४ पुगेको छ । करिब ६ हजार नयाँ संक्रमित पुष्टि भएपछि संक्रमितको संख्या ८६ हजार ५ सय पुगेको छ ।
शुरुमा संक्रमण नियन्त्रणमा लापरवाही गरेको आरोप लागेको इटालीमा पछि यसको चर्को मुल्य चुकाउनपरिरहेको छ । विज्ञहरुले कोरोना संक्रमण नियन्त्रणमा कुनै पनि मुलुकले अझै पनि हेलचेक्र्याई गरे उनीहरुको अबस्था यो भन्दा भयावह हुने चेतावनी दिइरहेका छन् । विश्वभर २७ हजार २ सय ५१ जनाको मृत्यु भएको छ । ५ लाख ९४ हजार ३ सय ४४ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । संक्रमितहरु ठूलो संख्यामा उपचार पछि निको पनि भएका छन् ।
पछिल्लो तथ्यांक अनुसार १ लाख ३२ हजार ६ सय २२ जना उपचारपछि निको भएका छन् । इरानमा २ हजार ३ सय ७८ व्यक्तिको मृत्यु भइसकेको छ भने ३२ हजार ३ सय ३२ जना संक्रमित छन् ।
स्पेनमा थप ७ सय ७३ जनाको मृत्यु भएको छ । त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ हजार १ सय ३८ पुगेको छ । संक्रमितको संख्या ६५ हजार ७ सय १९ पुगेको छ ।
अमेरिकामा थप ३ सय १२ जनाको मृत्यु भएको छ । त्यहाँ मृतकको संख्या १६ सय ७ जनाको मृत्यु भएको छ भने एक लाख २३ हजार ९६ जना संक्रमित छन् ।
फ्रान्समा १ हजार ९ सय ९५ जनाको मृत्यु भएको छ । ३२ हजार ९ सय ६४ संक्रमित छन् । दक्षिण कोरियामा कोरोना संक्रमणको फैलावट रोकिएको देखिएको छ । त्यहां मृतक र संक्रमितका संख्या बढेको छैन । मृतकको संख्या १ सय ३९ र ९ हजार ३ सय ३२ संक्रमित छन् । यता ३ साता लामो लकडाउनमा रहेको भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २० र संक्रमितको संख्या ८ सय ८७ पुगेको छ । यता, चीनबाट सन् २०१९ को डिसेम्बरमा फैलिएको कोरोना भाइरसबाट विश्वका १९९ राष्ट्र प्रभावित भएका छन् ।-एजेन्सी

प्रतिक्रियाहरु