कोरोनाको संक्रमणबाट मेयरको मृत्यु

२०७६ चैत्र २ गते, आईतवार

काठमाडौँ, २ चैत । कोरोना भाइरसका कारण इटालीमा मेयरको मृत्यु भएको छ । इटालीको चियेने नगरका मेयरको मृत्यु भएको हो । उत्तरी इटालीस्थित चियेने नगरका ७० वर्षीय मेयर गियोर्गियो भलोटीको कोरोना भाइरसका कारण मृत्यु भएको इटालियन सञ्चारमाध्यमले जनाएका हुन् । मार्च ७ देखि कोरोना संक्रमित उनको अस्पतालमा उपचार भइरहेको थियो । उनको कोरोना भाइरसका कारण फोक्सोको संक्रमण भएको जनाइएको छ । यो नगर कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित छ । इटालीमा हालसम्म कोरोना भाइरसका कारण १ हजार ४४१ जनाको मृत्यु भइसकेको छ भने २१ हजारभन्दा धेरै संक्रमित छन् ।
यसैबीच , विश्व स्वास्थ्य संगठनले महामारी रोगको संज्ञा दिएको कोरोना भाइरसको सङ्क्रमणबाट इटालीमा मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म एक हजार ४४१ पुगेको छ । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार सङ्क्रमितको सङ्ख्या शनिबारसम्म १७ हजार ७५० पुगेको छ । कोरोनाको सङ्क्रमणबाट चीनपछि सबैभन्दा धेरै इटालीमै मृत्यु भएको हो ।
त्यसैगरी बेलायतमा पनि बिरामीको सङ्ख्या एक हजार १४० पुगेको छ । बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या भने २१ पुगेको अधिकारीले जनाएका छन् । पछिल्लो पटक मृत्यु भएका दश जनामध्ये सबै ६० वर्षभन्दा बढी उमेरका रहेको बेलायती स्वास्थ्य तथा सामाजिक हेरचाह विभागले जनाएको छ ।
चीनमा तीन हजार १९९ जनाको मृत्यु भएको छ भने ८० हजार ८४४ जना सङ्क्रमित भएका छन् । चीनमा कोरोनाको सङ्क्रमणमा नाटकीय रुपमा सुधार आएसँगै शहर बजारको आवतजावत खुकुलो पारिएको र उद्योग, कलकारखाना खुल्न थालेका छन् । तेस्रो धेरै प्रभावित हुनेमा इरान परेको छ । इरानमा १२ हजार ७२९ जना सङ्क्रमितमध्ये ६११ जनाको मृत्यु भएको छ ।
त्यसैगरी दक्षिण कोरियामा आठ हजार १६२ जना बिरामी र ७५ जनाको मृत्यु भएको छ भने स्पेनमा छ हजार ३९१ जना बिरामी भएका छन् भने १९६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरु