“कैसे वुड्वक आदमी है !”– बलराम तिमल्सिना

२०७५ कार्तिक १९ गते, सोमबार

संस्मरण

यो उनन्साठी सालतिरको कुरा हो । त्यो समय म नेकपा माओवादी पूर्वी कमाण्ड अन्तर्गत विभागीय जिम्मेवारीमा रहेर काम गर्थें । कमाण्ड इन्चार्ज मोहन बैद्य किरण हुनुहुन्थ्यो । मेरो कोठा पटनामा थियो भने किरण कमरेड सिलिगुडी बस्नु हुन्थ्यो । त्यो पटक नेपालबाट १२ लाख रुपैयाँ आएको थियो । नेपालबाट धनुषाका कमरेड रामचन्द्र मण्डलले त्यो पैसा भारतको मुजफ्फरपुर ल्याईपुर्याएर हाम्रो जिम्मा लगाउनु भयो । त्यो पैसालाई हामीले पटना लगेर पश्चिम कमाण्डका विभागीय प्रमुख कमरेड विवेकलाई जिम्मा लगाउनु पर्ने थियो । त्यस पछी त्यो पैसा भारतको लखनौ हुदै केन्द्रीय कार्यालय रहेको ठाउँ दिल्ली जान्छ भन्ने मलाई थाहा थियो । तर हाम्रो काम पटना सम्मको मात्रै थियो । रामचन्द्र मण्डलसँग पैसा मुजफ्फरपुरको एउटा होटेलमा हामीले जिम्मा लियौं र त्यो पैसालाई दुई भाग लगायौं । चार लाख रुपैयाँ मसँग रहेका साथी कृष्ण अधिकारीले बोक्ने र आठ लाख रुपैया मैले बोक्ने सहमति भयो । सबै नोटहरु सय सय रुपैयाँका भएकोले पैसाको पोको ठुलै हुन्थ्यो । कृष्ण अधिकारीले चार लाख रुपैयाँ बजारमा सर्ट किनेको कागजको बट्टामा मिलाएर राख्नु भयो र पसलले दिएको प्लास्टिकको झोलामा हाल्नु भयो । मैले भने पोलिथिन ब्यागमा चार चार लाखका दुई वटा बिटा बनाएर एउटा चियापत्ती हाल्ने जुटको झोलामा हालें । खाना खाएर हामीले मुजफ्फरपुरबाट पटनाको लागि बस समत्यौ । अरु बेला ओहोर दोहोर गर्दा खासै समस्या नपरेकोले यो पटक पनि हाम्रो मनमा खासै चिन्ता थिएन । बस अघि बढ्दै गयो । गङ्गा पारि पटना पर्छ भने वारि हजिपुर भन्ने स्थान छ । हामी हजिपुर पुग्न त्यस्तै आधा घण्टा वांकी थियो होला, अकस्मात कथा बदलियो । गुडिरहेको बस घ्याच्च रोकियो र ढोकाबाट एक हुल प्रहरीहरु भित्र छिरे । प्रहरीहरु बसभित्र छिरेपछि उनीहरुले बसको ढोका बन्द गरे र कसैलाई पनि बाहिर ननिस्कन कडा आदेश गरे। मनमा चिसो पस्यो । अब के होला त भनेर मनले सोच्न थाल्यो । उनीहरुले खानतलासी यति कडा गरे कि महिलाहरुले बोक्ने हाते झोला पनि निगरानीमा परे । मैले सगै बसेका कृष्ण अधिकारीतिर पुलुक्क हेरें । उनले पनि मतिर हेरे । दुवैका आँखा जुधे तर कुनै कुरा हुन सकेन । कुरा गर्ने वातावरण पनि कहाँ थियो र ? चिप्ले कीराको गतिमा प्रहरीहरुको खानतलासी अघि बढ्दै थियो । जति जति खानतलासी नजिक आउथ्यो त्यति त्यति मुटुको धड्कन बढ्दै थियो । कथा कसरी अघि बढ्ला र कसरी अन्त होला भनेर अनुमान लगाउन कठिन थियो । अब झन्डै झन्डै प्रहरीहरु हाम्रो नजिक आइपुगे । कृष्ण अधिकारीले पैसा हालेको झोला तिघ्रामाथि राख्नु भएको थियो । प्रहरीले सोचेछ – यो भर्खरै बजारबाट किनेको सर्ट रहेछ । त्यहि भएर होला त्यो झोला निगरानीमा परेन । मैले सोचे – एक तीहाई पैसा र एक जना साथी जोगियो ! मन मनै यो पनि सोचे कि एक जना साथी जोगिएपछी मेरो वारेमा पनि पार्टीमा खवर पुग्ने भयो । सोच्दा सोच्दै मेरै पालो आइपुग्यो । मैले पैसाको झोला खुट्टामुनि राखेको थिएँ । प्रहरीले सोध्यो – “बोरियामे क्या है ?” के भन्ने के भन्ने हुदा हुदै समालिएर मैले जवाफ दिएँ – “बोरियामे किताब है ।” अहँ प्रहरीले विश्वास गरेन । “बोरियाको उपर उठाओ” , प्रहरीले आदेश गर्यो । मैले झोलालाई माथि उचालें । प्रहरी आफैले झोलाको चेन खोल्यो र पोलिथिनका पोकाहरु खोतल्न सुरु गर्यो । त्यसपछि प्रहरी आश्चर्यमा पर्यो । कुहिनोसम्म पैसामा डुबेपछी उसलाई पनि झड्का लग्यो होला ।
त्यसपछि कथा यसरी अघि बढ्यो – “बोरियामे किताब है बोले थे न ? क्या ये किताब है ?” म प्रहरीलाई के जवाफ दिने भनेर सोच्दै थिएँ , त्यहि समयमा अर्को संकट सुरु भयो । बसका यात्रुहरुले प्रहरी र मेरो संवाद सुनी रहेका थिए । जब प्रहरीले झोलामा किताब छ भनेर किन झुक्याएको भनेर मलाई धम्क्या उन थाल्यो, त्यसपछी यात्रुहरुलाई के लगेछ भने लौ वर्वाद भयो , पक्कै यो मानिसको झोलामा बम या यस्तै खतरनाक कुरा हुनु पर्छ । उनीहरु आत्तिएर हल्ला गर्न थाले र झ्याल खोलेर हाम्फाल्ने तयारी गर्न थाले । मेरो दिमागमा दुई थरी दवाव पर्यो । प्रहरीको हप्किदप्किको एउटा दवाव त पहिले थियो , त्यसमाथि आतिएका यात्रुहरुलाई सम्झाई बुझाइ गर्नु पर्ने अर्को लेठो पनि थपियो । मैले सकभर आफुलाई समालें र भने – “भाइयों और बहनों ! आपलोग हल्ला मत किया करो । मेरे पास कुछ इलिगल समान नही है । मै आप लोगोका नुक्सान पहुचाने वाला नही हुँ । बोरियामे किताब नही हे , फिर भी कोहि खतरनाक समान नही है । पोलिस चेक कर रही है । बादमे सबकुछ पता चलेगा । आपलोग अपने अपने सिटपर वैठजाइए ।” लौ मेरो कुराले त हल्का काम पो गर्यो त ! यात्रुहरु हल्का समलिए र सिटमा बस्न सुरु गरे । प्रहरीको खानतालासीले मेरो दिमाग खराब गरेको थियो भने मेरो गोर्खाली तरिकाले सायद प्रहरीको पनि दिमाग खराब गर्न सुरु गरेको थियो । त्यस पछि कथा जसरि अघि बढ्यो , त्यो कथाले त्यसै भन्छ । प्रहरी एक पटक फेरी कस्सियो र भन्यो – “बोरिया लेकर के बाहर चालिए !” मैले पनि डराउदै तर बहादुरी पुर्वक भने – “ठिक है चालिए !” जब म झोला बोकेर बाहिर निस्कन तयार भएँ, सायद प्रहरीको दिमाग त्यसपछि नराम्रोसग खराब भयो । प्रहरीले हार मानेको मुडमा तर ठुलो स्वरले मलाई भन्यो – “बोरियाको नीचे राखिए ।” म पनि हल्का हौसिएँ र बोरा तल राखें । त्यस पछिको कथा एस्तो छ – प्रहरीले मेरो आँखा नजिकै उसका आँखा ल्याएर सोध्यो –“आपका नाम क्या है ?” मैले जवाफ दिएँ – “केपी शर्मा /” दोश्रो प्रश्न – “आप कहा के रहने वाले है ?” मैले भने – “सिल्लिगुरी ” तेश्रो प्रश्न “आप क्या काम करते है ?” मेरो बनिबनाउ जवाफ थियो- “चायपत्तिका बिजिनेस करता हुँ /” थप प्रश्न- “अभि कहाँ से आए है ?” मेरो जवाफ – “मुजफ्फरपुर से ।” अर्को प्रश्न- “कहाँ जाना है ?” मेरो उत्तर- “पटना ।”
यति सबाल जवाफ जब फुर्तिसाथ भयो, त्यसपछि प्रहरी मलाई सम्झाउने बुझाउने तरिकाले तर हेपेर भाषण गर्न थाल्यो – “कैसे बुडबक आदमी है ! इतने ढेर रुपैया बोरिया मे लेकर के चलता है । इस आदमीको बैंक के बारे मे भी जानकारी नही है क्या ?” मैले पनि मन मनै सोचें – “बुडबक तँ होस् कि म हुँ भन्ने बिस्तारै थाहा होला अब !”
बिस्तारै प्रहरीहरु बसबाट ओर्लिए, ढाट खुल्यो र बस गुड्यो । मनभित्र भने आँधी चली नै रहेको छ । एक पटक साथीको अनुहार हेरें । अहँ घाम झुल्केको छैन । पुर्व पनि फाटेको छैन । यस्तो देखिन्थ्यो अनुहार । मेरो अनुहार झन् कस्तो थियो होला , साथीलाई सोधिन . त्यो ठट्टा गर्ने समय पनि थिएन । हजिपुर आउन अझै पन्ध्र बिस मिनेट लाग्ने वाला थियो । मन मनै सोचे – बाटामा थाना पर्छ, यो प्रहरीको टोलीले पक्कै थानामा खबर गरेको छ । सुरक्षाका कारणले हामीलाई बाटोमा नसमाएको होला । बसले जति पटक ब्रेक लागाउछ त्यति नै पटक छात्ती ढक्क फुल्ने हुदै बस हजिपुर पुग्यो । अब प्रहरीको डर लगभग हरायो र बसकै यात्रुहरुको डर सुरु भयो । झोला भरि पैसा भएको कुरा त सबैले थाहा पाई सके । यिनै यात्रुहरु प्रहरीसंग मिल्न के बेर ? यस्तै यस्तै सोचेर मैले कृष्ण अधिकारीलाई भनें – “कमरेड हजिपुरमै ओर्लिए कसो होला ?” साथीले सहमति जनाए । हामी बसबाट ओर्लिदा बसका यात्री हामीलाई गहिरोसंग हेर्दै थिए । बसबाट ओर्लेपछि हामी तुरुन्तै एउटा रिक्सा समातेर गान्धी रेल्वे स्टेसनतिर लाग्यौं । त्यहाँ पुगेर पश्चिम कमाण्डका कमरेड बिबेकलाई फोन गरेर आफुलाई परेको अप्ठेरो वारे जानकारी दियौं । पटना पुगेपछि एउटा फिल्म हलमा भेट्ने सल्लाह गरे पछी एउटा टेम्पो रिजर्भ गरियो । पैसाको झोलामाथि दुई सयको लिची किनेर छोपियो र हाम्रो टेम्पो हान्नियो पटनातिर । लगभग आधा घण्टापछी कमरेड विवेकसँग हाम्रो भेट भयो । पैसाको दुई वटा झोला बिबेक कमरेडलाई बुझाएर कोठातिर फर्कदा सरीर पसिनाले निथ्रुक्क भिजेको थियो । दिमागमा झल्यास्स सम्झना भयो उही प्रहरीको भनाइ – ‘कैसे बुडबक आदमी है ! इतने ढेर रुपैया बोरियामे लेकर चलता है !’ मन मनै जवाफ पनि आयो – “यो पटक तँ बुडबक भएको होस कि म ?” यसरी एउटा बुडबक आदमीले अर्को चलाख प्रहरीलाई साँच्चैको बुडबक बनायो ।

प्रतिक्रियाहरु