कैलालीका ४५ वडा कार्यालयमा तालाबन्दी !

२०७६ असार २२ गते, आईतवार

काठमाडौं, २२ असार । नेपाल कम्युनिस्ट पार्टीले कैलालीका ४५ वडा कार्यालयमा तालाबन्दी गरेको छ । सो पार्टीले कैलाली लम्कीचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा गएराती कार्यालयमै भेटिएका कर्मचारी र जनप्रतिनिधीहरुलाई कार्यालयभित्रै थुनेर तालबन्दी गरेका छन् । गाउँ, नगर र उप–महानगरपालिका गरी ४५ वडा कार्यालयमा तालाबन्दी गरेका छन् । धनगढी उप–महानगरपालिका, गोदाबरी नगरपालिका, गौरीगंगा नगरपालिका, टिकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र बर्दगोरिया गाउँपालिका लगायत वडा कार्यालयहरुमा तालाबन्दी गरेको कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले बताएका छन् ।
वर्तमान सरकारले राष्ट्रघाती, जनविरोधी र भ्रष्टाचार बनाउने निर्णय गरेको र त्यसकाविरुद्ध पार्टीले सुरु गरेको अभियान अन्तर्गत तालाबन्दी गरिएको पर्चामा उल्लेख गरिएको छ । आफ्नो पार्टीलाई वर्तमान सरकारले लगाएको प्रतिबन्धका विरुद्ध पनि चरणवद्ध आन्दोलन जारी रहेको पर्चामा लेखिएको छ ।
गए राती साढे आठ बजेको समयमा कार्यालयमै काम गरिरहेको अवस्थामा भेटिएका दुई जना कर्मचारी र जनप्रतिनिधिलाई नेकपाले बाहिरबाट ताला लगाएर थुनेको थियो । स्रोतका अनुसार नगरपालिकाका लेखापाल सरोज चौधरी र कार्यालय सहयोगी बगेन्द्र सुनारसहित केही जनप्रतिनिधि रातीको समयमा लेखा फाँटमा काम गरिरहेका थिए । नियम अनुसार कार्यालय समय बिहान १० देखि साँझ ५ बजेसम्म भएपनि लम्कीचुहा नगरपालिकामा भने नेकपाका कार्यकर्ताहरुले मध्यरातमा शंकास्पद काम गरिरहेको अवस्थामा कर्मचारी सहितका जनप्रतिनिधिहरुलाई थुनेको हो । तर हिजो भने शनिबार भएकाले सबै सरकारी कार्यालय बन्द रहे पनि लम्कीचुहा नगरपालिकामा भने मध्य रातमासमेत काम भइरहेको भेटिएको हो ।
उता, नेपाल कम्युनिस्ट पार्टी अछामले १२ वटा वडा कार्यालयमा तालाबन्दी गरेको छ। मंगलसेन नगरपालिकाको १ कुन्तीबण्डाली, १३ बस्ती, ढकारी गाउँपालिकाको वडानम्बर २ हिच्मा, तुर्माखाद गाउँपालिकाको वडा नम्बर २ भुलु र ७ तोषी, पञ्चदेवल विनायक नगरपालिकाको ९ कालेकाँडा, ८ बारला, ५ लयाँटी र ७ पुल्लेतोला तथा रामारोशन गाउँपालिकाको वडा नम्बर ३ शान्तडा, ४ बाटुलासैन र ६ भटाकाटियाका वडा कार्यालयमा तालाबन्दी गरिएको छ। कालेकाडा र बारलाको वडा कार्यालय अगाडी नै प्रहरी चौकी छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु