केही कविहरू स्मरणीय छन् – बलराम तिमल्सिना

२०७५ कार्तिक १६ गते, शुक्रबार

त्यसो त धेरै कविहरू छन्
तर केही कविहरू विशेष स्मरणीय छन् !
ती कविहरू
उनीहरूका विशेष गुणले स्मरणीय छन !
फूल माला वोकेर विहानै
ती सत्ताको ढोकैमा पुग्छन जदौ गर्न
कसैको पदोन्नतीमा बधाई दिन
या आफ्नो पदोन्नतीको आशिर्वाद थाप्न
र ,उतैबाट
कविताको कन्टेन बोकेर फर्कन्छन !

कविताको बजारमा ती
आगो कविता लिएर पस्छन
र हामीलाई आच्छु आच्छु पार्छन !

ती उता पनि प्रिय छन
र ती एता पनि सम्माननीय छन
केही कविहरू विशेष स्मरणीय छन !

ती कविसँग हरेक कविता छन
देखाउँनलाई –
आगो कविता पनि छन केही थान
आगो निभाउँन- पानी कविता
अरुलाई उडाउँन- आँधी कविता !
केही भजन कविता
गाली कविता/ चाकडी कविता
तीसँग हरेक कविता छन !

ती माधव घिमिरेलाई ढोग्छन, र
पारीजातलाई सलाम ठोक्न पुग्छन
ती भानुभक्तलाई फूल चढाएर
कृष्ण सेनको पनि कविता कथ्छन
ती एकसाथ
संसदवादी र समाजवादी बन्न सक्छन
अद्भुत कलाले सम्पन्न ती कवि
विशेष स्मरणीय छन !

ती एकसाथ
सत्ता र विद्रोहीका कवि बन्न सक्छन
एता सरकारको चर्को आलोचक देखिन्छन
साँझ सदस्यता नविकरण गर्न आफैं पुग्छन

ती कविहरू
आफै कवि पनि हुन
र आफै समिक्षक पनि हुन
त्यसो त ती अर्थोक अर्थोक पनि हुन
छन त धेरै कविहरू छन
त्यसमध्ये केही खास छन
जो विशेष स्मरणीय छन !

यी तीनै लोक भ्याउँने कविहरू
विशेष रुपले स्मरणीय छन
नोट-
स्मरणीय हुन
कोही असल हुनै पर्छ भन्ने छैन
जसरी-
एक उत्पीडित महिलाले
कैयन वर्षसम्म भुल्दिनन्
एउटा निकृष्ट वलजफती पुरुषको अनुहार !

प्रतिक्रियाहरु