कमरेडहरूको सम्मेलन – बलराम तिमल्सिना

२०७५ कार्तिक २६ गते, सोमबार

भर्खरै भर्खरै
सुरु भएको छ कमरेडहरूको सम्मेलन !

सम्मेलनमा
किसान कमरेडहरू छैनन्
मजदूर कमरेडहरू छैनन्
छन त ती कमरेडहरू पनि छन
तर ती कामदारको भूमिकामा छन !

सम्मेलनमा
दलित कमरेडहरू छैनन
महिला कमरेडहरू छैनन
मधेशी कमरेडहरू छैनन
जनजाती कमरेडहरू पनि छैनन
छन त ती कमरेडहरू पनि छन
तर ती दर्शकको भूमिकामा छन !

सम्मेलनको आयोजक समितिमा
नोकरशाह कमरेडहरू छन
सम्मेलनका प्रतिनिधिहरू
ठेकेदार कमरेडहरू छन
पर्यवेक्षकको भूमिकामा
भ्रष्टचारी कमरेडहरू छन
सूरक्षा व्यवस्थामा
प्राय डन कमरेडहरू छन
छन त अरु कमरेडहरू पनि छन
तर ती कठैवरा कमरेडहरू छन !

सम्मेलन कक्षमा
राखिएको छ पुरानो झण्डा
झण्डाले कमरेडहरूलाई चिनेको छैन
कमरेडहरूले झण्डा चिनेका छैनन
एउटा विकृत मुडमा शान्त छ झण्डा
कमरेडहरूको दिलमा
अम्वानीले पठाएको झण्डा छ
खास षडयन्त्रको लागि छ पुरानो झण्डा
सम्मेलन सुरु हुदै छ !

दौरा सुरुवाल र ढाका टोपीमा
ठ्याक्कै पञ्चहरूकै ढाँचामा
मञ्चमा लहरै बसेका छन
बाहुन क्षेत्री अनुहारका कमरेडहरू
छन त अरु कमरेडहरू पनि छन
तर ती निरिह , निमुखा र निर्जीव छन !

सम्मेलनले
नोकरशाह कमरेडहरू प्रस्तावमा
ठेकेदार कमरेड
भ्रष्टचारी कमरेड
कमिशनखोर कमरेड
र डन कमरेडहरूको समर्थनमा
समाजवादी कार्यक्रम पास गर्यो भर्खरै !

त्यसपछि ,
सवैभन्दा समाजवादी बने
ठग, भ्रष्ट र कमिशनखोरहरू
किसान र मजदूर शङ्काको सूचीमा परे
दलित र महिलाहरू परिक्षणमा राखिए
सम्मेलनको हलबाट
बेतोडले निस्क्यो समाजवादी घोडा
र मजदूरको छात्तीलाई सडक बनाएर
देश दौडाहामा निस्क्यो !

कमरेडहरूको सम्मेलनले
उर्दी जारी गर्यो-
समाजवादी घोडा जहाँ जहाँ पुग्छ
त्यसको भव्य स्वागत गरियोस
र पहिलेभन्दा बढी
दाना पानीको व्यवस्था होस !

हप्तौंसम्म चलेर
अरवपति कमरेडहरूको सम्मेलन
भव्यतापूर्वक सम्पन्न भयो !

प्रतिक्रियाहरु