कठैबरी – बलराम तिमल्सिना

२०७६ भाद्र १६ गते, सोमबार

खप्न गाह्रो हुने इच्छा सत्ताधारी पनि हुने !
साथसाथै हुने इच्छा क्रान्तिकारी पनि हुने !
न सत्ताधारी होइन्छ न क्रान्तिकारी अव्वल !
नरोऊ ए दुखी मान्छे तिम्रो इच्छै छ दुर्वल !

सत्ता सिनो बन्यो भन्छन् सोझा र निमुखाहरू
आशा झिनो बन्यो भन्छन् भोको पेट हुनेहरू
हिजोका गतिला भन्ने भैसके खलनायक
तिम्रो चैतन्यले भन्छ- अझै छन् ती त लायक !

तिम्रा नायक भन्ने ती लम्पसार परिसके !
जे जे गर्नु नहुने थ्यो सारा काम गरिसके !
तै पनि आश वाँकि छ सप्रिन्छन् यी भनिकन !
तिमी पर्खिबसेका छौ आशावादी बनिकन !

यौटा छोड र यौटा चै रोज ए दुखिया अव !
सत्ताको चास्नी भन्दा त सडकै हुन्छ गौरव !
मरेको लास व्युँझेर हेर्छौं आउँछझैं गरी !
तिम्रो चैतन्यलाई लौ भन्नु पर्छ- कठैबरी !
कि सत्ताधारी होइन्छ सत्ताकै गीत गाउँने
कि क्रान्तिकारी होइन्छ क्रान्तिमा प्रीत लाउँने
हत्तपत्त बनिदैन संझ साथी दुवैथरी
एत्ति नि नबुझे तिम्ले भन्नै पर्छ कठैवरी

प्रतिक्रियाहरु