एमाओवादीले संविधानसभा छोड्नुपर्छ : किरण

२०७१ कार्तिक ७ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी–माओवादीका अध्यक्ष मोहन बैद्य किरणले एनेकपा माओवादी संविधानसभा छोडेर बाहिर आउनुपर्ने बताएका छन । किरणले जनअपेक्षा अनुरुप संविधान निर्माण हुने अवस्था नभएमा संविधानसभाबाट एनेकपा माओवादी बाहिर आउनुपर्ने बताएका हुन् ।
नेकपा–माओवादी ठैव गाउँ कमिटीले नेपाल सम्वत् ११३५ को अवसरमा आयोजना गरेको शुभकामना एवम् चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट पार्टी टुक्रिएको अवस्थाको फाइदा लिएर ठूला राजनीतिक दलहरुले आफ्नो पार्टीले उठाउँदै आएको मागलाई बेवास्ता गरेको ठोकुवा गरे ।
उनले सर्वपक्षीय राजनीतिक सम्मेलनबाट मात्र शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने, जनचाहनाअनुसारको संविधान निर्माण हुने, द्वन्द्व समाधान हुने, जनजाति, मधेसी, महिला, दलित, उत्पीडित वर्गलगायतको अधिकारको सुनिश्चितता हुने दावी गरे ।
सो कार्यक्रममा केन्द्रीय सल्लाहकार दिपेन्द्र श्रेष्ठ, वैकल्पिक केन्द्रीय सदस्य राजकाजी महर्जन, नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य बुद्वराज बम्जनलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु