एउटा कथा पढेर सिकन्दरले विश्व जिते !

२०७५ जेष्ठ १२ गते, शनिबार

काठमाडौँ । युनानका सम्राट सिकन्दरलाई संसारले सिकन्दर महान वा ‘एलेक्जेन्डर द ग्रेट’ भन्ने गरेको छ । हामी सिकन्दरलाई महान यसकारण भन्ने गर्दछौ कि उनले निकै कम उमेरमा युरोपदेखि एसियासम्म आफ्नो सत्ता विस्तार गरेका थिए । मात्र ३२ वर्षको उमेरमा मर्नुअघि सिकन्दरले ग्रीसको शताब्दीयौ पुरानो दुश्मन फारसलाई आफ्नो सेनाका सामु घुँडा टेकाउन बाध्य बनाए । उनले सभ्यताहरुको केन्द्र रहेको मध्यपूर्व अर्थात अहिलेको सबै अरब देशमा आफ्नो शासन कायम गरेका थिए । सिकन्दर महान बन्न र यति ठुलो सफलता प्राप्त गर्नुमा सबैभन्दा ठुलो भूमिका उनका उस्ताद अरस्तुले दिएको शिक्षालाई नै मान्ने गरिएको छ । के तपाईलाई थाहा छ त अरस्तुले सिकन्दरलाई के पढाएका थिए ?
वास्तवमा अरस्तुले सिकन्दरलाई सुनाएका थिए एउटा कथा । यो कथा केही कल्पना र केही वास्तविकताको मेलबाट बनेको थियो । कथा थियो ट्रायको युद्ध जुन ग्रीक कवि होमरले आफ्नो महाकाव्य ‘इलियड’मा विस्तारले बयान गरेका छन् । यो कथा समस्त मानिसको अनुभवको निष्कर्ष हो । कथामा माया, प्रेम छ । घृणा छ । यसमा वीर रस छ । यसमा मानिसको दैवीय चमत्कारको बयान पनि गरिएको छ । इलियड एउटा यस्तो महाकाव्य हो, जसले सिकन्दरलाई जितको ऊर्जा भरिदियो । उनले ट्रायको लडाईबाट ग्रीक राजाहरुको एकजुटता र युद्ध रणनीतिको पाठ सिके र फेरि संसार जिते । कथाहरुको हाम्रो सभ्यतासँग गहिरो नाता छ । पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्म संसारका हरेक कुनामा किम्बदन्ती र किस्साहरु मानवीय सभ्यताको विकासको हरेक चरणमा समावेश भएको छ ।
बाल्यकालमा हामी सबैले पनि हजुरआमा, जिजुआमाहरुबाट कथाहरु अवश्य सुनेका छौ । राजाराजीको कथा, सात बहिनीको कथा, अलीबाबा र चालीस चोर, पञ्चतन्त्रलगायतका कथाहरु हामीमध्ये धेरैले सुनेको हुनुपर्छ । हरेक कथाको अन्त्यमा एउटा पाठ अर्थात सबक हुने गर्दथ्यो । साथै शब्दको माध्यमबाट त्यो समयको खाका खिचिन्थ्यो, जसबाट बालबालिकाहरुलाई त्यतिबेलाको समाजको तौरतरिका र चालचलनको जानकारी प्राप्त हुन्थ्यो । कथा भन्ने र लेख्ने काम हरेक चरणमा हुने गरेको छ । अरब मुलुकमा अलिफ–लैला लेखियो भने भारतसहितका देशहरुमा पञ्चतन्त्रका कथाहरु । महाभारत र रामायणजस्ता महाकाव्य लेखिए । कथाको महत्व मात्र पुस्तकका पानामा मात्र छैन, बरु मानिसको जीवनमा पनि यसको मूल्य छ । स्वयम अरस्थुको भनाइ थियो कि साहित्य र कथाहरुले मानिसलाई मनोरञ्जनका गराउँदैन, बरु त्यसले मानवीय पाठ सिकाउँछ र कानुन बनाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसका अलावा गजल, मुक्तक, कविता, रुवाईले पनि मानिसको अनुभव बयान गर्दछ । यो सबैले असल मानिस बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
यस्तो होइन कि पूरा संसारमा साहित्य लेखनको सुरुवात महाकाव्य वा उक्त समयका राजामहाराजाहरुको हारजीतको कथा लेखनबाट सुरु भयो । धेरै स्थानहरुमा यसको सुरुवात कविताबाट पनि भएको छ । उदाहरणका लागि चीनमा साहित्यको सुरुवात मुक्तक लेखनबाट भयो । चीनमा कविता लेख्ने काम कविले मात्र गर्दैन थिए । बरु उच्च सरकारी पदमा रहेकाहरुले पनि कविता लेखनको परीक्षाबाट गज्रनु पर्दथ्यो ।
चीनमा सबै ठुला सरकारी अधिकारीहरुमा कवित भन्ने र कविता बुझ्नुपर्ने कुरालाई आवश्यक ठानिन्थ्यो । पूर्वी एसियामा गीत र कविताहरुको संकलन यहाँको साहित्यको ठुलो हिस्सा रहेको छ । चीनबाटै प्रभावित भएर जापानमा पनि कविता विधालाई खुब प्रयोग गरियो । पहिलो चरणमा जापानमा महिलाहरुलाई चिनियाँ साहित्य अध्ययन गर्ने अनुमति थिएन । तर भनिन्छ नि, जहाँ इच्छा त्यहाँ उपाय । प्रतिबन्धका बावदुज जापानी साहित्य जगतको एउटा ठुलो उपहार एउटा उपन्यासका रुपमा प्राप्त भयो, जसको नाम थियो, ‘द टेल अफ जेन्जी’ । यो उपन्यास एउटी महिलाले लेखेकी थिइन्, जसको नाम थियो मुरासाकी शिकिबु । यी महिलाले आफ्नो भाइले पढ्दै गरेको देखेर लेख्न सिकेकी थिइन् । फेरि उनले करिब एक हजार पानाको पाण्डुलिपी तयार गरिन् । आफ्नो उपन्यासलाई उच्च दर्जाको बनाउनका लागि उनले करिब ८०० कतिाहरु समावेश गरिन् ।
साहित्य अर्थात किस्सा, कथाको जगतमा क्रान्ति ल्याउने श्रेय जान्छ अरब देशलाई, जसले चीनबाट कागज बनाउने कला सिके र त्यसलाई एउटा निकै सफल कारोबारको रुपमा अघि बढाए ।
कागजको आविस्कारभन्दा पहिला कथाहरु कन्ठ गरेरै एक पिढीबाट अर्को पिढीसम्म पुराउनु गरिन्थ्यो । जब मानिसले लेख्नु सुरु गरे तब उसले आफ्नो विचारलाई रुखको बोक्रामा सुरक्षित गर्न थाल्यो । ढुंगा र कागज आएपछि त तस्वीर नै बदलियो । अरब देशहरुमा पनि अलिफ–लैलाको कथा यसरी नै संकलन गरिएको थियो ।
कथा होस, कविता वा महाकाव्य सबै मानवताका लागि इतिहासको अटुट हिस्सा हो । इटालियन कवि दाँतेले यो स्थितिलाई निकै सुन्दर र रोचक अन्दाजमा पेस गरेका छन्, ‘डिभाइन कमेडी’ मा । कागजको आविस्कारले साहित्यलाई सजाउन सहयोग गरेको थियो, प्रिन्टिङको आविस्कारले यसलाई घरघरसम्म पुराइदियो । प्रिन्टिङपछि उपन्यास लेख्ने चलन बढ्न थाल्यो । विशेषगरी महिलाहरुका लागि ठुलो परिमाणमा उपन्यास लेखिन थाल्यो ।
नयाँ नयाँ देशहरुले आफ्नो स्वतन्त्रताका लागि आधुनिक उपन्यासको प्रयोग निकै गरे । वास्तवमा शासन स्वतन्त्रताका लागि साँस्कृतिक स्वतन्त्रता हुनु निकै आवश्यक हुन्छ र उपन्यासले यसलाई पूरा छुट दिने गर्दछ । जसैजसै प्रविधि बढ्दै गयो, साहित्यको पहुँच पनि बढ्दै गयो । शिक्षाको बढ्दो गुणस्तरले पनि यसमा महत्वपूर्ण भूमिका निभायो । पढ्नेहरु बड्न थाले तब बढी कथा लेख्नेहरु पनि धेरै देखिन थाले । अहिले हरेक प्रकारक कथा लेख्ने र पढ्नेहरु छन् ।
अहिले हामी इन्टरनेटको चरणमा बाँचिरहेका छौ । एक क्लिकमा संसारभरको साहित्य हामीसामु आउँछ । यद्यपि हरेक कुरा अनलाइनमा भएका कारण पुस्तक छपाईमा नराम्रो असर परेको छ । तर यसबाट कथा सुन्ने सुनाउने मानिसको इच्छामा कुनै कमी आएको छैन । भलै पुस्तक हातमा लिएर कसैले नपढोस्, तर हरेकका साथ ग्याजेट्स छ, जसमा उसले जे चाह्यो त्यो पढ्न सक्दछ । त्यसैले हामी भन्न सक्छौ कि डिजिटल वर्ल्डमा हामी साहित्य लेखनलाई पुनः नयाँ तरिकाले सुरु गर्न सक्दछौ । त्यसैले समय भलै परिवर्तन भयो, ताज भलै बद्लियो, किस्सा सुन्नेसुनाउने क्रम जारी छ । कथाहरुको शासन हाम्रो मनमा अझै कायमै छ । – मार्टिन पकनर, बीबीसी हिन्दी

प्रतिक्रियाहरु